अचेल जो पनि विदेशतिरै गइरहेको देखेर, मैले पनि सोचेँ, ‘जाम भने जाम तनि, दुई–चार दिन घुमेरै आम तनि ।’ आफू परियो आर्थिक पत्रकार, त्यसैले हेर्न जाने भनेको त विकास नै हो । ५०–६० वर्षमा अद्भूत विकास गरेको दुबई र अबुधाबीतिर घुम्न गइयो, कतै आफ्नै जीवनमा नेपाल पनि त्यस्तै पो बनिहाल्छ कि भनेर । तर त्यहाँ गएपछि थाहा भयो, विकास भनेको त झन्झट पो रहेछ ।
घुमेर के थाहा भयो भने देश विकास गर्नु बेकारको काम हो । विकास गरेपछि त हाम्रै मौलिकता हराउने रहेछ । हाम्रो राजनीतिक चेतना, संघर्षको ऊर्जा, जीवनको रोमाञ्चकता सबै हराउने रहेछ । हामी जनताको मौजमस्ती र नेताहरूको पदको आन, मान, शान सबै हराएर जाने रहेछ ।
मन्त्री, प्रधानमन्त्री, सचिव जे भए पनि दुबईजस्तो ठाउँमा त सर्वसाधारणलाई बालै मतलवै नहुने क्या । त्यहाँ न त लावा–लस्करको गाडी, न बाटो छेक्दै हुइँकने शान । न भाषण ठोक्दै गोष्ठी–सेमिनार धाएर निर्देशन दिन पाइने । न समर्थन र विरोधका नाममा सडक बन्द गरेर जुलुसै निकाल्न पाइने । कानून–सानुन एकातिर थन्क्याएर अरूलाई धम्क्याउँदै हिँड्न पनि नपाइने ।
त्यहाँ सचिव वा मुख्यसचिव भएर पनि न टिप्पणीमाथि टिप्पणी उठाउँदै आदेश दिन पाइने, न टेबुलमुनिबाट आम्दानी गर्न सकिने । न भ्रष्टाचार गर्ने मौका, न आचारलाई अचार बनाएर चपाउने सुविधा । यो सब हरायो भने जिन्दगीमा के रमाइलो बाँकी रहन्छ र हो ?
आफ्नो काम मिलाउन कतिलाई शिष्टाचार, ढोग वा भेट गर्दै हिँड्ने ? त्यसपछि काम बनेपछि त्यो कथा अरूलाई सुनाउन पाउँदाको जुन मज्जा तपाईं हामी आज पाइरहेका छौं, त्यो त विकास भएपछि सबै स्वाहा !
दुबईमा कम्पनी खोल्नुपर्यो भने सबै काजपत्र ठीक छन् भने त एक घण्टामै वा बढीमा आधा दिनमै काम तमाम हुने । यस्तो छिटो–छरितो त कस्तो उराठलाग्दो हुँदोरहेछ । हाम्रोजस्तो महीनौं लाइनमा बसेर जुत्ता खियाउँदै, सरकारी कागतपत्र हात पारेपछिको मज्जा उनीहरूलाई के था ? विकास भयो भने त यस्ता थुप्रै मज्जा त हराउने पक्का छ ।
सबैभन्दा डरलाग्दो त के भने विकासले रोजगारी पनि खाइदिने रहेछ । अन्य विकसित देशमाजस्तै दुबईमा पनि के देखियो भने, हाम्रोमा जस्तो सडकमा ट्राफिक प्रहरी छैनन् । म त्यहाँका मन्त्रालय, केन्द्रीय बैंकको मुख्य कार्यालय पनि गएर हेरेँ । कस्तो अचम्म ! ती सरकारी अफिसमा न लस्करका लस्कर सेक्युरिटी गार्ड छन्, न बुट बजारेर सलाम वा नमस्कार हजुरको गजुर छ । विकासका कारण हाम्रा यतिका ट्राफिक प्रहरी र सेक्युरिटी गार्डहरूको रोजगारी हरायो भने के होला ?
विकसित देशको अर्को समस्या के भने, जहाँ पायो त्यहीँ पार्किङ गर्न पाइँदैन । सानातिना नियम उल्लंघन गर्दा टन्न जरीवाना तिर्नुपर्र्छ । त्यस्ता कुरा यहाँ त चल्दैन नि । त्यहाँको भन्दा तीन गुणा महँगो तिरेर गाडी किन्यो, त्यत्तिकै महँगो पेट्रोल हाल्यो, तर आफूले भन्या ठाउँमा गाडी पार्किङ गर्न पनि नपाइने । जहाँबाट पनि बाटो काट्न नपाइने, सडकमा मानिसले हिँड्न नपाउने पनि हुन्छ ? गाई, साँढे, हाँस कुखुराको समेत अधिकार हनन हुने रहेछ देश विकसित भयो भने त । ठ्यास्स मोटर मोटरसाइकल रोक्यो, सामान किन्यो, हिँड्यो गर्न नपाउने पनि कतै नियम हुन्छ ? यस्तो कडा नियम यहाँ पनि हुने हो भने त हाम्रो स्वतन्त्रता र मौलिकता कसरी बाँकी रहन्छ र ?
वास्तवमा खाडी देशहरू त जरीवाना नै जरीवानाबाट पो चल्या रहेछन् । हाम्रोमा जस्तो भ्याट, आयकर, गएकर, करैकर पनि लिँदो रहेनछन् जनताबाट त्यहाँका सरकारहरूले । अनि कर कार्यालयको हाकिम भएको धाक नै लगाउन नपाइने ।
अँ, शायद हाम्रोतिर करैकर लगाउने गरेको देखेर होला अहिले आएर बल्ल त ९ प्रतिशत कर्पोरेट ट्याक्स लिन शुरूचैं गरेछन् । उनीहरूमा पनि कर कार्यालयको हाकिम हुने मस्ती धेरै जनालाई दिऊँ भन्ने धारणा जाग्न थालेको होला शायद ।
अर्को कुरा, विकास भएपछिको मुख्य खतरा नै प्रदूषण कम हुँदै जानु पनि रहेछ । एक हप्तासम्म एउटै सर्ट लगाए पनि फोहोर नहुने, गन्ध नआउने । विकास भयो भने त हाम्रा परम्परागत वातावरणीय गन्ध जस्तै खुला ढलको सुगन्ध, बाटोको धूलोको चस्स र हरेक चोकमा थुप्रिएका फोहोरको नजारा समाप्त हुन सक्छ । यो त हाम्रो संस्कृतिको हिस्सा नै हो, यसलाई जोगाउनु पो पर्छ त । त्यही हेर्न त पर्यटकहरू नेपाल आउने गरेका हुन् नि, हैन र ? वास्तवमा हाम्रो अव्यवस्था भनेकै पर्यटक आकर्षणका लागि सुव्यवस्था हुन् । धूलो उडेको काठमाडौं, भत्किएको पोखरा र ट्राफिक जामले दिएको ‘साहसिक यात्रा’ हरायो भने पर्यटक किन आउँछन् र नेपाल ? अरब देशतिरै गैहाल्छन् नि ।
देश विकास भयो भने नेताहरूलाई पनि ‘हामीले यो बनायौं, त्यो बनायौं’ फलानो देश जस्तो बनाउँछौं भन्ने भाषण गर्नै पाउँदैनन् । त्यसपछि नेपाली मिडियाले के लेख्ने ? अभाव, महँगी र अव्यवस्थाबाट उत्पन्न हुने मनोरञ्जन समाप्त भयो भने जीवन त फिक्का फिक्का हुन्छ नि, हामी पत्रकारको समेत । विकासले त नयाँ नेता, नयाँ दलहरू उदाउने मौकै नआउने, राजनीतिमा रोमान्स नै नहुने र पत्रकारिताको स्कोप नै हराउने खतरा रहेछ ।
सबैभन्दा महत्त्वपूर्ण कुरा त हाम्रै देश विकसित भयो भने नेपालीहरू विदेशमा फेरि के गर्न जाने ? अनि श्रम लगायतका यत्तिका मन्त्री र मन्त्रालयहरूले के गरेर खाने ?
दुबई र अबुधाबीतिर पनि घुमिसकेपछि पो बल्ल्ल मेरो दिमागको बत्ती बल्न थालेको छ कि देशको विकास गर्नै हुन्न रेछ । किनकि नेपाल एउटा राजनीतिप्रधान देश हो नि । यहाँ त राजनीतिक भावना प्रधान छ । हाम्रो देश त विकासप्रधान देश होइन । जुन देशमा जे प्रधान हुन्छ, त्यसैलाई प्रधान वा मुख्य बनाउनुपर्छ नि । त्यसैले म त भन्छु नेपाल जस्तो अहिले छ, त्यस्तै अवस्थामै राखिछाडौं ।
विकास नगर्ने प्रतिबद्धतासहित, जय नेपाल, लाल सलाम, जय मधेश, जय पहाड, जय हिमाल, राजा आऊ देश बचाऊ ! अरूके के चाहिन्छ, तपाईंहरू आफै थप्दै जानु होला है !