चितवन । उद्यममा जोड्ने उद्देश्यसहित मुग्लिनका महिलालाई १५ दिने सर्फ र साबुन बनाउने तालिम दिइएको छ । इच्छाकामना गृहिणी महिला सशक्तीकरण कार्यक्रमअन्र्तगत इच्छाकामना गाउँपालिकाको आयोजना तथा सिजर्नशील महिला जागरण केन्द्रको प्राविधिक सहयोगमा तालिम सम्पन्न भएको हो ।
समापन कार्यक्रममा बोल्दै गाउंँपालिका अध्यक्ष दान बहादुर गुरुङले सिकेको शीपलाई व्यवहारमा लागू गर्न आग्रह गरे । उनले गाउँपालिकाले महिलाहरूलाई आत्मनिर्भर बनाउनका लागि मागको आधारमा विभिन्न तालिम सञ्चालन गरिरहेको बताए ।
अध्यक्ष गुरुङले सिर्जनशील महिला जागरण केन्द्रले इच्छाकामनामा उदाहरणीय काम गरिरहेको बताए । उनले उद्योग सञ्चालनका लागि गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउंँदै सर्फ बनाउनका लागि मेसिन खरीद गर्न सहयोग गर्ने आश्वासन दिए । पालिकाले ५० प्रतिशत अनुदानमा उपलब्ध गराइदिने बताएको छ । उत्पादित सामानको बजारीकरणका लागि गाउँपालिकाले सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
उपाध्यक्ष माया सिलवालले महिला आफै सक्षम हुनुपर्ने बताइन् । उनले तालिमबाट सिकेको शीपलाई आयआर्जनमा जोड्न आग्रह गरिन् । उनले सिर्जनशील महिला जागरण केन्द्रले उदाहरणीय काम गरिरहेको र काम गर्नेहरूलाई थप हौसला प्रदान गर्नुपर्ने बताइन् । उनले सर्फ बनाउनका लागि मेसिनको आवश्यकता रहेकोले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा वडाअध्यक्ष तेज बहादुर शेरचनले वडाले गर्नुपर्ने आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै उद्योगी बन्न आग्रह गरे । उनले तालिम सञ्चालन गरेपनि उपलब्धि नभएको बताए ।
कार्यक्रममा सिर्जनशील महिला जागरण केन्द्रका अध्यक्ष सावित्री पुडासैनी खनालले यसअघि प्रदेश सरकारबाट प्राप्त तालिमबाट संस्थाका महिलाले झोल साबुनको उद्योग सञ्चालन गरिरहेको बताइन् । सो उद्योगमा २ जना महिलाले निरन्तर रोजगार पाइरहेको उनले जानकारी दिइन् । सो उद्योगका बाहिर र मार्केटिङमा ६/७ जनाले आंशिक रूपमा रोजगार पाएको उनको भनाइ छ ।
सर्फ बनाउनका लागि मेसिन आवश्यक रहेको उनले बताइन् । गाउँपालिकाले अनुदान उपलब्ध गराएमा अपुग रकम संस्थाले जोहो उनको भनाइ छ । मेसिन भए उत्पादन बढाउन सकिने र थप महिलाका लागि रोजगार सिर्जना हुने उनले बताइन् ।
१५ दिनसम्म चलेको तालिममा २० जना महिला सहभागी थिए । तालिममा कृष्ण रिमाल, सपना अधिकारी र पुष्पा थापाले प्रशिक्षण दिएका थिए ।