काठमाडौं । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीमा रहेको बचत रकम ठगी प्रकरणमा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने ६० लाख धरौटी बुझाएर रिहा भएका भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलाशले बुधवार उनलाई धरौटीमा रिहा गर्न आदेश गरेको हो ।
सूर्यदर्शन सहकारी ठगी मुद्दामा जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटीमा रिहा भएपछि लामिछाने आइतवार जिल्ला अदालत काठमाडौंमा हाजिर भएका थिए । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले पुस २१ गते लामिछानेसहित १९ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराधको मुद्दा दायर गरेको छ । सहकारीको रकम अवैधानिक रूपमा गोरखा मिडिया नेटवर्कमा लगेर दुरुपयोग गर्नमा संलग्नता रहेको भन्दै लामिछानेलाई प्रतिवादी बनाइएको छ ।
- गोरखा मिडियाको १ लाख ८० हजार कित्ता शेयर खरीद
- गोरखा मिडियाको शेयरहोल्डर हुनुअघि लामिछानेको हस्ताक्षरमा बैंक खाता
- सहकारीबाट बैंक खातामा रकम
- सहकारीबाट ९३ लाख ४६ हजार रुपैयाँ ऋण
- लामिछानेको हस्ताक्षरबाट ९० लाख रुपैयाँ किस्ता भुक्तानी
बुधवारको आदेशमा पनि अदालतले लामिछाने कसुरदार होइनन् भन्ने अवस्था नदेखिएको भन्दै पाँचओटा आधार पेश गरेको छ । जसमा उनले गोरखा मिडियाको विक्रीमा रहेको १ लाख ८० हजार कित्ता शेयर खरीद गरेको र त्यसका लागि हस्ताक्षरसहित निवेदन पेश गरेको विषयलाई आधार बनाएको छ । बयानमा भने उनले आफूले सित्तैमा स्वेट शेयर पाएको र कम्पनी छोड्दा रकम नलिई त्यागेको दाबी गरेका छन् ।
यसैगरी अदालतको आदेशमा लामिछाने गोरखा मिडियाको शेयरहोल्डर तथा प्रबन्ध निर्देशक हुनुअघि नै प्रतिवादी राई र लामिछानेको हस्ताक्षरमा ग्लोबल आइएमई बैंकमा खाता खोलेको, सोही खातामा स्वर्णलक्ष्मी सहकारीबाट रकम आएको उल्लेख छ । यस्तै सहकारीबाट राई र लामिछानेको ऋण खाता खोली गाडी खरीद गर्न ४६ लाख ९८ हजार रुपैयाँ र ४६ लाख ४८ हजार गरी ९३ लाख ४६ हजार ऋण लिएको पाइएको र लामिछानेको हस्ताक्षर रहेको चेकबाट ९० लाख १६ हजार ६६० रुपैयाँ किस्ता भुक्तानी भएको विषयलाई पनि अदालतले प्रमाण मानेको छ ।
अदालती बयानमा लामिछानेले भने आफू सहकारीको सदस्य नबनेको, सहकारीमा खाता नभएको, ऋण नलिएको र गोरखा मिडियाको प्रबन्ध निर्देशकको हैसियतमा चेकमा हस्ताक्षर गरेको भन्दै सहकारीको रकम अपचलनमा भूमिका नरहेको दाबी गरेका छन् । गोरखा मिडिया नेटवर्कमा आफू प्रबन्ध निर्देशक रहँदा राईले २२ करोड रुपैयाँ ल्याएको र त्यसको स्रोत आफूलाई जानकारी नभएको बयान दिएका छन् ।
जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीमा रहेको ६९० जना सर्वसाधारणको १ अर्ब १९ करोड ४१ लाख रुपैयाँ बचत हिनामिना गरेको भन्दै मुद्दा दायर गरेको हो । मुद्दामा सहकारीका अध्यक्ष तथा गोरखा मिडिया नेटवर्कका अध्यक्ष राईसहित मिडियाका तत्कालीन प्रबन्ध सञ्चालक लामिछाने, सञ्चालक तथा नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी, सहकारीका सञ्चालक, पूर्वसञ्चालक, उच्च कर्मचारीका साथै सहकारीको रकम प्रयोग भएका कम्पनीका सञ्चालकहरूलाई समेत प्रतिवादी बनाइएको छ । प्रतिवादी बनाएकामध्ये जीबीसहित ३२ जना अझै फरार छन् ।