बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) ले नेपालमा उत्पादित ४० मेगावाट विद्युत् खरीद–विक्रीका लागि सम्झौता गर्न नेपाल विद्युत् प्राधिकरणलाई पत्राचार गरेपछि विद्युत् निर्यातका लागि नयाँ ढोका खुलेको छ । यो नेपालको जलविद्युत्को विकासमा कोसेढुंगा साबित हुन सक्छ । तर, बंगलादेशसँग नेपालको सिमाना नजोडिएको हुँदा भारतीय प्रसारण लाइन नै प्रयोग गर्नुपर्ने बाध्यता छ जसले गर्दा भारतका केही शर्तहरू बंगलादेश निर्यातमा पनि लागू हुने देखिन्छ । ४० मेगावाट बिजुली निर्यात गर्नु ठूलो कुरा होइन । तर यसमा खुशी हुनुको कारणचाहिँ यसले खोल्ने ठूलो सम्भावनाको ढोका हो । धेरै बिजुली निर्यात गर्न अन्य काम गर्न बाँकी नै छ । नेपालमा विद्युत् उत्पादनमा लगानी गर्न बंगलादेश पनि इच्छुक रहेको छ । बंगलादेशले नेपालमा बिजुली उत्पादन गरेर लैजाँदा भारत पनि सकारात्मक र सहयोगी हुन सक्छ ।
नेपालको बिजुली वास्तवमा रणनीतिक उत्पादन हो भन्ने देखिन्छ । त्यही भएर यो भूसामरिक स्वार्थको द्वन्द्वमा फस्न सक्ने सम्भावना प्रबल देखिन्छ । भारतले चिनियाँ कम्पनी कुनै पनि भूमिकामा रहेर बनेको विद्युत् आयोजनाबाट बिजुली नकिन्ने नीति लिएको छ । नेपाली र भारतीय कम्पनीबाहेक अन्य देशको लगानीको बिजुली किन्ला कि नकिन्ला भन्ने दोधार पनि छ । त्यसो हुँदा जबसम्म आन्तरिक बजार विस्तार हुँदैन तबसम्म नेपालमा ठूलो लगानी आउन सक्ने देखिँदैन किनभने लगानीकर्ताले बजार सुनिश्चितता खोज्छन् । भारतको नीतिका कारण बजार अनिश्चित हुँदा तिनीहरूले लगानी गर्दैनन् । सरकारले अहिले धमाधम भारतीय कम्पनीलाई आयोजनाहरू धमाधम सुम्पिइरहेको छ । यसो गर्दा भोलिका दिनमा समस्या नआउला भन्न सकिँदैन ।
भारतको सदाशयता भएमा कम्तीमा नेपाल, भारत र बंगलादेश उपक्षेत्रीय बिजुली बजार विस्तार गर्न सक्छन् । तर, जबसम्म बिजुलीलाई भारतले व्यापारिकभन्दा पनि रणनीतिक वस्तु मान्छ तबसम्म जोखिम कायमै रहन्छ ।
अहिले भारत नेपाल र बंगलादेश दुवैप्रति सकारात्मक भएकाले उसले नेपालको बढी भएको बिजुली किन्न स्वीकृति दिएको छ भने आफ्नो प्रसारण लाइन प्रयोग गरेर बंगलादेशमा बिजुली लैजान पनि स्वीकृति दिएको छ । विद्युत् विक्रीका लागि नेपाल–भारत र नेपाल–बंगलादेशबीच द्विपक्षीय सम्झौता भएको छ । तीनै देश नमिली बंगलादेशमा बिजुली लैजान समस्या हुने देखिएकाले यी तीन देशबीच संयुक्त सम्झौता गर्नुका साथै त्रिदेशीय उच्चस्तरीय संयन्त्र बनाउन पनि आवश्यक छ । यसका लागि बंगलादेशले यस अघि नै नेपाललाई प्रस्ताव गरिसकेको छ । यसो भयो भने आपसी सम्बन्ध राम्रो हुनुका साथै बिजुली खरीदविक्री प्रक्रिया पनि सहज, स्पष्ट र पारदर्शी हुनेछ ।
नेपालमा उत्पादित बिजुलीको बजार भारत र बंगलादेश नै हो भन्नेमा कुनै विवाद छैन । नेपालको बिजुली उत्तरतिर निर्यातको सहज सम्भावना छैन । उसलाई नेपालको बिजुली आवश्यक पर्ने पनि देखिँदैन । बंगलादेशलाई बिजुली विक्री गर्न पनि भारत सकारात्मक हुनैपर्छ । अहिले भारत नेपालको बिजुली किन्न सकारात्मक देखिएको छ र १० वर्षमा १० हजार मेगावाट किन्ने घोषणा पनि गरेको छ । तर, प्रत्येक वर्ष अनुमति नवीकरण गर्नुपर्ने नियम पनि लादेको छ जसले गर्दा अर्को वर्ष नवीकरण हुने हो कि नहुने भन्ने डर सधैं रहिरहन्छ । नवीकरण गरिदिएन भने नेपालको बिजुली खेर जाने सम्भावना हुन्छ । नेपालसँग उसको सम्बन्ध एकनासको छैन । त्यसो हुँदा भारतको नेतृत्व नेपालप्रति नकारात्मक बन्नेबित्तिकै नेपालमा उत्पादित बिजुली खेर जान थाल्छ । त्यसैले विद्युत् निर्यात चुनौतीपूर्ण देखिन्छ । भारतको सदाशयता भएमा कम्तीमा नेपाल, भारत र बंगलादेश उपक्षेत्रीय बिजुली बजार विस्तार गर्न सक्छन् । तर, जबसम्म बिजुलीलाई भारतले व्यापारिकभन्दा पनि रणनीतिक वस्तु मान्छ तबसम्म जोखिम कायमै रहन्छ । नेपाल र बंगलादेश दुवैले भारतीय भूमि हुँदै बिजुली किनबेचका लागि डेडिकेडेड प्रसारण लाइन खोजेका छन् । तर, भारतले यो प्रस्ताव मान्ने सम्भावना कम रहेको नेपाली अधिकारी बताउँछन् किनभने डेडिकेटेड लाइन भएमा उसको प्रभाव कम रहने सम्भावना हुन्छ । तैपनि तीन देशबीच आपसी विश्वास र साझेदारी भएमा त्रिदेशीय लगानी बढाई बंगलादेशमा पनि ठूलो मात्रामा बिजुली निर्यात गर्न नसकिने होइन ।