काठमाडौं । चालू आर्थिक वर्ष (आव) को तेस्रो त्रैमाससम्मको वाणिज्य बैंकहरूको वितरणयोग्य मुनाफालाई हेर्दा ६ वाणिज्य बैंकहरू लाभांश वितरण गर्नै नसक्ने अवस्थामा रहेको देखिन्छ ।
गतवर्षको तेस्रो त्रैमाससम्म १० वाणिज्य बैंकहरूको वितरणयोग्य मुनाफा ऋणात्मक थियो । यस वर्ष वितरणयोग्य मुनाफा ऋणात्मक हुने कम्पनीको संख्या भने घटेको छ ।
राष्ट्रिय वाणिज्य, नेपाल इन्भेष्टमेण्ट मेगा, प्रभु, एन.आई.सी. एशिया, कुमारी र हिमालयन बैंकको वितरणयोग्य मुनाफा तेस्रो त्रैमाससम्म ऋणात्मक छ ।
तेस्रो त्रैमाससम्मको वित्तीय अवस्था हेर्दा हिमालयन बैंकको वितरणयोग्य मुनाफा ७ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी ऋणात्मक देखिन्छ ।
त्यस्तै कुमारीको ६ अर्ब ५० करोड रुपैयाँभन्दा बढी, एन.आई.सी. एशियाको ३ अर्ब ५६ करोड रुपैयाँभन्दा बढी, प्रभुको ३ अर्ब ४० करोड रुपैयाँभन्दा बढी, नेपाल इन्भेष्टमेण्ट मेगाको १ अर्ब १० करोड रुपैयाँभन्दा बढी र राष्ट्रिय वाणिज्य बैंकको १ अर्ब २ करोड रुपैयाँभन्दा बढी वितरणयोग्य मुनाफा ऋणात्मक छ ।
यीमध्ये गतवर्ष राष्ट्रिय वाणिज्यको वितरणयोग्य मुनाफा २४ करोड ६२ लाख रुपैयाँभन्दा बढी र प्रभुको १६ करोड ६५ लाख रुपैयाँभन्दा बढी थियो । यस वर्ष यी दुई कम्पनीको वितरणयोग्य मुनाफा ऋणात्मक भएको छ ।
गतवर्ष यस अवधिसम्म वितरणयोग्य मुनाफा ऋणात्मक अवस्थामा रहेका ६ कम्पनीले यस वर्ष सुधारेका छन् । गतवर्षको तेस्रो त्रैमाससम्म वितरणयोग्य मुनाफा ऋणात्मक अवस्थामा रहेका माछापुच्छ्रे, सिद्धार्थ, नेपाल, लक्ष्मी सन्राइज, एनएमबि र ग्लोबल आइएमई बैंकले यस वर्ष सुधार गरेका हुन् ।
आर्थिक वर्षको अन्त्यसम्मको वितरणयोग्य मुनाफाको आधारमा बैंकहरूको लाभांश क्षमता आकलन हुने भएकाले आगामी त्रैमाससम्म वितरणयोग्य मुनाफामा सुधार आयो भने लगानीकर्ताको हात खाली नहुने अवस्था आउन सक्छ ।
पूर्वबैंकर भुवन दाहालले पछिल्लो समय आर्थिक गतिविधि बढ्न थालेसँगै बैंकहरूको कर्जा असुलीमा पनि सकारात्मक प्रभाव परेको भन्दै आगामी वर्षसम्म बैंकहरू लाभांश वितरण गर्न सक्ने क्षमतामा पुग्ने अनुमान लगाए ।
पछिल्लो समय बैंकहरूले लगानी बढाएको र नयाँ लगानीमा खासै समस्या नभएको जानकारीका आधारमा आगामी दिनमा बैंकहरूको वितरणयोग्य नाफा सकारात्मक बन्ने अनुमान दाहालले गरेका हुन् ।
बैंकहरूले इम्पेरमेन्ट चार्जबापतको रकम फिर्ता पाएको अवस्थाले पनि आगामी दिनमा वितरणयोग्य मुनाफा बढ्न सक्ने दाहालले बताए । कुनै कर्जा निष्क्रिय हुन सक्ने देखिएमा त्यस्तो कर्जालाई इम्पेरमेन्ट चार्जको वर्गमा राखी ब्यालेन्ससिट बनाउनुपर्छ । बैंकहरूले कर्जा नोक्सानी व्यवस्थाका लागि इम्पेरमेन्ट चार्ज छुट्ट्याउँछन् ।
तेस्रो त्रैमाससम्म वाणिज्य बैंकहरूले त्यस्तो रकम ३५ अर्ब रुपैयाँभन्दा बढी छुट्ट्याएका छन् । गतवर्ष बैंकहरूले इम्पेरमेन्ट चार्जबापत ३९ अर्ब ८७ करोड रुपैयाँभन्दा बढी छुट्ट्याएका थिए । तेस्रो त्रैमाससम्म १४ वाणिज्य बैंक वितरणयोग्य मुनाफामा छन् । वितरणयोग्य मुनाफामै रहेका कम्पनीहरू पनि लाभांश वितरण गर्न सक्ने अवस्थामा छन् भन्न सकिँदैन । तथ्यांकगत रूपमा हेर्दा एभरेष्ट बैंकको वितरणयोग्य नाफा सबैभन्दा बढी छ भने सबैभन्दा कम माछापुच्छे्र बैंकको छ । एभरेष्टको वितरणयोग्य नाफा गतवर्षको तुलनामा करीब ३४ प्रतिशतले बढेर ३ अर्ब ६७ करोड ८७ लाख रुपैयाँ कायम भएको छ । गतवर्ष यस अवधिसम्म एभरेष्ट बैंकको वितरणयोग्य नाफा २ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी थियो ।
यस वर्षको वितरणयोग्य नाफाको आधारमा कम्पनीको लाभांश क्षमता २८ दशमलव ४२ प्रतिशत रहेको देखिन्छ ।
हाल एभरेष्ट बैंकको चुक्ता पूँजी १२ अर्ब ९४ करोड ४६ लाख ९४ हजार रुपैयाँ छ । त्यस्तै गतवर्ष ३० करोड ५६ लाख रुपैयाँभन्दा बढी ऋणात्मक अवस्थामा रहेको माछापुच्छे्र बैंक यस वर्षको सोही अवधिमा ७ करोड ७ लाख रुपैयाँभन्दा बढी वितरणयोग्य नाफा कायम गर्न सफल भएको छ । हाल माछापुच्छे्र बैंकको चुक्ता पूँजी ११ अर्ब ६२ करोड १३ लाख ५७ हजार रुपैयाँ छ । वितरणयोग्य मुनाफाका आधारमा माछापुच्छे्र बैैंकको लाभांश क्षमता शून्य दशमलव ६१ प्रतिशत मात्र छ ।
यस वर्ष धेरैजसो कम्पनीको वितरणयोग्य मुनाफा सकारात्मक बन्नुको कारण पछिल्लो समय नेपाल राष्ट्र बैंकले बैंक, वित्तीय संस्थाहरूले असल वर्गमा भएको कर्जाको नोक्सानी व्यवस्था १ दशमलव १० प्रतिशतबाट घटाएर १ प्रतिशत कायम गर्नुलाई जानकारहरूले औंल्याएका छन् । यो व्यवस्थाका कारण गतवर्ष कर्जा तथा नोक्सानी व्यवस्थाका लागि बढी रकम व्यवस्था गरेका कम्पनीहरूले यस वर्ष रकम फिर्ता पाएको जानकारहरूको भनाइ छ ।