किभ (युक्रेन) । युक्रेनका प्रधानमन्त्री डेनिस शमिहालले अमेरिकासँग खनिज पदार्थसम्बन्धी सम्झौता गर्ने सहमति भएको बताएका छन् ।
अमेरिकाले प्राकृतिक स्रोतबाट हुने सम्भावित राजस्वमा ५०० अर्ब अमेरिकी डलर पाउनुपर्ने शर्त छाडेपछि उक्त सहमति भएको बताइएको छ ।
युक्रेनी टिभीसँग कुरा गर्दै शमिहालले भने, 'स्थायी शान्ति स्थापनाका लागि आवश्यक सुरक्षा प्रत्याभूति प्राप्त गर्न युक्रेनको प्रयासलाई अमेरिकाले समर्थन गरिरहेको छ ।'
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी समकक्षी भोलोडिमिर जेलेन्स्कीले यसै साता वासिङ्टनमा उक्त सम्झौतामा हस्ताक्षर गर्ने अपेक्षा गरेको बताएका छन् ।
सहमति भएको पुष्टि नगरी ट्रम्पले मंगलवार उक्त सम्झौताको बदलामा युक्रेनले 'लड्ने अधिकार' पाउने बताएका थिए ।
'उनीहरू निकै साहसी छन्,' उनले पत्रकारहरुसँग भने, 'तर संयुक्त राज्य अमेरिका, उसको पैसा र उसको सैन्य उपकरण बिना यो युद्ध निकै छोटो समयमा नै समाप्त हुने थियो ।'
युक्रेनलाई अमेरिकी उपकरण र गोलाबारुदको आपूर्ति जारी रहने छ कि छैन भन्ने प्रश्नमा उनले भने, 'सम्भवतः रुससँग सम्झौता नभएसम्म... हामीले सम्झौता गर्न आवश्यक छ, अन्यथा यो जारी रहनेछ।'
ट्रम्पले कुनै पनि शान्ति सम्झौतापछि युक्रेनमा 'कुनै न कुनै प्रकारको शान्ति स्थापना' को आवश्यकता पर्ने तर त्यो 'सबैका लागि स्वीकार्य' हुनुपर्ने बताए ।
युक्रेनमा लिथियम र टाइटेनियम, साथै ठूलो कोइला, ग्याँस, तेल र युरेनियम भण्डार सहित महत्वपूर्ण तत्वहरू र खनिजहरूको भण्डार छ ।
शमिहालका अनुसार प्रारम्भिक सहमतिमा युक्रेनको पुनर्निर्माणका लागि 'लगानी कोष' स्थापना गर्ने उल्लेख छ । कीभ र वासिङ्टनले समान शर्तमा कोषको व्यवस्थापन गर्ने पनि उनले बताए ।
यो सम्झौताले कीभ र यसको सबैभन्दा ठूलो सहयोगीबीच थप सहयोगको लागि मार्ग प्रशस्त गर्ने आशा गरिएको छ।
गत हप्ता मात्र ट्रम्पले जेलेन्स्कीलाई 'तानाशाह' को संज्ञा दिएका थिए । युक्रेनी नेताले ५०० अर्ब अमेरिकी डलरको खनिज सम्पत्तिको अमेरिकी मागलाई अस्वीकार गरेपछि अमेरिकी राष्ट्रपति ट्रम्पले रुस-युक्रेन युद्ध हुनुमा युक्रेनलाई दोष दिएका थिए ।
जेलेन्स्कीले यति धेरै अमेरिकी सहयोग उपलब्ध नगराइएको तर्क गर्दै भने, 'म हाम्रो राज्यलाई बेच्न सक्दिनँ ।'
अमेरिकाले युक्रेनलाई ३०० अर्बदेखि ३५० अर्ब डलरसम्म दिएको ट्रम्पले मंगलवार बताएका थिए । 'हामी त्यो पैसा फिर्ता लिन चाहन्छौं,' उनले भने।
युक्रेन त शुरुआत मात्र हो । ट्रम्प र उनको विदेश नीति टोलीले आगामी चार वर्षमा आफ्नो 'अमेरिका फर्स्ट' सिद्धान्तलाई विश्वभर लागू गर्ने अपेक्षा गरिएको छ ।
जेलेन्स्कीले गत वर्ष पश्चिमा साझेदारहरूलाई ‘विजय योजना’ प्रस्तुत गर्दा देशको केही खनिज सम्पत्तिमा पहुँचको सम्भावना उठाएका थिए।
मंगलवार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको कब्जामा रहेको युक्रेनलगायत दुर्लभ खनिजपदार्थमा अमेरिकालाई पहुँच प्रदान गर्न आफू तयार रहेको र आफ्नो देशसँग 'युक्रेनभन्दा यस प्रकारका धेरै स्रोत साधन' रहेको बताएका थिए ।
युक्रेन र उसका युरोपेली मित्रराष्ट्रहरू गत साता साउदी अरेबियामा भएको द्विपक्षीय वार्तालगायत अमेरिका र रुसबीचको सम्बन्धमा आएको चिसोपनलाई लिएर चिन्तित बनेका छन् ।
युद्धविराममा हस्ताक्षर भएपछि यो युद्ध फेरि बल्झियो भने ह्वाइट हाउसलाई युक्रेनको रक्षा गर्ने कारण दिन सक्ने किभको आशा छ । बीबीसी