हङकङ । चिनियाँ विद्युतीय सवारी उद्योगको अग्रणी कम्पनी (बीवाइडी)ले सोमवार चीनमा नयाँ चार्जिङ प्रणाली सार्वजनिक गरेको छ ।
चिनियाँ शहर शेन्जेनमा आधारित यस कम्पनीले आफ्नो 'सुपर ई-प्लेटफर्म' नामक प्रणाली प्रस्तुत गर्दै आफ्ना नयाँ सवारीहरू मात्र ५ मिनेटमा चार्ज गर्न सक्ने र २५० माइल (४०२ किलोमिटर) सम्मको दूरी तय गर्न सक्ने दाबी गरेको छ । जुन पेट्रोल पम्महरूमा पेट्रोल भर्न लाग्ने समयजत्तिकै समय हो ।
यस प्रविधिलाई व्यापक बनाउन बीवाइडीले चीनभर ४ हजार अति-द्रुत चार्जिङ स्टेसनहरू निर्माण गर्ने योजना बनाएको छ । यसले विश्वको सबैभन्दा ठूलो मोटर बजारमा पहिलेदेखि नै तीव्र रहेको प्रतिस्पर्धालाई अझ बढाएको छ । र, टेस्ला जस्ता प्रतिद्वन्द्वीहरूलाई पछि पार्न सफल भएको छ।
यो प्रविधि लोकप्रिय भए बीवाइडीको यो नयाँ चार्जिङ प्लेटफर्मले इलेक्ट्रिक कार बजारलाई परिवर्तन गर्ने नवप्रवर्तनको रूपमा चिनिन सक्छ । तुलनात्मक रूपमा, टेस्लाको सुपरचार्जरले १५ मिनेटको चार्जमा २०० माइल (३२२ किलोमिटर) को दूरी प्रदान गर्ने गर्छ ।
बीवाइडीका अध्यक्ष वांग चुआनफुले लञ्चिङले उक्त चार्जर सार्वजनिक कार्यक्रममा भने, 'हाम्रो लक्ष्य इलेक्ट्रिक कार चार्जिङलाई पेट्रोल कारको समयजत्तिकै छिटो बनाउनु हो।'
नयाँ चार्जिङ प्रविधियुक्त बीवाइडीका नयाँ मोडलहरूको प्री-अर्डर सोमवाररबाट शुरू भएको छ । गाडीको डेलिभरी अर्को महिना शुरू हुनेछ।
यो समाचार सार्वजनिक भएसँगै मंगलवार हङकङ स्टक एक्सचेञ्जमा बीवाइडीको शेयर मूल्य ६ प्रतिशतले वृद्धि हुँदै ऐतिहासिक उचाइमा पुगेको छ ।
सोमबार टेस्लाले चीनमा आफ्नो लामो समयदेखि पर्खाइरहेको 'फुल सेल्फ-ड्राइभिङ (एफएसडी)' सेवाको निःशुल्क परीक्षण गरेको थियो, जुन आगामी एक महीनासम्म जारी रहने छ ।
टेस्लाले यो कदम गत महीनाको निराशाजनक सफ्टवेयर अपग्रेडपछि लिएको हो । जुन बीवाइडीको पूर्ण क्षमतामा पुग्न नसकेको रोयटर्सले विभिन्न स्रोतहरूलाई उद्धृत गरेको समाचारमा उल्लेख छ । टेस्लाले 'पर्फमेन्स' सुधार्न चिनियाँ प्रविधिको अग्रणी कम्पनी बाइदुसँग सहयोग मागेको छ ।
टेस्लाको वार्षिक विश्व उपलब्धता पहिलो पटक गत वर्ष घटेको थियो । चीनमा यसले प्रमुख प्रतिद्वन्द्वी बीवाइडीको तुलनामा पछि परेको थियो ।
बीवाइडीको यो नयाँ चार्जिङ प्रविधिले नवप्रवर्तन र मूल्यमा टेस्लालाई पछि पार्न लागेको बताइएको छ । एजेन्सी