काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २१ गतेदेखि २६ गतेसम्म निष्कासन तथा विक्री गरी वैशाख ७ गते बाँडफाँट गरेको एफपीओ सूचीकरण प्रक्रियामा रहेको छ ।
कम्पनीले विक्री प्रबन्धकले आवश्यक प्रक्रिया मिलाएर एफपीओ सूचीकरणका लागि काम गरिरहेको बताएको हो । कम्पनीले सर्वसाधारणतर्फको हिस्सा ३० प्रतिशत कायम गर्न एफपीओ प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ५१ लाख २९ हजार २५० रुपैयाँ बराबरको ५१ हजार २९२ दशमलव ५ कित्ता एफपीओ निष्कासन गरेको हो ।
एफपीओ निष्कासन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । कम्पनीको एफपीओ ५ हजार १२९ जनाले पाएका छन् । हाल धितोपत्र दोस्रो बजारमा सूचीकृत यस कम्पनीले थप सार्वजनिक निष्कासन गरेको हो । कम्पनीको शेयर मूल्य वैशाख १४ गतेको कारोबारमा प्रतिकित्ता २ हजार ७५२ रुपैयाँ १० पैसा कायम छ ।
५ हजार १२९ जनाले पाएको कम्पनीको एफपीओको पहिलो कारोबारका लागि कति मूल्य तोकिएला भन्ने एफपीओ प्राप्त गर्नेहरूमा चासो देखिएको छ ।
नयाँ कम्पनीको शेयर अर्थात् आईपीओको मूल्य कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थका आधारमा तोकिने गरिन्छ । तर एफपीओको सम्बन्धमा बजार सञ्चालकले मूल्य तय गर्ने गरेको छैन ।
कम्पनीको एफपीओ सूचीकृत भई कारोबारमा आउने समयमा कायम शेयर मूल्य नै एफपीओको कारोबार मूल्य हुने जानकारी बजार सञ्चालकले दिएको छ । मानौ वैशाख १४ गते कम्पनीको एफपीओ सूचीकृत भएको भए वैशाख १५ गतेदेखि वैशाख १४ गते कायम भएको कम्पनीको प्रतिकित्ता २ हजार ७५२ रुपैयाँ १० पैसानै एफपीओको कारोबार मूल्य तय हुने थियो ।
यस कम्पनीले नेपाल सेवा लघुवित्त वित्तीय संस्थासँग मर्जर प्रक्रिया पूरा गरी २०७८ कात्तिक १५ गतेदेखि एकीकृत कारोबार शुरु गरेको हो । बाग्मती प्रदेशस्तरीय कार्यक्षेत्र रहेको कम्पनीले हाल केन्द्रीय कार्यालयसहित २१ ओटा शाखा कार्यालयमार्फत सेवा प्रदान गरिरहेको छ ।
कम्पनीले यसअघि २०७५ वैशाख १२ गतेदेखि १६ गतेसम्म सर्वसाधारणमा आईपीओ निष्कासन गरी वैशाख २३ गते बाँडफाँट गरेको थियो ।
धितोपत्र दोस्रो बजारमा २०७५ जेठ १७ गते कम्पनी सूचीकृत भएको थियो । १५ करोड रुपैयाँ अधिकृत पूँजी रहेको कम्पनीको जारी पूँजी ८ करोड ४३ लाख ४० हजार ५५० रुपैयाँ छ ।
एफपीओ जारी गर्नुअघि कम्पनीको चुक्तापूँजी ७ करोड ९२ लाख ११ हजार ३०० रुपैयाँ रहेको थियो । एफपीओ निष्कासन तथा बाँडफाँटपश्चात् कम्पनीको चुक्ता पूँजी ८ करोड ४३ लाख ४० हजार ५५० रुपैयाँ कायम भएको छ ।
एफपीओ निष्कासनपछि कम्पनीमा संस्थापकतर्फ ७० प्रतिशत र सर्वसाधारणतर्फ ३० प्रतिशत शेयर स्वामित्व कायम भएको छ ।