नेपालले अबदेखि हुने सबै व्यापारिक सन्धिलाई ‘अल्माटी प्रोग्राम अफ एक्शन’ (एपीए) अनुसार अगाडि बढाउने भएको छ । एपीएले दिएको व्यापार सहजीकरणको सुविधाबाट जतिसक्दो बढी फाइदा लिएर व्यापारघाटा कम गर्न सकिने वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव ङइन्द्रप्रसाद उपाध्यायले अभियानलाई बताए । एपीएले भूपरिवेष्टित तथा विकासोन्मुख देशको व्यापार सहजीकरणका लागि आवश्यक वातावरण सृजना तथा समस्या समाधानका लागि पहल गर्छ । काजकिस्तानको अल्माटीमा २००० मा आयोजित सहस्राब्दी घोषणा कार्यक्रमलाई ‘अल्माटी प्रोग्राम अफ एक्शन’ नाम दिइएको हो ।
‘संयुक्त राष्ट्रसंघले सन् २००० मा गरेको घोषणामा समेटिएको ‘अल्माटी प्रोग्राम अफ एक्शन’को प्रभावकारी कार्यान्वयन गर्न सकेमा मात्र नेपालले व्यापार सहजीकरणको प्रयासमा सफलता पाउँछ,’ उपाध्यायले भने, ‘भर्खरै सक्रिय बनाइएको उच्चस्तरीय व्यापार सहजीकरण समितिमार्फत यो सुविधालाई प्रभावकारी बनाउने कार्य भइरहेको छ ।’ गत महीनादेखि वाणिज्य सचिवको नेतृत्वमा उच्चस्तरीय व्यापार सहजीकरण समितिलाई पुन: सक्रिय बनाइएको हो ।
सहजीकरणको क्षेत्रमा सुधारात्मक कार्य अघि बढाउन एपीएले दिएको सुविधाको भरपुर उपयोग गर्नुपर्ने फ्रेट फरवार्डस एशोसिएशन अफ नेपाल (नेफा) का अध्यक्ष राजन शर्मा बताउँछन् । ‘हामीले पाएको सुविधालाई पनि उपयोग गर्न सकेका छैनौं,’ उनले भने, ‘खासगरी दक्षिण एशियाका तीन मुलुकले यो सुविधा लिन सहकार्य गर्न आवश्यक देखिन्छ ।’
वर्ष ८, अंक १३३, बुधवार, १७ माघ, २०६९