काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमवार (आज) तीन कम्पनीको कुल १ करोड २२ लाख ७८ हजार ५ सय कित्ता शेयर सूचीकृत भएको छ ।
समाज लघुवित्तको २८ हजार ५ सय कित्ता बोनस शेयर, कर्पोरेट डेभलपमेन्ट बैंकको २ लाख ५० हजार कित्ता बोनस शेयर र आँखु खोला जलविद्युत कम्पनीको १ करोड २० लाख कित्ता हकप्रद शेयर गरेर कुल १ करोड २२ लाख ७८ हजार ५ सय कित्ता शेयर सूचीकृत भएको हो । अब यी तीनओटै कम्पनीको शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।
कर्पोरेट डभेलपमेन्ट बैंकले २०७९ फागुन २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सो सभाले कर प्रयोजनको लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
त्यस्तै, समाज लघुवित्तले २०८० साउन ३१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १४ दशमलव २५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सो सभाले कर प्रयोजनको लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश पारित गरेको थियो ।
आँखुखोला जलविद्युत कम्पनीले गत साउन २७ गतेदेखि भदौ १६ गतेसम्म निष्कासन गरेको १५० प्रतिशत हकप्रद शेयर सूचीकृत गराएको हो ।