कामदारको रूपमा सन् २००५ मा युनाइटेड अरब इमिरेट्स (युएर्ई)मा आएका विकास शाही अहिले युएर्ईमै रेष्टुरेन्ट र ट्राभल व्यवसाय चलाइरहेका छन् । उनी गैरआवासीय नेपाली संघ (एनआरएनए), युएर्ईको अध्यक्ष पनि हुन् । आर्थिक अभियानका प्रधान सम्पादक मदन लम्साल ले हालै युएईमै शाहीसँग त्यहाँ नेपालीहरूको अवस्था, उनीहरूको समस्या र गैरआवासीय नेपाली संघ, युएर्ईले गर्दै गरेको काम लगायत विषयमा कुराकानी गरेका छन् । प्रस्तुत छ, सोही अन्तरवार्ताको सम्पादित अंश :
- रेमिट्यान्समा वैधानिक माध्यमको प्रयोग बढाउन सरकारले प्रोत्साहन गर्नुपर्छ ।
- पैसा हुने साथीभाइहरू नेपाल जानुपर्छ भन्ने एक किसिमको माइन्डसेट छ ।
- अस्थिरताको कारण लगानी गर्न आँट गर्नुभएको छैन ।
- हामीले श्रमिकमैत्री एनआरएनए बनाउन खोजेका छौं ।
युएर्ईमा नेपालीहरूको अवस्था कस्तो छ ?
सरकारी तथ्यांकमा अहिले युएर्ईमा रहेका हामी नेपालीहरू ५ लाख हाराहारीमा छौं । पर्यटक भिसामा पनि आउने भएकाले करीब ७ लाख नेपाली यहाँ रहेको अनुमान छ । यही गतिमा नेपालीहरू आउने क्रम बढ्ने हो भने अबको एक वर्षमा १० लाख पुग्छौं ।
युएर्ई आएका ८० प्रतिशत नेपालीहरू ‘ब्लु कलर जब’मा छन् । एक हजारको हाराहारीमा नेपालीहरू आफै व्यवसाय गरिरहनु भएको छ । कतिपय नेपाली व्यवसायमा मात्र केन्द्रित हुने र एनआरएन समुदायमा नदेखिने भएकाले तथ्यांक छैन ।
कामदारका रूपमा आएका व्यक्तिले यहाँ कमाएर व्यवसाय गरेको देखिन्छ । केही नेपाली कम्पनीको उच्च तहसम्म पनि पुग्नुभएको छ । विगतमा नेपालीलाई शीप नभएको अदक्ष कामदारका रूपमा मात्र हेर्ने प्रवृत्ति रहेकोमा अहिले विस्तारै परिवर्तन भई नेपाली पनि क्षमतावान् छन् भन्ने दृष्टिकोण बढिरहेको छ ।
युएईमा नेपाली–नेपालीबीच र अन्य देशका नागरिकसँगको सम्बन्ध कस्तो छ ?
समग्रमा राम्रो छ । यहाँ कानून पालना नगरे कारबाहीमा परिन्छ । यहाँ धेरै भारतीय, पाकिस्तानी, फिलिपिनोहरू छन् । हामी पनि संख्याको हिसाबले ‘टप टेन’मा पर्छौं । एक करोड ३० लाख जनसंख्या भएको देशमा १५ लाख यहाँका स्थानीय होलान्, बाँकी ८५ प्रतिशत १०२ देशका मानिस छन् । विदेशीसँगको हकमा नेपालीले सम्बन्ध बनाउन नसकेको हो कि जस्तो देखिन्छ ।
युएईसँगको व्यापारमा नेपालले कसरी लाभ लिन सक्छ ?
हाम्रा उत्पादनको विश्व बजारमा माग राम्रो भए पनि हाम्रो देश समुद्रले नछोएको भएकाले ढुवानीका कारण लागत महँगो पर्छ । त्यसैले युएईमा हाम्रो अग्र्यानिक उत्पादन लैजान सके लाभ लिन सकिन्छ । मह, घिउ, यार्सागुम्बाजस्ता धेरै वस्तुहरू छन्, ती चिजहरू बेच्न सके राम्रो लाभ लिन सकिन्छ । नेपालमा निर्यात हुने वस्तुहरू धेरै छन् ।
खाडी राष्ट्रहरूमध्ये युएई कामदारहरूका लागि कस्तो छ ?
ब्लु कलरको जागीरबाहेक यहाँ नेपाली दक्ष कामदार पनि धेरै छन् । सिएहरूको एउटा ग्रुप छ, त्यसमा ३५० जना साथीभाइ जोडिनु भएको छ । प्रोफेशनल सिए ७० जनाको हाराहारीमा छन् । डाक्टर, नर्स पनि छन् । अरू देशको तुलनामा युएईको नियम एकदमै राम्रो छ । नियममा बसेमा कुनै समस्या छैन । युएर्ई संसारकै रोजगारीका लागि आकर्षक स्थान हो । यहाँ आफ्नो खुबी अनुसारको जस्तो किसिमको जागीर पनि पाउन सकिन्छ ।
तर, युएईको ‘कष्ट अफ लिभिङ’ बढी भएकाले धेरै नेपालीहरू घर फर्किन पाए हुन्थ्यो भन्ने पाइन्छ, वास्तविकता के हो ?
पछिल्लो समयमा यहाँ आम्दानीको तुलनामा खर्च बढेको छ । सन् २००५ मा साथीहरूसँग खाना खान पैसा उठाउँदा ७०–८० दिराम पथ्र्यो । अहिले बढेर त्यो ४/५ सय पुगेको छ । मूल्य ४–५ गुणा बढेको देखिन्छ । तलब त्यसअनुसार बढेको छैन । महँगी बढेको छ । अहिले प्रतिस्पर्धात्मक अवस्था छ । प्रतिस्पर्धा भएपछि मानिसले कामदारका लागि किन धेरै खर्च गर्छ ? तर सामान्य कामदारको रूपमा आएका नेपाली ठूलो कम्पनीका म्यानेजर हुनुभएको छ । नेपाली रुपैयाँमा कुरा गर्दा १० लाखभन्दा बढी तलब खानेको संख्या पनि धेरै छ ।
तपाईं एनआरएनए, युएईको अध्यक्ष हुनुहुन्छ । संस्थामार्फत यहाँहरूका योजना के के छन् ?
एनआरएनए विश्वव्यापी रूपमा फैलिएको छ । मध्यपूर्वको हकमा सरकारले नै २ वर्षभन्दा बढी बसेको व्यक्तिलाई एनआरएन भनेको छ । युरोप, अमेरिकाभन्दा मध्यपूर्वको अवस्था फरक छ । हामीले श्रमिकमैत्री एनआरएनए बनाउन खोजेका छौं । दु:खमा परेका नेपालीलाई सहयोग गर्ने, श्रमिक क्याम्पमा गएर सहयोग गर्ने, यहाँको ज्ञान, शीप देशमा लगेर कसरी काम गर्न सकिन्छ भन्ने विषयमा हामी केन्द्रित छौं । हामीले देशकै चिन्ता गरिरहेका हुन्छौं । देशमा फर्केर के गर्न सकिन्छ भन्ने सोच हुन्छ । किनकि यहाँ धेरै अवधिको भिसा पाउने भनेको १० वर्षे गोल्डेन भिसा मात्र हो । हामीले डायस्पोरामा व्यापार व्यवसाय गरिरहेका मानिसलाई पनि समेट्ने प्रयास गरिरहेका छौं । सबै मिलेर सामूहिक लगानीमा जोड दिएका छौं । नेपालको कला, संस्कृति प्रवर्द्धनका लागि पनि काम गरेका छौं ।
नेपाली कामदारका समस्या के के छन् ?
युएर्ई श्रमिकका लागि आकर्षक देश हो । यहाँ आउन रुचाउँछन् । तर यहाँ प्रतिस्पर्धा पनि धेरै छ । खाडीका कुनै पनि देशमा पर्यटक भिसामा आएर कामदार भिसामा परिवर्तन गर्न पाइँदैन । तर यहाँ त्यो सुविधा छ । त्यसैले यहाँका कम्पनीका लागि दक्ष कामदार खोज्न बाहिर जानुपर्दैन । पर्यटकबाट कामदार लिन सक्छन् । अहिले नेपालबाट पर्यटक भिसामा आउने एक सयमध्ये ९५ जना कामकै लागि आउने हो । श्रम नवीकरण अटोमेटिक बनाउन जरुरी छ ।
नेपालबाट कामदार माग गर्ने त ठूलो संख्यामा कामदार चाहिने, अरूलाई कामदार सप्लाई गर्ने र भर्खरै स्थापना भएका कम्पनी मात्र हुन् । सप्लाई कम्पनीले कामदार ल्याएर अरूलाई दिने हो । अरूले पैसा दिएपछि मात्र मात्र उसले तलब दिने हो । त्यसैले सप्लाई कम्पनीमा काम गर्नेहरू धेरै मर्कामा परेको हामीले देखेका छौं ।
श्रमिकले पनि बुझ्नुपर्ने कुरा, समस्यामा पर्दा यहाँको दूतावास, एनआरएनएलगायत संघसंस्थासँग बुझेर मात्र अघि बढ्नुपर्ने हो । तर काम चित्त नबुझ्नेबित्तिकै कम्पनी छोडेर भाग्ने जस्ता समस्या धेरै छन् ।
सम्भौताअनुसार काम नपाउने, तलब नपाउने जस्ता समस्या के छन् ?
बढी समस्या बीमासम्बन्धी हुने गरेका छन् । बीमा गरेमा स्वास्थ्य समस्या हुँदा त्यसबाटै कभर हुन्छ । प्राय: कम्पनीहरूले यो बीमा गरेका हुन्छन् । तर यहाँ प्रचलित ‘वर्कमेन्स कम्पेनसेशन’ र ग्रुप लाइफ इन्स्योरेन्स नहुँदा समस्या हुने गरेको छ । वर्कमेन्स कम्पनसेशनले काम गर्ने क्रममा दुर्घटनामा परेको अवस्थामा क्षतिपूर्ति प्राप्त हुन्छ । ग्रुप लाइफ इस्योरेन्स मृत्यु भएमा क्षतिपूर्ति प्राप्त हुन्छ । प्राय: साना कम्पनीले एउटा मात्र बीमा गरेको पाएको छु ।
तर यहाँको नियम राम्रो छ । अस्पताल भर्ना भएपछि सरकारी अस्पतालले उपचार गर्नैपर्छ । अस्पतालमा पुगेपछि पैसा नभएर उपचारको अभावमा मर्नुपर्दैन । अहिले पनि सरकारी अस्पतालमा गम्भीर अवस्थाका नेपाली बिरामी केही संख्यामा छन् ।
एनआरएनए युएई ले श्रमिकका समस्याबाहेक के केमा काम गर्दैछ ?
सन् २०२३ मा म अध्यक्ष भएपछि धेरै काम भएका छन् । श्रमिकको समस्या सम्बोधन गर्नेदेखि यहाँ हाम्रो कला, संस्कृति प्रवर्द्धनको काम भएका छन् । यसैगरी यहाँबाट लगानी लैजाने विषयमा पनि हामीले भूमिका निर्वाह गरेका छौं । भर्खरै सकिएको लगानी सम्मेलनमा पनि आफै नेपाल गएर सम्झौता गरेको थिएँ ।
नेपालको काम त्यति छिटो अगाडि बढाउन नसक्ने समस्याका कारण सर्वसाधारणले त्यति विश्वास नै गर्दैनन् । त्यसबेलाका ऊर्जामन्त्री शक्ति बस्नेतको रोहवरमा घुम्सीखोला हाइड्रोपावरमा खाडीमा बस्ने नेपालीले लगानी गर्ने भनेर म आफैले हस्ताक्षर गरेको छु । यसको काम अगाडि बढ्दै छ । नेपालमा कसरी लगानी गर्न सकिन्छ, नेपाललाई कसरी चिनाउन सकिन्छ र पर्यटनलाई कसरी प्रवर्द्धन गर्न सकिन्छ भनेर काम गरिरहेका छौं ।
कामदारका रूपमा युएई प्रवेश गर्नुभएको तपाईं कसरी व्यवसायी बन्नुभयो ?
म सन् २००५ मा ९५० दिराम तलबमा आएको थिएँ । ३२–३३ महीनापछि नयाँ कम्पनीमा जागीर खोजे । त्यो समयमा जागीर पाउन सजिलो थियो । मासिक २ लाख बराबर तलबमा जागीर खाएँ । २००९ पछि परिवारसहित यतै बस्न लागेको हुँ । श्रीमतीले पनि राम्रो कम्पनीमा काम पाइन् । दुईजना मिलेर काम गर्यौं । २०१५ तिर साथीहरू मिलेर रेस्टुरेष्ट शुरू गर्यौं । कोभिड महामारी सकिएपछि दुईओटा शाखा खोल्यौं । सामाजिक रूपमा सक्रिय भएकाले त्यो नेटवर्क काम लाग्छ भनेर ट्राभल क्षेत्रमा पनि लगानी गरेको छु ।
व्यवसायी बन्न मलाई कुनै क्षेत्रमा ज्ञान त थिएन तर मेहनत गरेमा सफल भइन्छ भन्ने लाग्छ । शुरूआती दिनमा गाह्रो पनि भयो, ५ लाखमा योजना बनाइएकोमा ७ लाख लगानी भयो । रेस्टुरेन्टको अनुभव थिएन, यहाँको नियम कानून बुझ्न पनि गाह्रो भयो । तर, यहाँको कानून र सिस्टम राम्रो छ । हरेक ठाउँमा लाइनमा बसेर सहजै सेवा लिन पाइन्छ । एकैदिनमा कम्पनी स्थापना हुन्छ । कसैसँग हारगुहार गर्नुपर्दैन ।
व्यवसायको हिसाबले युएईमा कुन कुन क्षेत्रमा अवसर छन् ?
यहाँ नेपालीहरू बढ्दै गएका छन् । सयको हाराहारीमा रेस्टुरेन्ट, ट्राभल एजेन्सी ५० खुलिसकेका छन् । हामीबीच एउटाले गरेको काम अर्कोले पनि गर्ने प्रवृत्ति छ । तर, यहाँ गर्न सक्नेलाई सबै क्षेत्रमा अवसर छ । नयाँ कुरा ल्याउनुभयो भने यो देशमा चलिहाल्छ । सूचना प्रविधिमा धेरै सम्भावना छन् ।
नेपालको आर्थिक विकासका लागि एनआरएनएको कुनै योजना छ कि ?
पैसा हुने साथीभाइहरू नेपाल जानुपर्छ भन्ने एक किसिमको माइन्डसेट छ । अस्थिरताको कारण लगानी गर्न आँट गर्नुभएको छैन । नेपालमा गाह्रो छ, सानो बजेट लिएर गएका साथीहरू बिचल्लीमा पर्नुभएको छ । यहाँको जस्तो सिस्टम छ भनेर जानुहुन्छ, त्यो नहुँदा सफल नभएको पाइन्छ ।
हाम्रो युवा उद्यमी भन्ने संस्था पनि छ, जसमा व्यवसायी युवाहरू जोडिनुभएको छ । त्यसको अध्यक्ष स्वतन्त्रप्रताप शाह छन् । अब नेपालमा पर्यटन बढ्छ, यसमा लगानी गर्नुपर्छ भन्ने योजना बनाएका छौं । तर, हाम्रो नेताहरू कहाँ छन्, कसले हामीलाई संरक्षण गर्न सक्छ, भोलि सरकार परिवर्तन हुँदा हाम्रो व्यवसाय चल्छ कि चल्दैन, त्यस्ता खालका साथीभाइलाई जोडौं न भन्ने अवस्था आएको छ । यहाँ गरौं न, त्यहाँ फलानो नेता छन्, अप्ठेरो पर्दा उनले सहयोग गर्नुहुन्छ भन्ने अवस्था छ । नत्र सीधासाधा हिसाबले नेपालमा व्यवसाय गर्न सकिने अवस्था छैन ।
नेपालको पर्यटन प्रवर्द्धन गर्न डायस्पोराले के गर्न सक्छ ?
पर्यटन प्रवर्द्धन गर्न संसारबाट एनआरएनए लागिरहेको छ । तर हाम्रा समस्याहरू छन् । यहाँ शुल्क पाँचतारेको तिर्दा पनि सेवा तीनतारेको पाइरहेका छौं । मुख्य समस्या भनेको यो हो । जस्तो युएर्ईमा एक सय डलरमा गाडी पाइन्छ भने नेपालमा सानो गाडीको भाडा पनि त्यस्तै छ । यो सबै बिचौलियाले खाने मार्जिन अत्यधिक भएकाले समस्या भएको हो ।
पर्यटकलाई विमानस्थलबाटै ठग्न शुरू हुन्छ । अहिले पर्यटकलाई राम्रो सेवा दिने हो भने खर्च गर्न धेरै छन् । हाम्रो अनुभवमा पर्यटन प्रवर्द्धन गर्न संस्था वा व्यक्ति लागेर काम पुग्दैन । सरकार नै लाग्नुपर्छ । सरकारले नै एक प्रकारले प्रवर्द्धन गर्न जरुरी छ । नेपाल बनाउने अर्थतन्त्रको खम्बा पनि पर्यटन हो । सेवा शुल्कका विषयमा सरकारले व्यवस्थित गर्नुपर्छ । त्यो भएमा म पोखराको मान्छे विदेशमा आएर दु:ख गर्नु पर्दैन । स्याउ सुन्तला बेचेरै पनि पुग्छ जस्तो लाग्छ ।
नेपालमा लगानी प्रवर्द्धनमा नेपाली दूतावासको भूमिका के हुन सक्छ ?
राजदूतका रूपमा तेजबहादुर क्षेत्री आएपछि हरेक क्षेत्रमा एकदमै राम्रो गर्ने प्रयास गर्दै छन् । दूतावास हाम्रा लागि सरकार पनि हो । उनले आफ्नो क्षमताले भ्याएसम्म गर्नुभएको छ । हाम्रो कला, संस्कृति र पर्यटन प्रवर्द्धनमा काम गरिरहनुभएको छ । लगानी भित्त्याउन पनि पहल गरिरहनुभएको छ । लगानी सम्मेलनको विषयमा लुल्लु ग्रुप अफ कम्पनीका प्रतिनिधि नै पठाएर नेपालमा लगानी गर्न प्रोत्साहित गरे । हाम्रो उत्पादन पनि यहाँ ल्याउन प्रयास गरिरहनुभएको छ । तर विभिन्न प्राविधिक समस्या र ढुवानीका कारण माग अनुसार नेपाली सामान निर्यात हुन सकेको छैन । यसमा उद्योग वाणिज्य महासंघले काम गर्नुपर्छ ।
महिला कामदारको समस्या के छन् ?
यहाँ अनुमानित ३५ प्रतिशत महिला दिदीबहिनी छन् । ७० प्रतिशत दिदीबहिनी घरेलु कामदारका रूपमा छन् । धेरै समस्या उहाँहरूले यहाँको नियम कानून नजानेको, नबुझेका कारण आएको छ । जस्तै, कुनै कम्पनीका मानिसले कामदारको इमिरेट आइडी प्रयोग गरी क्रेडिट कार्ड लिने र पछि कम्पनीबाट भाग्दा कामदार समस्यामा परेको पनि देखिएको छ । कानूनी रूपमा त सम्बन्धित व्यक्तिलाई नै पक्राउ गर्ने हो । स–सानो प्रलोभनमा परेर फसेको पनि पाइन्छ ।
नेपालीले सडक दुर्घटनामा ज्यान गुमाएका समाचार पनि धेरै आउँछ । स्थिति कस्तो छ ?
अहिले युएईमा महीनामा २५–३० जना नेपालीले ज्यान गुमाएको अवस्था छ, जसमा ८० प्रतिशत आफ्नो लापरबाहीका कारण भएको देखिन्छ । खानपिनमा ध्यान नदिएकाले स्वास्थ्यमा समस्या भई मृत्यु भएको घटना बढी छन् । अब युएईमा नेपाली दूतावासको कन्सुलर शाखा खोलेपछि समस्या केही समाधान होला ।
रेमिट्यान्सको कारोबारमा वैधानिक माध्यम प्रयोगको अवस्था कस्तो छ ?
रेमिट्यान्सका लागि ६० प्रतिशत वैधानिक र ४० प्रतिशत अवैधानिक माध्यम प्रयोग भएको छ । रेमिट्यान्समा वैधानिक माध्यमको प्रयोग बढाउन सरकारले प्रोत्साहन गर्नुपर्छ । बंगलादेशको सरकारले एक लाख रुपैयाँ पठाउँदा २ हजार दिन्छ । यस्तो स्कीम नेपालमा पनि आवश्यक छ । नेपालीहरूमा सरकारले हामीलाई के हेरेको छ र भन्ने दृष्टिकोण पाइन्छ । अहिले प्राथमिक शेयरमा १० प्रतिशत कोटा छुट्ट्याइएको छ । यसबारे तल्लो तहका कामदारलाई थाहा छैन । केहीले आइपिओ भरेका पनि छन् ।