ट्रम्प पुनरागमनको प्रभाव : अमेरिकाका शेयर बजार बढे, एसियामा कस्तो छ अवस्था ?

फाइल तस्वीर ।

Share News

काठमाडौं । राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएको दिन अमेरिकाका शेयर बजार परिसूचक बढेका छन्। 

गत बुधवार अमेरिकी शेयर बजार डाउजोन्स ३ दशलमव ५७ प्रतिशत बढेर ४३ हजार ७२९ दशमलव ९३ विन्दुमा पुगेको छ । अमेरिकाकै अर्को स्टक एक्सचेन्ज न्यासड्याक २ दशलमव ९५ प्रतिशत बढेर १८ हजार ९८३ दशमलव ४७ विन्दुमा पुगेको छ । 

समाचार संस्था रोयटर्सले ट्रम्पको विजयले अमेरिकाको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने उल्लेख गरेको छ । 

एशियाली शेयर बजारमा भने मिश्रित परिणाम देखिएको छ । बिहीवार (आज) चिनियाँ शेयर बजार संघाई स्टक एक्सचेन्ज र हङकङ स्टक एक्सचेन्ज बढेका छन् ।  

आज संघाई स्टक एक्सचेन्जको संघाई एसई कम्पोजिट इन्डेक्स २ दशमलव ५७ प्रतिशत बढेर ३ हजार ४७० दशमलव ६६ विन्दुमा पुगेको छ । बुधवार उक्त इन्डेक्स ३ हजार ३८३ दशमलव ८१ विन्दुमा थियो । 

त्यस्तै, हङकङ स्टक एक्सचेन्ज हाङ संग इन्डेक्स २ दशमलव ०२ प्रतिशत वृद्धि भएर २० हजार ९५३ दशमलव ३४ विन्दुमा पुगेको हो । बुधवार उक्त इन्डेक्स २० हजार ५३८ दशमलव ३८ विन्दुमा थियो । 

जापानको स्टक एक्सचेन्ज निक्केई २२५ इन्डेक्स भने शून्य दशमलव २५ प्रतिशत घटेर ३९ हजार ३८१ दशमलव ४१ विन्दुमा कायम भएको छ । अघिल्लो कारोबार दिन गत बुधवार उक्त इन्डेक्स ३९ हजार ४८० दशमलव ६७ विन्दुमा थियो । 

भारतीय शेयर बजार बम्बई स्टक एक्सचेन्ज (बीएसई) १ दशमलव ०४ प्रतिशतले र नेशनल स्टक एक्सचेन्ज (निफ्टी) ५०१ दशमलव १६ प्रतिशतले घटेका छन् । बीएसई ७९ हजार ५४१ दशमलव ७९ विन्दुमा र निफ्टी २४ हजार १९९ दशमलव ३५ विन्दुमा झरेका छन् । 

अमेरिकाको राजनीतिक अवस्थाले अन्य देशका शेयर बजारमा प्रभाव पार्ने गरेको छ । कारण– ती देशका शेयर बजारमा अन्तरराष्ट्रिय लगानीकर्ताले समेत लगानी गर्न पाउँछन् । 

तर, नेपालको शेयर बजारमा ट्रम्प विजयको खासै प्रभाव नपारेको जानकार बताउँछन् । नेपाली बजारमा अन्तर्राष्ट्रिय लगानीकर्ताको सहभागिता नहुने भएकाले अमेरिकी राजनीतिको प्रभाव नेपाली बजारमा नपरेको उनीहरूको भनाइ छ । 

बुधवार नेपाली शेयर बजार नेप्से १ दशमलव ८८ अंक घटेर २ हजार ६७५ दशमलव ५१ विन्दुमा कायम भएको छ ।

स्टक एक्सचेन्ज सूचकको नाम नोभेम्बर ७ नोभेम्बर ६ फरक प्रतिशत
बम्बई स्टक एक्सचेन्ज बीएसई सेन्सेक्स 79541.79 80378.13 -1.04
नेशनल स्टक एक्सचेन्ज निफ्टी ५० 24199.35 24484.05 -1.16
जापान स्टक एक्सचेन्ज निक्के २२५ 39381.41 39480.67 -0.25
हङकङ स्टक एक्सचेन्ज हाङ संग 20953.34 20538.38 2.02
संघाई स्टक एक्सचेन्ज संघाई एसई कम्पोजिट इन्डेक्स 3470.66 3383.81 2.57

स्रोत : सम्बन्धित कम्पनीको वेबसाइट ।

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।