काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विपद्पछिको पुन:निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन् ।
मन्त्रालयका विभागीय प्रमुख एवम् आयोजना प्रमुखहरूलाई मंगलवार निर्देशन दिँदै उनले बाढीपहिरोले क्षतिग्रस्त बनाएका सडकमा आगामी वर्षायाममा समेत सवारी सञ्चालन हुने गरि काम थाल्न निर्देशन दिएका हुन् ।
‘हामीले विभिन्न माइलस्टोनहरू कायम गरेका छौं, तिनको उपलब्धिबारे समीक्षा गर्नुहोला,’ मन्त्री दाहालले भने, ‘अहिले सबैभन्दा बढी काम गर्ने बेला हो, यसको अधिकतम उपयोग गरि लक्ष्य हासिलतर्फ लाग्न आवश्यक छ ।’
सडक एवम् पुल निर्माणका लागि बाँकी ठेक्काहरूलाई लगाई सक्न सडक विभागलाई निर्देशन दिँदै उनले रुग्ण आयोजनाहरूको व्यवस्थापनतर्फ लाग्न समेत आग्रह गरे । यस्तै सवारी चालक अनुमति पत्र वितरणलाई प्रदेश स्तरबाटै प्रभावकारी बनाउन आवश्यक समन्वयका लागि यातायात व्यवस्था विभागलाई मन्त्री दाहालले निर्देशन दिए ।
सम्भावनायुक्त थप नदीहरूमा पानीजहाज सञ्चालनको अध्ययनका लागि नेपाल पानीजहाज कार्यालयलाई निर्देशन दिँदै मन्त्री दाहालले समुद्रमा नेपाली पानीजहाज सञ्चालनको कानूनी व्यवस्थाका लागि मन्त्रालयले काम गरिरहेको मन्त्री दाहालले बताए । यस्तै पूर्वपश्चिम रेलमार्गका लागि अधिग्रहण गर्नुपर्ने जग्गाको मुआब्जा वितरणका लागि समेत मन्त्रालयले काम गरिरहेको उनले बताए ।
मन्त्रालयका सचिव केशवकुमार शर्माले राष्ट्रिय गौरवका आयोजनाहरूलाई विशेष ध्यान दिएर काम गर्न निर्देशन दिए । उनले हुलाकी राजमार्ग एवम् पुल, पूर्वपश्चिम राजमार्गको विस्तार लगायत महत्त्वपूर्ण योजनाहरूमा ढिलासुस्ती हुन नदिन सडक विभागलाई निर्देशन दिए ।
ग्वार्को फ्लाई ओभरलाई चैतभित्रमा पूरा गराउनु पर्ने भन्दै उनले छिचोलिएको सिद्धबाबा सुरुङको बाँकी कामलाई तिव्रता दिन निर्देशन दिए ।