विराटनगर। सामाजिक उत्तरदायित्त्वअन्तर्गत सिद्धार्थ बैंकले बरगाछी–रानी सडक सौन्दर्य परियोजनाका लागि विराटनगर महानगर पालिकालाई पहिलो चरणमा १ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । महानगरको सौन्दर्यका लागि बैंकले २ लाख रुपैयाँ उपलब्ध गराउने बताएको छ ।
महानगरका मेयर नागेश कोइरालालाई बैंकका प्रदेश प्रमुख कमल बस्नेत, विराटनगर शाखा प्रमुख सूर्यप्रसाद शर्मा, बजार व्यवस्थापक समीक्षा पोखरेलले चेक हस्तान्तरण गरेका थिए । चेक हस्तान्तरण कार्यक्रममा महानगर–१७ का अध्यक्ष समिम कमर, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल समेतको उपस्थिति थियो ।
विराटनगरमा ३ सहित कोशी प्रदेशमा सिद्धार्थ बैंकका ३० शाखा छन् । महानगरले विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्य परियोजना अगाडि बढाएको बताइएको छ । सो परियोजना सम्पन्न गर्न ५५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । हालसम्म विभिन्न बैंकमार्फत २९ लाख ५० हजार रुपैयाँ प्राप्त भइसकेको परियोजनाका लागि सहजीकरण गरिरहेका पुनमकुमार दाहालले जानकारी दिए ।