विराटनगर । उद्योग व्यवसायले खपत गर्ने ऊर्जा, यसको आपूर्ति तथा वितरणको गुणस्तरलगायत विषयमा इन्टरडिसिप्लिनरी एनालिष्ट (आईडिए) र उद्योग संगठन मोरङको समन्वयमा भएको ऊर्जा सर्वेक्षणको प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरिएको छ ।
प्रतिवेदनको प्रस्तुतिपछि त्यसका महत्त्वपूर्ण विषयवस्तुमा अन्तरक्रिया कार्यक्रम समेत गरिएको छ । गत असोजमा उद्योग व्यवसायमा ऊर्जा उपलब्धता, व्यवस्थापन र गुणस्तरबारे सर्वेक्षण गरिएको थियो ।
विराटनगरमा हालै सम्पन्न कार्यक्रममा संगठनका अध्यक्ष राकेश सुरानाले सर्वेक्षणबाट आएका तथ्यांकले आगामी दिनमा संगठनलाई ऊर्जासम्बन्धी बहस, पैरवीमा सहयोग पुग्ने बताए । सर्वेक्षणबाट प्राप्त तथ्यांकका आधारमा ऊर्जा व्यवस्थापनका लागि अपनाउनुपर्ने सुधारबारे सरोकारवाला पक्षको ध्यानाकर्षण गराइने भएको छ । ऊर्जाको वास्तविक अवस्था अवगत गराउँदै गुणस्तरमा सुधारका लागि पहल गरिने उनले स्पष्ट पारे ।
आईडिएका अध्यक्ष दीपक ज्ञवालीले ऊर्जा सर्वेक्षणमा ठूला, मझौला, साना, कुटिर र परम्परागत शीपबाट सञ्चालित उद्यम, व्यवसाय समेटिएको जानकारी दिए । ऊर्जा दक्षता अभिवृद्धिका लागि गर्नुपर्ने सुधारका उपायलाई केन्द्रमा राखेर गरिएको सर्वेक्षणको प्रतिवेदनले आगामी दिनमा सुधारको योजना बनाउँदा सहयोग पुग्ने विश्वास गरिएको छ ।
कार्यक्रममा आईडिएका कार्यकारी निर्देशक डा. सुधिन्द्र शर्माले उद्योग व्यवसाय क्षेत्रको अवस्था मनन गरी ऊर्जा नीति तय गर्नुपर्ने, गुणस्तरीय ऊर्जा आपूर्तिका लागि पूर्वाधारमा सुधार गर्नुपर्ने, साना उद्योगको संरक्षणका लागि सहुलियत प्रदान गर्नुपर्ने सुझाव सर्वेक्षणबाट प्राप्त भएको बताए ।
सर्वेक्षणबाट प्राप्त तथ्यांक प्रशोधन गरी तयार पारिएको प्रारम्भिक प्रतिवेदन भएको स्पष्ट पार्दै थप विषय अन्तिम प्रतिवेदनमा समावेश गरिने निर्देशक शर्माले बताए । ऊर्जा सर्वेक्षणको प्रारम्भिक प्रतिवेदन प्रस्तुति एवं अन्तरक्रिया कार्यक्रममा संगठनका निवर्तमान अध्यक्ष सुयश प्याकुरेल, वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, उपाध्यक्ष भोलेश्वर दुलाल, विपिन कावरा, कार्यसमिति सदस्य एवं ऊर्जा समितिका संयोजक सन्तोष भगत, उद्योग प्रतिष्ठानका सञ्चालक र व्यवस्थापकहरूको सहभागिता थियो ।