सामान्यतया ब्याजदर केबल एउटा संख्या हो जसले १ महिना वा १ वर्षमा रू. १०० अरू कसैको प्रयोग गरेबापत केही रकम अतिरिक्त भुक्तान गर्नुपर्छ । कसैको घरमा भाडाका रूपमा बसेपछि प्रतिमहीना ठाउँ र उपलब्ध सुविधाका आधारमा रकम भुक्तान गर्नुपर्छ । कसैलाई काममा लगाएपछि ज्याला दिनुपर्छ । त्यसैगरी अरूको पैसा सुमरेपछि त्यसको भाडा वा ज्याला तिर्नुपर्छ त्यही नै ब्याजदर हो । घरभाडा दिँदा, जमीन लगानमा दिँदा लिनेवालाले भाडा तिर्न नसके पनि मालिकको सम्पत्ति, जमीन वा घर गुम्दैन तर पैसा भाडामा लगाउँदा अति बढी खतरा हुन्छ, ब्याजमात्र होइन, साँवा पनि गुम्ने डर हुन्छ । सोही कारणले ब्याज लगाउनु जोखिमपूर्ण हुन्छ । यही जोखिम तत्त्वको बीचबाट मीटरब्याजीहरू जन्मिने गर्छन् र पीडितहरू पनि ब्याज मिनाहाको झीनो आशा लिएर सडकमा आउन बाध्य हुन्छन् ।
देश विकास त्यति सजिलो कुरा होइन, जति जमीनी स्तरबाट आशा र अपेक्षा गरिएको हुन्छ । यसमा सबै पक्षको जवाफदेही र सहभागिता आवश्यक हुन्छ । विकासमा बहुआयामिक पक्षको भूमिका रहन्छ, जनता, नीतिनिर्माण, कार्यकारी पक्ष, वित्तीय पक्ष, मौद्रिक पक्ष, ब्याजदर, ज्यालादर, शिक्षा, स्वास्थ्य, सुरक्षा, न्यायप्रणाली, लेखापरीक्षण आदि सबैंको । यसमध्ये एउटा पक्षले पनि कमजोरी देखाएमा वा अदूरदर्शी र विवादास्पद निर्णय गरेमा त्यसबाट परेको प्वालले पूरै विकासको टंकी खाली हुन्छ । यी सबै ठाउँमा परिपक्व निर्णय होस् भनेर देशमा उपलब्ध योग्य व्यक्तिलाई विभिन्न निकायमा नियुक्त गरिन्छ । बैंक वित्तीय संस्थाले लिने र दिने ब्याजदरले पनि विकासमा ठूलो असर पार्ने हुँदा यसबारे धेरै सोचेर निर्णय गर्नुपर्ने हुन्छ ।
ब्याजदरको वरिपरि शेयरबजार, कम्पनीहरूको वासलात, देशको रोजगारीको अवस्था, गृहणीको चूल्होको परिकार, विद्यार्थीको झोलामा रहेका पाठ्यपुस्तकको गुणवत्ता नापिने हुँदा ऋण कति प्रभावकारी छ भन्ने आधारमा ब्याजदर निर्धारण गर्नुपर्छ ।
उद्येग व्यापार तथा पूर्वाधार सबै कामका लागि पूँजी आवश्यक पर्छ । पूर्वाधार विकासलाई सार्वजनिक वित्त बजेटमार्फत पूँजीको व्यवस्था गरिएको हुन्छ । त्यो पूँजीको जिम्मा लगभग देशको बचत, वैदेशिक ऋण, वैदेशिक अनुदानबाट पूर्ति गरिन्छ । यहाँनेर सरकारका सहजता असहजता आफ्नै किसिमका भए पनि सरकारको ब्याजका कारणबाट बिल्लीबाँठ हुँदैन । तर, जनताको बेहाल हुन्छ । ब्याज तिर्नुपर्ने दायित्व र पीडा गरीब, मध्यम, उच्च वर्ग सबैलाई परिरहेको हुन्छ । तर, धनी वर्ग जोसँग धितो राख्ने सम्पत्ति हुन्छ, तिनलाई बैंकलगायत संगठित ऋणप्रदान गर्ने निकायले विश्वास गर्ने भएकाले यिनीहरू मीटर ब्याजमा परेको र अन्यायमा परेको चर्चा कम सुनिन्छ । गरीब नै कडा मीटरब्याजीको पासोमा पर्छ ।
समस्या वास्तवमा गरीबमा होइन, गरीबीमा छ । उनीहरूलाई बैंकले ऋण सहजै दिँदैन । फलस्वरूप उनीहरू जसरी तसरी सामन्तको पासोमा पुग्छन् अनि ब्याजको रजाइँ शुरू हुन्छ । जनता वा निजीक्षेत्रले बैंकबाट ऋण लिएर उद्योग, व्यापार कारोबार गरेको हुन्छ, आयात वा निर्यात गरेको हुन्छ, शैक्षिक ऋण लिएर छोराछोरीलाई स्वदेश वा विदेशमा पढाएको हुन्छ । देशमा संगठित वा असंगठित रूपमा रहेका ९ लाखभन्दा बढी उद्योगधन्दा, कलकारखाना, थोकदेखि खुद्रा पसल, बैंक, सहकारी आदि सबैंको सञ्चालनमा ब्याजदरको व्यापक असर पर्छ । त्यसैले मौद्रिक नीति निर्धारक केन्द्रीय बैंकहरूले असरका बहुपक्षलाई ध्यानमा राखेर ब्याजदर निर्धारण गर्नुपर्छ । देश विकासका विभिन्न चरणमा ब्याजदरले कस्तो भूमिका खेल्छ, त्यसबारे सामान्य जानकारी नीतिनिर्मातालाई मात्र होइन, आम जनतालाई पनि हुनुपर्छ ।
उत्पादनका विभिन्न साधन हुन्छन् जस्तै : भूमि, पूँजी, श्रम, संगठन । यी सबैंको लागत हुन्छ । जस्तै : भूमिको लगान, श्रमको ज्याला तथा तलब आदि, संगठनको नाफा । त्यसैगरी पूँजीको ऋण खण्डको लागतलाई ब्याज भनिन्छ । बैंक, वित्तीय संस्था, सहकारी आदिबाट ऋण लिएर विभिन्न व्यवसाय गरिएको हुन्छ । यसकोे ब्याजदर सामान्यतया कुनै पनि देशको केन्द्रीय बैंकले तोकेको हुन्छ । उदारीकरणको वर्तमान समयमा प्रत्येक देशका बैंकहरूले आफै ब्याजदर तोक्ने अधिकार दिइएको भनिए पनि ब्याजदर केन्द्रीय बैंकको मौद्रिक नीतिभित्र रहेर तय हुन्छ । यो बढी वा कम हुनुले धेरै कुरालाई प्रभाव पार्छ ।
जति उदारीकरणको नारा लगाए पनि बैंकको ब्याजदरमा केन्द्रीय बैंकले नियन्त्रण गर्नैपर्छ । बैंकहरूलाई आफूखुशी ब्याजदर निर्धारणको जिम्मा दिने हो भने वाणिज्य तथा विकास बैंकहरूले कार्टेलिङ गरेर ब्याजदर ह्वात्तै बढाएको अवस्थामा कसैले पनि ऋण लिन सक्दैनन् जसको परिणाम स्वरूप देशमा कलकारखाना, उद्योग धन्दा आदिको स्थापना हुन सक्दैन र बेरोजगारी बढ्छ । यदि उद्योग व्यापारमा तीव्रता दिने हो भने ब्याजदर नियन्त्रण गर्नुपर्छ । उद्यमीहरूलाई ऋणकै सहयोगमा नयाँ स्टार्टअप खोल्ने अवसर दिनुपर्छ । हुन त खुला अर्थतन्त्रमा मनपरी ब्याज बढाउने दुस्साहस कसैले गर्दैन, किनकि ऋण आपूर्तिका बहुविकल्प बजारमा उपलब्ध छन् । तापनि कार्टेलिङबाट जनतालाई बचाउन केन्द्रीय बैंकले हस्तक्षेप गर्नैपर्छ । अनौपचारिक क्षेत्रबाट ऋण लिँदा आसामीहरू समस्यामा पर्छन् भने बैंकहरू ज्यादै बढी धितो राखेर ऋण तिर्न नसके सम्पत्ति बेच्नेसमेत अधिकार शुरूमै लिएर अलिकति कम ब्याज लिएजस्तो देखिन्छ । इमानदारीसाथ बैंकले कतिसम्म ब्याज लिने भन्ने कुरालाई धितोको गुणवत्ताको आधारमा वर्गीकरण गरिएको छैन । कसैले सुन धितो राखेको छ भने जोखिम लगभग शून्य हुन्छ । त्यतिबेला तोकेकै ब्याज लिइन्छ । कसैलाई मानप्रतिष्ठा ख्यातिको आधारमा विनाधितो ऋण प्रवाह गरे पनि ब्याजदर त्यति नै हुन्छ । जोखिमको आधारमा दोस्रो बढी जोखिम ऋणप्रवाह हो । विकसितहरूको उदाहरण हेर्ने हो इन्टोपेडिया अनलाइनको अगस्त २०२३ को एक लेखअनुसार विश्वमा बैंक कम ब्याज लिने देशको सूचीमा स्वीट्जरल्याल्यान्ड, डेनमार्क, जापान, स्वीडेन र स्पेन गरी पाँच देश छन् । स्वीट्जरल्याण्डमा ब्याजदर मात्र १ दशमलव ७५ प्रतिशत छ । यद्यपि यो तरलताको विषय हो जुन परिस्थितिअनुसार जतिबेला पनि तलमाथि हुन्छ । ट्रेन्ड एनालाइसिस गर्दा बितेको १० वर्षमा ती पाँच देशमा ब्याजदर कम देखिन्छ ।
त्यो कम भयो बढी भयो भन्नुभन्दा नेपालमा ब्याजदर कति हुनुपर्छ भनेर व्यापक छलफल भएको छैन । ब्याजदरमा केही कमी गर्दा राष्ट्रिय पूँजीपतिमा उत्साह आउँछ र रोजगारीका अवसर हुँदै निर्यात बढाउन सकिन्छ भने बैंकले बाँड्ने लाभांश र बोनसले भन्दा उद्योगधन्दाले देश विकासमा धेरै भूमिका खेल्छ । बैंकहरूले धितोको राम्रो प्रबन्धन गरेर जतिसक्दो कम ब्याजदरमा ऋण दिनु कुनै आपत्कालिक अवस्थामा बाहेक राम्रो कुरा हो । बैंकिङ आफैमा उद्योग तथा व्यापार होइन । यसले कति ब्याजबाट कति नाफा कमायो भन्नुभन्दा कति राम्रो र उत्पादनमूलक क्षेत्रमा लगानी गरेर जनता र अर्थतन्त्रको सेवा गर्यो भन्ने कुरा बढी ओजपूर्ण हुन्छ । ब्याजदरको वरिपरि शेयरबजार, कम्पनीहरूको वासलात, देशको रोजगारीको अवस्था, गृहणीको चूल्होको परिकार, विद्यार्थीको झोलामा रहेका पाठ्यपुस्तकको गुणवत्ता नापिने भएकाले बैंकका लगानीकर्ताले पाउने नाफा मात्र नहेरेर समग्रमा त्यो ऋण कति प्रभावकारी भयो र हुनुपर्छ भन्ने आधारमा ब्याजदर निर्धारण गरौं । बैंक ब्याजदर कम हुँदा नै उद्योग व्यापार फस्टाउन सजिलो हुन्छ । सबैले दाम मुद्दती खातामा राखेर बस्ने हो भने लगानी घट्छ र पूँजी चलायमान हुन पाउँदैन ।
लेखक कैलाशकूट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गर्छन् ।