नयाँ दिल्ली (भारत) । भारतलाई उत्पादनको केन्द्र बनाउने प्रधानमन्त्री नरेन्द्र मोदीको महत्वाकांक्षा भएपनि पछिल्लो समय विश्वव्यापी निर्यातमा देशको हिस्सा घटेको विश्व बैंकले जनाएको छ । सस्तो श्रम शक्ति भएकाले उत्पादन लागत कम भएको भनिए पनि देशको निर्यातजन्य विश्वव्यापी व्यापारको हिस्सा भने घटेको देखिएको हो ।
बहुपक्षीय ऋणदाता विश्व बैंकले मंगलवार सार्वजनिक गरेको प्रतिवेदनअनुसार पछिल्लो एक दशकमा कपडा, छाला, टेक्सटाइल र जुत्ताचप्पलको विश्वव्यापी निर्यातमा भारतको हिस्सा करीब १ प्रतिशत घटेको छ । सन् २०१३ मा यी वस्तुहरूको विश्वव्यापी निर्यातमा भारतको हिस्सा ४.५ प्रतिशत पुगेकोमा सन् २०२२ मा घटेर ३.५ प्रतिशतमा झरेको छ । सन् २००२ मा भने यस्तो हिस्सा ०.९ प्रतिशत थियो ।
तीव्र गतिमा वृद्धि हुने अर्थतन्त्र भारत यी वस्तुहरूको विश्वव्यापी निर्यातमा बंगलादेश र भियतनामभन्दा पछाडि छ । विश्व बैंकका अनुसार सन् २०२२ मा यी वस्तुहरूको विश्वव्यापी निर्यातमा बङ्गलादेशको हिस्सा ५.१ प्रतिशत र भियतनामको हिस्सा ५.९ प्रतिशत पुगेको छ ।
पछिल्लो समय चीनमा उत्पादन लागत बढ्न थालेको भन्दै ठूला कम्पनीहरू स्थानान्तरण हुँदैछन् । त्यस्ता कम्पनीहरूलाई आफ्नो देशमा स्वागत गर्ने रणनीतिमा भारत छ ।
भारतलाई उत्पादनको केन्द्र बनाउन मोदी सरकारले इलेक्ट्रोनिक्स र चिप बनाउने जस्ता उद्योगहरूमा लगानी आकर्षित गर्न अर्बौं डलर अनुदानमा खर्च गरेको छ।
विश्व बैंकले निर्यातलाई बढावा दिन र चीनको उत्पादन लागतको स्थानान्तरणबाट लाभ उठाउन, व्यापार लागत कम गर्न, भन्सार तथा गैह्रभन्सार अवरोधहरू कम गर्न र व्यापारिक सम्झौताहरू परिमार्जन गर्न भारतलाई सुझाव दिएको छ ।
पछिल्लो दशकमा निर्यातसँग सम्बन्धित प्रत्यक्ष रोजगारीमा घरेलु रोजगारीको संख्या पनि घटेको छ । भारतमा सन् २०१२ मा निर्यातसँग सम्बन्धित प्रत्यक्ष रोजगारीमा जम्मा घरेलु रोजगारीको ९.५ प्रतिशत रहेकोमा सन् २०२० मा घटेर ६.५ प्रतिशतमा झरेको बताइएको छ ।
विश्व बैंकले सन् २०२५ को मार्चसम्ममा भारतको आर्थिक वृद्धिदर ७ प्रतिशतको तीव्र गतिमा वृद्धि हुने प्रक्षेपण गरेको छ । सन् २०२५–२६ र २०२६–२७ मा आर्थिक वृद्धिदर ६.७ प्रतिशत रहने अनुमान गरिएको छ ।