गत वर्ष विश्वका शीर्ष २० प्रदूषित शहरहरूमध्ये १९ एशियामा रहेको नयाँ अध्ययनले देखाएको छ । यी शहरहरूमध्ये १३ भारतमा छन्, जुन विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश हो । भारतको तीव्र आर्थिक वृद्धिलाई कोइलाको प्रयोगले अघि बढाएको छ, जसले ट्राफिकले भरिएको तथा भीडभाडयुक्त महानगरहरूमा बस्ने सयौं लाखौं मानिशहरूलाई असर पुर्याइरहेको छ । अरू चार शहर छिमेकी पाकिस्तानमा छन्, जबकि चीन र कजाकिस्तानमा एक–एकओटा शहरहरू छन् । एशियाबाहिर रहेको एकमात्र शहर भने मध्य अफ्रिकाको चाडको राजधानी एनजामेना हो, जसलाई विश्वकै सबैभन्दा प्रदूषित देश मानिएको छ । स्विस कम्पनी आईक्यूएयरले तयार पारेको प्रतिवेदनमा विशिष्ट रूपमा धुलामा हुने सूक्ष्म कणको अध्ययन गरिएको छ, जुन अत्यन्तै सानो तर हानिकारक प्रदूषक हो ।
यस्तो सूक्ष्म कणका स्रोतहरूमा खनिज तेलको दहन, धूलो र डढेलो पर्छन् । यी कणहरू यति साना हुन्छन् कि तिनीहरू शरीरको प्राकृतिक सुरक्षात्मक प्रणाली पार गर्दै फोक्सो वा रगतसम्म पुग्न सक्छन् । यसले श्वासप्रश्वासको समस्या, दीर्घकालीन मिर्गौला रोग, क्यान्सर, स्ट्रोक र मुटुको समस्या निम्त्याउन सक्छ । मानसिक स्वास्थ्यमा समेत असर गर्दै डिप्रेसन र चिन्ता बढाउने जोखिम रहन्छ । विश्व स्वास्थ्य संगठनले वार्षिक औसत स्तर ५ माइक्रोग्राम प्रति घनमिटरभन्दा बढी हुनु नहुने बताएको छ ।
भारतको उत्तरपूर्वी औद्योगिक शहर बर्नीहाटमा मापदण्डभन्दा २५ गुणा बढी प्रदूषण पाइएको छ । कारखाना, निर्माण कार्यको वृद्धि यसको प्रमुख कारण हो । त्यहाँको वातावरण यति धुलाम्य छ कि मानिसको आँखा पोल्छ र घरबाहिर मास्कबिना निस्कन कठिन छ । भारतका अन्य १२ शहरहरू पनि शीर्ष २० मा परेका छन् । राजधानी नयाँ दिल्ली लगातार छैटौं वर्ष संसारको सबैभन्दा प्रदूषित राजधानी बन्यो जसको धुलाको कणको स्तर ९१.८ माइक्रोग्राम प्रति घनमिटर मापन गरिएको थियो । दिल्लीका उपनगरहरू फरीदाबाद, लोनी, गुरुग्राम, नोएडा र ग्रेटर नोएडासमेत सूचीमा परेका छन् । गत नोभेम्बरमा दिल्लीमा बाक्लो धुवाँका कारण उडानहरू प्रभावित भए, भिजिबिलिटी गुम्यो र स्वास्थ्य आपत्काल घोषणा गरियो ।
सन् २०२४ मा चाडको वायु गुणस्तरको निर्देशिकाभन्दा १८ गुणा बढी थियो, जसले यसलाई विश्वकै सबैभन्दा प्रदूषित देश बनायो । बंगलादेश र पाकिस्तान पनि अत्यधिक प्रदूषित देशहरूको सूचीमा अगाडि छन् । भारतमा प्रदूषणकै कारण जीवन प्रत्याशा औसतमा ५.२ वर्ष घटेको प्रतिवेदनमा उल्लेख गरिएको छ । ४० करोड बासिन्दा रहेका बंगलादेश र पाकिस्तान क्रमश: दोस्रो र तेस्रो स्थानमा छन् ।
चीनले भने वायु प्रदूषणमा सुधार ल्याउँदै धुलोको कणको स्तर ३२.५ बाट ३१ माइक्रोग्राम प्रति घनमिटरमा झारेको छ । पेचिङ, सांघाई, छेन्तु, क्वाङचाउ र शेन्जेनजस्ता शहरहरूको वायु गुणस्तरमा सुधार आएको छ । यद्यपि, चीनमा हालै विद्युत् उद्योगले कोइलामा आधारित १०० गिगावाटको नयाँ प्लान्ट बनाउन लागेको खबर आएको छ, जसले फेरी वायु प्रदूषण बढ्न सक्ने चिन्ता छ । आइक्यू एयरका कार्यकारी प्रमुख फ्रान्क हामेस भन्छन्, ‘वायु प्रदूषण मानव स्वास्थ्य र वातावरणका लागि ठूलो चुनौती बनेको छ, तर ठूलो जनसंख्या अझै पनि यसबाट कति प्रभावित छ भन्ने जान्दैन ।’
यसपटक इरान र अफगानिस्तानको डेटा उपलब्ध नभएकाले सूचीमा समावेश भएनन् । दक्षिणपूर्वी एशियामा सरकारी वायु गुणस्तर निगरानी प्रणाली कमजोर रहेको छ । ३९२ शहरमध्ये १७३ मा कुनै सरकारी निगरानी केन्द्र छैन र कम्बोडियामा त कुनै पनि छैन । अमेरिकाले आफ्ना दूतावाशहरूबाट वायु गुणस्तर डेटा प्रदान नगर्ने निर्णय गरेपछि यो समस्या झनै जटिल बन्न सक्ने देखिन्छ ।
आईक्यूएयरको प्रतिवेदनले सरकारहरूलाई नवीकरणीय ऊर्जा परियोजनाहरूमा लगानी गर्न, सवारीसाधन र उद्योगहरूको प्रदूषण नियन्त्रण मापदण्ड कडा पार्न, र वायु गुणस्तर निगरानी विस्तार गर्न सुझाव दिएको छ । सीएनएनमा प्रकाशित ऐश्वर्य ए अइयरको आलेखका आधारित ।