बेइजिङ (चीन) । चीनले तिब्बती पठारको पूर्वी किनारमा विश्वको सबैभन्दा ठूलो जलविद्युत् बाँध निर्माण गर्न स्वीकृति दिएको छ ।
उक्त बाँध यार्लुङ जाङ्बो नदीको तल्लो क्षेत्रमा बनाइन लागिएको हो । उक्त बाँधले भारत र बंगलादेशको तल्लो तटीय क्षेत्रलाई प्रभावित गर्ने बताइएको छ ।
चीनको पावर कन्स्ट्रक्सन कर्पोरेशनले सन् २०२० मा गरेको अनुमानअनुसार उक्त बाँधले वार्षिक ३०० अर्ब युनिट विद्युत् उत्पादन गर्न सक्छ ।
यो मध्य चीनमा अवस्थित विश्वको सबैभन्दा ठूलो थ्री गर्जेज ड्यामबाट उत्पादन हुने विद्युत् क्षमताको तीन गुणाभन्दा बढी हो । थ्री गर्जेज ड्यामबाट वार्षिक ८८.२ अर्ब युनिट विद्युत उत्पादन हुन्छ ।
चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार यो परियोजनाले चीनको कार्बन पिकिङ र कार्बन तटस्थताको लक्ष्य पूरा गर्न, इन्जिनियरिङ जस्ता सम्बन्धित उद्योगलाई प्रोत्साहित गर्न र तिब्बतमा रोजगारी सिर्जना गर्न प्रमुख भूमिका खेल्नेछ ।
थ्री गर्जेजको लागत २५४.२ बिलियन युआन (३४.८३ बिलियन अमेरिकी डलर) रहेको थियो । यसमा परियोजनाबाट विस्थापित भएकाहरू पुनस्र्थापना खर्च पनि समावेश छ । उक्त आयोजनामा पुनस्र्थापना खर्च प्रारम्भिक अनुमान गरिएको भन्दा चार गुणा बढी थियो ।
तिब्बत परियोजनाले कति मानिस विस्थापित हुन्छन् र यसले पर्यावरणमा कस्तो असर पर्छ भन्नेबारे चिनियाँ अधिकारीले केही उल्लेख गरेका छैनन् ।
तर, भारत र बङ्गलादेशले बाँधको बारेमा चिन्ता व्यक्त गरेका छन् । यस परियोजनाले स्थानीय पारिस्थितिकी मात्र होइन, नदीको बहाव र बहावलाई पनि परिवर्तन गर्न सक्ने बताइएको छ ।
यार्लुङ्ग जाङ्बो भारतमा ब्रह्मपुत्रको नामले चिनिन्छ । यो नदी तिब्बतबाट भारतको अरुणाचल प्रदेश र आसाम हुँदै अन्तमा बङ्गलादेशमा बग्छ ।
पश्चिमबाट तिब्बतको पूर्वतर्फ बग्ने यार्लुङ जाङ्बो नदीको माथिल्लो भागमा चीनले जलविद्युत् उत्पादन शुरु गरिसकेको छ । रोयटर्स