म्याग्दी । तिहार पर्वका लागि मुस्ताङबाट चार हजार भेडाच्याङ्ग्रा विक्री भएको छ । म्याग्दी, बागलुङ, पोखरा र काठमाडौंका बजारमा कात्तिक शुरु भएदेखि चार हजार ४० भेडा÷च्याङग्रा झारिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।
केन्द्रका प्रमुख लालमणी अर्यालका अनुसार यसपालीको दशै पर्वका लागि आठ हजार भेडाच्याङ्ग्रा विक्री भएको थियो । पशु चिकित्सकले स्वास्थ्य परीक्षण गरेर स्वस्थ भेडाच्याङ्ग्रा मात्र बजार पठाउने गरिएको छ ।
दशैं र तिहार पर्वका लागि मुस्ताङको बाटो भएर जिल्लाका कृषकले पालेका सहित डोल्पा र मुगुबाट ल्याइएका भेडाच्याङ्ग्रा बजारमा विक्री भएको हो । “उत्पादन बढेको र मूल्य घटेकाले विगतको तुलनामा यसपालीको दशैं तिहारमा भेडाच्याङ्ग्राको व्यापार बढी भएको छ,” केन्द्र प्रमुख अर्यालले भने, “कृषकले तौल अनुसार प्रतिगोटा २८ हजार देखि ३७ हजारका दरले च्याङ्ग्रा विक्री गरेका छन् ।”
जडीबुटीयुक्त बुकीमा चरेका च्याङ्ग्राको मासु पोषिलो, तागतिलो र स्वस्थकर मानिन्छ । तीन वर्ष पूरा भएका च्याङ्ग्रा मासुका लागि विक्री हुने गर्छ । गत वर्ष खोरमै प्रतिगोटा ४० हजार भन्दा बढी मूल्य तिरेर च्याङ्ग्रा खरीद गरेका व्यापारीले यसपाली प्रतिगोटा ३० हजारदेखि ३३ हजारमा किसानहरूबाट खरीद गरेका छन् ।
गत वर्ष काठमाडौं पोखरामा प्रतिगोटा रु ५५ हजारसम्म परेको च्याङ्ग्राको मूल्य यसपाली रु. ४५ हजार भन्दा कम मूल्यमा विक्री भएको छ । गत वर्ष बजारमा ल्याएको च्याङ्ग्रा महँगी हुँदा विक्री नभएर नोक्सान व्यहोरेको व्यापारीले गुनासो गरेका थिए । रासस