काठमाडौं । चालू आर्थिक वर्ष (आव)को पहिलो चौमासिकमा नेपालको समग्र वैदेशिक व्यापारमा सामान्य सुधार देखिएको छ ।
भन्सार विभागले शुक्रवार सार्वजनिक गरेको मुलुकको वैदैशिक व्यापारको तथ्यांकअनुसार आव २०८१/८२ को पहिलो चार महीनामा नेपालको वैदेशिक व्यापार ०.५३ प्रतिशतले बढेको छ, जुन अघिल्लो आवको सोही अवधिमा ४.१५ प्रतिशतले घटेको थियो ।
विभागको तथ्यांकअनुसार नेपालको आयात र निर्यात दुवैमा सामान्य सुधार भएको छ । चालू आवको पहिलो चौमासिकमा नेपालको निर्यात ०.१७ र निर्यात ४.१६ प्रतिशतले वृद्धि भएको छ ।
निर्यात बढ्दा घट्यो व्यापार घाटा
चालू आर्थिक वर्ष (आव)को पहिलो चौमासिकमा व्यापार घाटा घटेको छ । विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यो आवको पहिलो चार महीनामा व्यापार घाटा ०.२६ प्रतिशतले घटेको हो ।
तथ्यांकअनुसार सो अवधिमा व्यापार घाटा ४ खर्ब ६० अर्बभन्दा बढी छ । गत आवको पहिलो चार महीनामा व्यापार घाटा ४ खर्ब ६१ अर्बभन्दा बढी थियो ।
यो आवको पहिलो चौमासिकमा आयातभन्दा निर्यातको रकम बढी भएपछि व्यापार घाटा घटेको हो । विभागको तथ्यांकअनुसार यो आवको पहिलो चार महीनामा निर्यात १ अर्ब २२ करोड रुपैयाँभन्दा बढीले वृद्धि भएको छ । सो अवधिमा ५२ अर्ब ६७ करोड रुपैयाँभन्दा बढीको वस्तु तथा सेवाको निर्यात भएको छ । गत आवको सोही अवधिमा भने ५० अर्ब ५६ करोड रुपैयाँभन्दा बढीको वस्तु तथा सेवाको निर्यात भएको थियो ।
चालू आवको पहिलो चार महीनामा आयात भने ८८ करोड ४५ लाख रुपैयाँभन्दा बढी रुपैयाँले वृद्धि भएको छ । सो अवधिमा ५ खर्ब १३ अर्ब ३८ करोड रुपैयाँभन्दा बढीको वस्तु तथा सेवा आयात भएको छ । गत आवको सोही अवधिमा भने ५ खर्ब १२ अर्ब ५० करोडभन्दा बढीको वस्तु तथा सेवा आयात भएको थियो ।