काठमाडौं । टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) बन्द गर्न सहमत भएको दाबी गरेका छन् ।
समाचार संस्था एपीका अनुसार मस्कले एक्स स्पेसेसको लाइभ सेसनमा उक्त टिप्पणी गरेका हुन् ।
ट्रम्पसँग यूएसएआईडीबारे विस्तृत छलफल गरेको दाबी गर्दै मस्कले भने, ‘यसलाई बन्द गर्नुपर्छ भन्नेमा उहाँ सहमत हुनुहुन्छ ।’
डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसियन्सी (डीओजीई)का प्रमुख मस्कले एक्समा एक पोस्टको जवाफमा भने, ‘यूएसएआईडी एक आपराधिक संगठन हो । यो बन्द हुने समय आयो ।’
ट्रम्प प्रशासनले गत हप्ता इजरायल र इजिप्टलाई दिइने सैन्य सहायताबाहेक सबै नयाँ वैदेशिक सहायता रोक्का गरेको छ । यो निर्णयले नेपालसहित विश्वभरका युएसएआईडीको सहयोगमा सञ्चालित सबै परियोजना तीन महीनाका लागि स्थगन गरिएको छ ।
सन् २०२२ मे ५ मा सम्पन्न विकास उद्देश्य सम्झौता (डीओएजी) अन्तर्गतका चार परियोजना ९० दिनका लागि स्थगन गरिएको यूएसएआईडीले नेपाल सरकारलाई जानकारी गराएको छ ।
यसमा यूएसएआईडी हेल्थ डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट, यूएसएआईडी एग्रीकल्चर डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट, युएसएआईडी एजुकेशन डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट र यूएसएआईडी इन्क्लुसिभ पोलिसी डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट रहेका छन् ।
नेपालको अर्थ मन्त्रालयले जनवरी २६ मा जारी गरेको विज्ञप्तिमा यी परियोजनाअन्तर्गत कुनै पनि दायित्व सिर्जना नगर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिइएको छ ।
जनवरी २० मा पदभार ग्रहण गरेको केही समयपछि राष्ट्रपति ट्रम्पले अमेरिकी विदेश नीतिसँगको सम्बन्धलाई पुनः मूल्यांकन गर्न विदेशी सहायतामा ९० दिनको रोक लगाउने आदेश दिएका थिए । जनवरी २४ मा अमेरिकी विदेश मन्त्रालयले आपतकालीन खाद्य कार्यक्रमका लागि बाहेक विश्वव्यापी रूपमा वैदेशिक सहायतामा ‘स्टप–वर्क’ आदेश जारी गरेको थियो ।
सन् २०२३ मा विश्वका १८० भन्दा बढी देशमा ७२ अर्ब अमेरिकी डलर बराबरको वैदेशिक सहायता वितरण गर्ने मुलुक अमेरिका हो । यसमध्ये आधाभन्दा बढी युएसएआइडीमार्फत फनेल गरिएको अल जजिराले जनाएको छ ।
ट्रम्पले युएसएआईडीको आलोचना गर्दै यसलाई ‘कट्टरपन्थी पागलहरूको झुण्डले चलाएको’ बताएका छन् । उनले युएसएआईडीलाई विदेश मन्त्रालयअन्तर्गत राख्ने बारे पनि विचार गरिरहेको बताइएको छ ।
डेमोक्र्याटहरूले ट्रम्प र मस्कको यूएसएआईडीबारेको टिप्पणीको कडा आलोचना गरेका छन् ।