तस्वीरहरूमा हेर्नुस् हल्चोक आकाश भैरवको जात्रा

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

Share News

काठमाडौं । काठमाडौंको केल टोलमा हल्चोक आकाश भैरव जात्राका क्रममा आकाश भैरव र देवगणको पहिरनमा सजिएका कलाकार झाँकी प्रस्तुत गर्दैछन् । 

हरेक १२ वर्षमा मनाइने उक्त जात्रा यस वर्ष वैशाख १ देखि शुरु भएको हो । जात्राका क्रममा शहरका विभिन्न ठाउँमा झाँकी प्रस्तुत गरिन्छ । 

परम्परा अनुसार यो जात्रा वैशाख महीनाभर विभिन्न धार्मिक कार्यक्रमसहित मनाइन्छ । 

जात्रामा आकाश भैरवलाई मुख्य देवताका रूपमा प्रस्तुत गरिन्छ भने चण्डी, कुमारी, पार्वती, महादेव, गंगा, आकाशदेवी, बाराही, महाकाली र दक्षिणकालीलगायतका देवी देवताका नृत्य पनि देखाइन्छ ।

गुठीको अभिलेखअनुसार यो जात्राको शुरुआत नेपाल संवत् १०७ मा तत्कालीन राजा गुणकामदेवले गरेका थिए । वंशावलीमा उल्लेख भएअनुसार राजा गुणकामदेवले महालक्ष्मीको दर्शन पाएका थिए र उनकै प्रेरणाले राज्यलाई संकटबाट जोगाउन हलचोकमा आकाश भैरवसहितका देवगणलाई तान्त्रिक विधिबाट स्थापना गरिएको हो । 

जात्राको व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिकाबाट २५ लाख ४० हजार रुपैयाँ र नागार्जुन नगरपालिकाबाट १३ लाख ३० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । 

हलचोक आकाश भैरव नाचगान वैशाख ३, ६, ११, १२, १३, १८, १९, २०, २१, २५, २७, र ३१ गते क्रमशः केलटोल, मरु डबली, असन डबली, दमाई टोल, वतु चिकंअत, न्यतपाःच्व, पहिको त्वाः, ब्रम्हटोल, खुसिबु, सोहखुट्टे, न्हयोखा, ताम्सिपाखा, डल्लु चोक र डल्लु चौतारामा प्रदर्शन हुने कार्यक्रम तय गरिएको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।