काठमाडौं । लामो समयदेखि तयार भएर पनि नियमित अन्तरराष्ट्रिय उडान हुन नसकेका दुई नयाँ अन्तरराष्ट्रिय विमानस्थलमा वायुसेवा कम्पनीहरूलाई प्रोत्साहन गर्न सरकारले काठमाडौंमा कनेक्टिङ फ्लाइट गर्ने नीति सार्वजनिक गरेको छ ।
भैरहवास्थित गौतमबुद्ध र पोखरास्थित पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय उडान प्रवर्द्धन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अधिकतम एउटा ‘कनेक्टिङ फ्लाइट’को सुविधा दिने निर्णय गरेको छ । तर, त्यसका लागि पहिला यी दुई विमानस्थलमध्ये कुनैमा पहिला जहाज बसाल्नुपर्छ ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल स्तरोन्नतिका लागि १० घण्टा विमानस्थल बन्द गरिने समय नजिकिँदै गर्दा प्राधिकरणले यो परिस्थितिलाई अन्य दुई उपयोग नभएका विमानस्थलमा अन्तरराष्ट्रिय उडान भर्न प्रोत्साहन गर्ने नीति सार्वजनिक गरेको हो । नयाँ ट्याक्सी–वे निर्माण र धावनमार्ग स्तरोन्नतिका लागि कात्तिक २३ गतेदेखि आउँदो चैतसम्म काठमाडौंको विमानस्थल राति १० देखि बिहान ८ बजेसम्म बन्द गरिँदै छ । हाल दिनमा २१ घण्टा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा रहन्छ ।
प्राधिकरणका उपप्रबन्धक तथा सूचना अधिकारी ज्ञानेन्द्र भुलले अन्तरराष्ट्रिय गन्तव्यबाट सिधा पोखरा र भैरहवामा उडान गर्दा व्यावसायिक रूपमा थप भार पर्न सक्ने सम्भावनालाई ध्यानमा राखेर एयरलाइन्स कम्पनीलाई परेमा एउटा कनेक्टिङ उडान काठमाडौंमा दिने निर्णय भएको आर्थिक अभियानलाई जानकारी दिए ।
प्राधिकरणले अन्तरराष्ट्रिय एयरलाइन्स कम्पनीहरूले पोखरा र भैरहवा अन्तरराष्ट्रिय विमानस्थलमा पनि उडान गर्न शुरूदेखि नै अनुरोध गर्दै आए पनि ती वायुसेवा प्रदायक कम्पनीहरू भने त्यसमा चासो दिएका छैनन् ।
जसले गर्दा न त उद्घाटन भएको २ वर्षभन्दा बढी समय हुँदासमेत गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थमा व्यावसायिक उडान भएको छ न उद्घाटन भएको झन्डै २ वर्ष हुन लाग्दा पनि पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडान हुन सकेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अहिले नेपाल वायुसेवा निगमको नेपाल एयरलाइन्स, निजीक्षेत्रको हिमालय एयरलाइन्ससहित विभिन्न अन्तरराष्ट्रिय एयरलाइन्सले सेवा दिँदै आएका छन् । कात्तिकमा अझै पनि पर्यटन सिजन नै रहने भएकाले १० घण्टा मुख्य विमानस्थल बन्द गर्न पर्यटन क्षेत्रमै असर गर्न सक्ने आकलन पनि सरोकारवालाबाट आएको छ ।
नेपाल पर्यटन तथ्यांक–२०२३ अनुसार सन् २०२३ मा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा विभिन्न मुलुकका ३५ ओटा एयरलाइन्स कम्पनीले उडान गरेको देखिन्छ । उक्त तथ्यांकअनुसार सन् २०२३ मा ३१ हजार ४६० उडान हुँदा ४५ लाख ४१ हजार १३७ यात्रुले सेवा दिएका थिए । यस्तै सोही तथ्यांकअनुसार आन्तरिकतर्फ ९६ हजार ९८९ पटक उडान हुँदा ४१ लाख ५० हजार ३२६ यात्रुले सेवा लिएका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका अनुसार अन्तरराष्ट्रिय उडान संख्यामा भने नेपालकै सरकारी स्वामित्वको नेपाल एयरलाइन्सको अंश बढी छ । दोस्रोमा नेपाली निजीक्षेत्रको हिमालय एयरलाइन्सको उडान बढी देखिएको छ । उक्त तथ्यांकले भने अन्तरराष्ट्रिय उडान गर्ने ३५ कम्पनीमध्ये नेपाल एयरलाइन्स र हिमालयको बढी देखाउँछ । तथ्यांकअनुसार नेपाल एयरलाइन्सले सन् २०२३ मा ३ हजार ७८१ उडानबाट ६ लाख ४५ हजारभन्दा बढी यात्रुलाई सेवा दिएको छ । यस्तै सोही अवधिमै हिमालय एयरलाइन्सले ३ हजार ५५२ उडानबाट ४ लाख ६२ हजारभन्दा बढी यात्रुलाई सेवा दिएको थियो ।