काठमाडौं । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा रहेको बचत रकम ठगी प्रकरणमा सरकारले पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले आइतवार जिल्ला अदालत काठमाडौंमा ६९० जना सर्वसाधारणको १ अर्ब १९ करोड ४१ लाख रुपैयाँ बचत हिनामिना गरेको भन्दै उनीहरूलाई सहकारी ठगी र संगठित अपराधको आरोपमा मुद्दा दायर गरेको हो ।
मुद्दामा सहकारीका अध्यक्ष तथा गोरखा मिडिया नेटवर्कका अध्यक्ष जीबी राईसहित, मिडियाका प्रबन्ध सञ्चालक लामिछाने र सञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशीका साथै सहकारीका सञ्चालक, पूर्वसञ्चालक, उच्च कर्मचारीहरू, सहकारीको रकम दुरुपयोग भएका कम्पनीका सञ्चालकहरूलाई समेत प्रतिवादी बनाइएको छ । प्रतिवादी बनाएका जीबीसहित ३२ जना फरार छन् । यस्तै लामिछानेसहित ६ जना भने सूर्यदर्शन सहकारीको ठगी मुद्दामा कास्की प्रहरीको हिरासतमा छन् । उनीहरूविरुद्ध जिल्ला अदालत कास्कीमा थुनछेक बहस भइरहेको छ ।
काठमाडौंको कालिमाटीमा केन्द्रीय कार्यालय रहेको उक्त सहकारीले उच्च ब्याजको प्रलोभन देखाएर सर्वसाधारणबाट बचत संकलन गरी उक्त रकम अध्यक्ष राईले आफू, आफन्त र विभिन्न कम्पनीमा गैरकानूनी रूपमा लगानी गरी दुरुपयोग गरेको सरकारी वकिलको कार्यालयले अभियोग लगाएको छ । राईले आफूमातहत रहेका गोरखा मिडिया नेटवर्कका साथै नेचर नेस्ट प्रालि, जीबी ग्रूप अफ कम्पनी, स्प्रिङउड रियल इस्टेटसहित आधा दर्जन कम्पनीमा सहकारीको रकम दुरुपयोग गरेको अभियोग लगाइएको छ ।
दुई साताअघि मात्र सरकारले पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारीको डेढ अर्ब रुपैयाँभन्दा बढी रकम ठगीमा जीबी, रवि र छविसहित ३१ जना र पाँचओटा कम्पनीविरुद्ध मुद्दा दायर गरेको थियो । स्वर्णलक्ष्मी ठगी मुद्दामा पनि सूर्यदर्शनको ठगीमा प्रतिवादी बनाइएका जीबी, लामिछाने र जोशीसहित एक दर्जन व्यक्ति दोहोरिएका छन् । उनीहरूलाई पोखरामा सम्पत्ति शुद्धीकरणको मुद्दा चलाए पनि काठमाडौंमा भने यससम्बन्धी मुद्दा दायर गरिएको छैन ।
सरकारी वकिलको कार्यालयले स्वर्णलक्ष्मी सहकारीमा रवि र जीबीको नाममा संयुक्त खाता रहेको र उनीहरूको नाममा गाडी खरीदका लागि करीब १ करोड रुपैयाँ कर्जा प्रवाह भएको दाबी गरेको छ । उक्त कर्जाबाट खरीद भएको गाडी गोरखा मिडिया नेटवर्कमा प्रयोग भएको छ । यस अभियोगमा सरकारी वकिलको कार्यालयले सहकारीको सफ्टवेयरमा भएको विवरण र ऋणको भौचर अदालतमा पेश गरेको छ । सहकारीबाट गोरखा मिडियामा २ अर्ब ६५ करोड प्रत्यक्ष र ३ अर्ब १३ करोड अप्रत्यक्ष रकम अपचलन भएको दाबी गरिएको छ । यसैगरी सहकारीको सफ्टवेयरमा सहकारीबाट रवि लामिछानेको नाममा रेमिट्यान्समार्फत ७५ लाख १० हजार भुक्तानी भएको पनि अभियोगमा उल्लेख छ ।
लामिछानेले बयानका क्रममा भने आफू सहकारीको सदस्य नबनेको, ऋण नलिएको भन्दै इन्कारी बयान दिएका छन् । यसैगरी गोरखा मिडियाले पनि सहकारीबाट ऋण लिने गरी सञ्चालक समितिबाट निर्णय नगरेको र अध्यक्ष जीबी र उनको कम्पनी जीबी ग्रूप अफ कम्पनीबाट मात्र ऋण लिएको दाबी गरेका छन् । अभियोगपत्रमा भने गोरखा मिडियाबाट लामिछाने आफैले हस्ताक्षर गरी सहकारीको किस्ता तिरेको भौचरलाई प्रमाणका रूपमा पेश गरिएको छ ।
सहकारीको सफ्टवेयरमा ५ हजार ६६९ बचतकर्ताको २ अर्ब ६५ करोड ९५ लाख रुपैयाँ रहेको र ७०२ ओटा कर्जा फाइलमा २ अर्ब ५२ करोड रुपैयाँ लगानी भएको देखिएको छ । राईले सहकारीको रकम आफ्ना कम्पनीका सञ्चालक, श्रीमती, ड्राइभर, सालो र संस्थाका कर्मचारीको नाममा ऋण देखाएर दुरुपयोग गरेको अभियोगपत्रमा उल्लेख छ ।