प्रतिष्ठा भनेको आफ्ना कर्मद्वारा समाजमा गरिएको आर्जन हो । तर, यस्तो आर्जन धन सम्पतिको जस्तो हुन्न । यो मान, सम्मान, इज्जत वा आफूले गरेको कार्यको प्रभाव हो, जुन सकारात्मक हुन्छ । यस्तो मान, सम्मान वा इज्जत आजको भोलि प्राप्त हुने होइन वर्षौंवर्षसम्म कसैले गरेका कार्यकै परिणामबाट प्राप्त हुने हो । यस्तो प्रतिष्ठा स्वयम्ले भन्ने र भन्दै हिँड्ने कुरा पनि होइन, अरूका दृष्टिबाट हेरिने एक प्रकारको अदृश्य विश्वास हो, भरोसा हो एकखाले ढुक्कको अवस्था हो । अब बैंक वित्तीय संस्थाहरूमा प्रतिष्ठा कसरी जोडिन्छ भन्ने कुरा पनि आउला, त्यो भनेको उसको कार्य, व्यवहार र कारोबारप्रतिकै आम विश्वास हो, उसको कामकारबाहीले दिने वा आर्जन गर्ने परिणाम हो । यो कमाउनका लागि वर्षौंको उसको कारोबार, व्यवहार र सेवाहरूको गुणस्तरले निर्धारण गर्ने गरेको हुन्छ । वित्तीय संस्थाहरूका हकमा यसले उसको दिगोपनाको समेत झल्को दिने हुँदा कालान्तरमा त्यो उसको एक खाले पेटेन्ट हुन्छ ।
नेपालका वित्तीय संस्थाहरू (बैंक वा अन्य खाले वित्तीय संस्थाहरू, जो निक्षेप संकलन गर्छन् ) मा अहिले एकाधिकारको अवस्थाभन्दा पनि केही सीमित प्रतिस्पर्धा भने छ । किनभने संख्यात्मक रूपमा र प्रकारका हिसाबले पनि धेरै र अनेक खाले संस्थाहरू भएपछि त्यहाँ प्रतिस्पर्धाकै अपेक्षा हुनु अन्यथा होइन । तथापि, नियमनकारी निकायहरूका नियमनका कारण यहाँका वित्तीय संस्थाहरू आफूखुशी भने कारोबार गर्न पाउँदैनन् । नियमनका कारण तिनको प्रतिस्पर्धाका क्षेत्र सीमित छन् । अब यस्तो अवस्थामा जुनसुकै संस्थाबाट सेवा लिए पनि त्यसमा खासै फरक त नपर्ला तर जब जब आफूले राखेको निक्षेपको फिर्ताको विषय आउँछ त्यो बेला भने निक्षेपकर्ताले हेर्ने मूल कुरा त्यस्ता संस्थाको प्रतिष्ठा नै हो । तर, यतापट्टि आम निक्ष्ोपकर्ताले आजसम्म पनि खासै ध्यान पुर्याउन सकेका छैनन्, देखिएनन् । सहकारी क्षेत्रका धेरैजसो संस्थाहरूमा राखिएको बचत बचतकर्ताले फिर्ता पाउन गर्नुपरेको हालको सकस र संघर्षलाई मात्र हेर्दा पनि वित्तीय संस्थाहरूको प्रतिष्ठाको महत्त्वबारे बुझ्न सजिलो हुन्छ । हुन त बैंकहरूमा राखिएको निक्षेप शतप्रतिशत सुरक्षित हुन्छ भन्ने यस लेखको आशय होइन तर संस्थाको प्रतिष्ठाले पनि केही काम गर्छ भन्ने अभीष्टसम्म हो । धेरै ब्याजको लोभले सहकारीमा राखिएका बचतको मूलधन नै कसरी फिर्ता ल्याउने चिन्ता अहिले दिनहुँजसो आम बचतकर्ताहरूमा देखिनुले पनि सहकारी प्रणालीकै प्रतिष्ठाको महत्त्वबारे आकलन गर्न सकिन्छ ।
मनोवैज्ञानिक रूपमा आम नागरिकबीच अझै पनि तुलनात्मक रूपले नेपालमा विकास बैंक र वित्त कम्पनीहरूले वाणिज्य बैंकको जस्तो प्रतिष्ठा कमाउन सकेका देखिँदैनन् । सामान्य रूपमा भन्दा यो भनेको प्रतिष्ठाकै जोखिम हो ।
नेपाल बंैकको स्थापना ( १९९४ साल) लाई आधार मान्दा नेपालमा बैंकहरूको संस्थागत इतिहास करीब ९ दशकको छ । यसबीच निक्षेप फिर्ताकै कुरा गर्दा पनि आजसम्म कुनै पनि बैंकहरू निक्षेप फिर्ता गर्न नसक्ने अवस्थाबाट गुज्रिएका छैनन् । हो, कहिलेकाँही कुनै विशेष राजनीतिक कालकाण्ड (जस्तो : प्रथम जनआन्दोलन २०४६ ताका) मा भने केही समय निक्षेपकर्ताहरू आत्तिएकै हुन् । तर, त्यो धेरै समय रहेन । केन्द्रीय बैंकका विश्वासका कारण निक्ष्ोप फिर्तामा खासै समस्या देखिएन पनि । उसैगरी कुनै बैंकका सञ्चालक र त्यहाँको व्यवस्थापनका कारण कुनै बेला नेपाल बंगलादेश बैंकलगायत अन्य केही वित्तीय संस्था (विकास बैंक र वित्त कम्पनी)मा पनि निक्षेप निकाल्नेहरूको भीड जटिल बनेकै हो । तर, त्यसको पनि समाधान भएकै हो । अहिले बंगलादेश बैंक अर्को (नबिल) मा गाभिइसकेको छ भने कतिपय समस्याग्रस्त वित्तीय संस्थाहरू पनि अन्य बैंक वित्तीय संस्थाहरूमा गाभिएका वा प्राप्तिमा गएका छन् । एक विकास बैंकको लिक्वीडेशनको विगतको अनुभव भने खासै राम्रो छैन ।
केन्द्रीय बैंकको निगरानीका कारण नेपालका वित्तीय संस्थाहरूमा आम निक्षेपकर्ताहरूको विश्वास छ भन्ने पक्षकै कुरा गर्ने हो भने विगत नौ दशकमा (केन्द्रीय बैंकको स्थापना भने २०१३ सालमा भएको हो) आफ्ना निक्षेप फिर्ता लिन बैंकहरूमा डिपोजिट रनको अवस्था त्यस्तो विकराल कहिल्यै नदेखिएबाट पनि उदाहरण दिन सकिन्छ । एकाध समय (प्रथम जनआन्दोलन ताका) र एकाध वित्तीय संस्थाहरूका सञ्चालन जोखिम बाहिरिँदा आम नागरिका ती संस्थाप्रति विश्वासको संकट उत्पन्न भएकै कारण केही वित्तीय संस्थाहरू समस्यामा परेका हुन् । यसैले वित्तीय संस्थाहरू भनेका जहिल्यै विश्वासको कारोबार गर्ने संस्था भएकाले त्यसको जोगाडका लागि पनि प्रतिष्ठाको महत्त्वपूर्ण भूमिका रहिरहन्छ । विश्वास भन्ने कुरा प्रतिष्ठासित गाँसिएर आउने विषय भएकाले यसलाई पैसामा पनि विभाजित गर्न मिल्दैन । प्रतिष्ठालाई मूल्यमा निर्धारण गर्न मिलोईन । तथापि कुनै वित्तीय संस्थाले आर्को संस्थालाई प्राप्ति गर्दा वा भने त्यहाँ यस्तो प्रतिष्ठ याने कि गुडविललाई मूल्यमा राखेर वासलातमा सम्पत्तिको रूपमा देखाउने अन्तरराष्ट्रिय अभ्यास पनि छ । तर, यस्तो सम्पत्तिको पुनर्मूल्यांकन भने हरेक वर्ष गर्नुपर्ने अभ्यास पनि हुन्छ ।
खासगरेर, कुनै वित्तीय संस्थाले राष्ट्रिय वा अन्तरराष्ट्रिय स्तरमा कुनै ख्याति प्राप्त गरेको छ र त्यसलाई रेटिङ एजेन्सीहरूले समेत एक खाले उच्चता दिएका छन् भने तिनको नाम नै एक प्रकारको ख्याति हुनेगर्छ । त्यस्तोमा तिनले आफ्नो ख्यातिलाई मूल्यमा मापन गर्ने गरेका हुन्छन् । कथम् तिनले आफ्ना लगानी बाह्य देशहरूमा लैजानुपर्दाका अवस्थामा त्यस्तो ख्यातिलाई समेत समायोजन गर्ने गरेका हुन्छन् ।
ख्यातिकै कुरा गर्दा उदाहरणका लागि केही विषयलाई लिन सकिन्छ । अधिकांश नेपाली बैंकहरूले जारी गरेका डेबिट क्रेडिट कार्डलाई हत्तपत्त बाहिरी देशहरूमा कारोबारका लागि स्वीकारेको पाइँदैन । कतिपय बैंकहरूले जारी गरेका कार्डमा नेपाल र भारतमा मात्र मान्य भनेर लेखिएका देखिन्छन् । यसैले तेस्रो मुलकमा जानेहरूले स्ट्यान्डर्ड चार्टर्ड बैंककै कार्ड बोकेर जाने गरेको त धेरैलाई जानकारी भएकै कुरा हो । अब यहाँनेर प्रश्न उठ्छ किन नेपाली अन्य बैंकहरूका कारोबारलाई बाहिरी जगत्ले हत्तपत्त स्वीकार्दैनन् ? किन तिनको प्रतीतपत्र कारोबारहरूलाई स्ट्याण्डर्ड चार्टर्डकै जस्तो रूपमा हेरिँदैन ? यो भनेकै एक प्रकारको प्रतिष्ठा हो । हुन त नेपालका बैंकहरू पनि नौ दशक पुराना छन् । तर, तिनका कारोबारमा जहिल्यै प्रतिष्ठाको कुरा उठिरहेकै देखिएको हुँदा प्रतिष्ठा आर्जनका लागि तिनले अझै धेरैथोकमा ध्यान पुर्याउनुपर्ने देखिएको छ ।
प्रतिष्ठाको जोखिमले निम्त्याउने खतरा आँकडागत हिनामिनाभन्दा धेरै गुणा अधिक हुन्छ र त्यसले वर्षौंसम्म पनि पच्छ्याई नै रहन्छ । यो जोखिम कुनै कर्जाको जोखिमजस्तो मात्र होइन, एक खाले सार्वभौम जोखिमजस्तै हो । त्यसैले जबजब प्रतिष्ठाका जोखिमको प्रश्न आउँछ त्यहाँ त्यहाँ नियमनकारीहरू पनि आफ्ना स्थानमा जहिल्यै सतर्क रहनुपर्ने हुन्छ ।
कुनै बेला नेपालको एक बैंकको लकरमा पेस्तोल राखिएको कुराले निकै सनसनी फैलाएकै हो । उसैगरी एक विकास बैंकले नक्कली सुनका गहना ग्राहकलाई फिर्ता गरेर सक्कलीचाहिँ गायब गरिएको घटना पनि बाहिर आएकै हो । कुनै बेला सटही काउण्टरमा बस्नेहरूले ग्राहकका पैसा ठगीदिएका घटनाहरू पनि सुनिएकै हुन् । अझै पनि त्यस्ता घटनाहरू नभएका नहोलान् भन्न सकिँदैन, कतिपय विषय नियमनकारीहरूले थाहा पाउँदैनन् । अहिले पनि गरीब र विपन्न वर्गसित मात्र वित्तीय कारोबार गर्ने लघुवित्तीय संस्थाहरूले नक्कली ग्राहकका नाममा करौडौं गायब गरेका घटनाहरू बाहिर आउन थालेका छन् । यसले ती संस्थाको कारोबारमै पनि शंका उत्पन्न गराएको छ । बैंककै कर्मचारीहरूले कारोबार नगरिएका बैंक खाताहरूबाट ग्राहकका रकमहरू झिकेका समाचारहरू पनि बेलाबखत आउने गर्छन् । उल्लिखित यस्ता घटना सामान्य होइनन् । ती वित्तीय संस्थाको प्रतिष्ठासितै जोडिएका विषय हुन् । राम्रो कामको मान्यता पाउन समय लाग्छ तर नराम्रो कामले विस्तार पाउन समय कुरिरहँदैन । यसैले बैंक वित्तीय संस्थाहरू चाहे ती बैंकहरू होऊन्, चाहे ती लघुवित्तीय संस्थाहरू नै किन नहोऊन् तिनका कारोबारले प्रतिष्ठा कमाउने काम गर्नुपर्छ, गुमाउने होइन । मनोवैज्ञानिक रूपमा आम नागरिकबीच अझै पनि तुलनात्मक रूपले नेपालमा विकास बैंक र वित्त कम्पनीहरूले वाणिज्य बैंकको जस्तो प्रतिष्ठा कमाउन सकेका देखिँदैनन् । सामान्य रूपमा भन्दा यो भनेको प्रतिष्ठाकै जोखिम हो ।
यसैका लागि हो वित्तीय संस्थाको निगरानी गरेर बस्ने नियमनकारी निकायहरूको बलियो, स्वच्छ, पारदर्शी र जिम्मेवारीपूर्वकको तटस्थताको उपस्थिति आवश्यक हुन्छ भन्ने कुरा । यहाँनेर, नियमनकारी निकायहरू चाहिँ सबै र सधैं दूधले नुहाइएका हुन्छन् भन्ने अर्थ पक्कै होइन । उदाहरणका लागि केही वर्षपहिले धितोपत्र बजारको नियमनकारी निकायहरू सेबोन र नेप्सेका मूल अधिकारीहरू नै कुनै सूचीकृत कम्पनीको शेयरको भित्री कारोबारमा संलग्न भेटिएको परिघटना हामीबीच ताजै छ । बैंक वित्तीय संस्थाहरूको प्रतिष्ठाको जोखिम र पूँजीबजारको जोखिमका आयतन एउटै नहोलान् तथापि ती दुवैका यस्ता जोखिमले पुर्याउने संस्थागत, प्रणालीगत जोखिमको बेलैमा आकलन गर्न सकिएन भने त्यसले संस्थालाई नै धराशयी बनाउने डर भने रहिरहन्छ । प्रतिष्ठाको जोखिमले निम्त्याउने खतरा आँकडागत हिनामिनाभन्दा धेरै गुणा अधिक हुन्छ र त्यसले वर्षौंसम्म पनि पच्छ्याई नै रहन्छ । यो जोखिम कुनै कर्जाको जोखिमजस्तो मात्र होइन, एक खाले सार्वभौम जोखिमजस्तै हो । त्यसैले जबजब प्रतिष्ठाका जोखिमको प्रश्न आउँछ त्यहाँ त्यहाँ नियमनकारीहरू पनि आफ्ना स्थानमा जहिल्यै सतर्क रहनु पर्ने सन्देश माथि उल्लिखित परिघटनाहरूले दिएका छन् ।
प्रधान नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् ।