इकोनोमिक रिपोर्टर्स एशोसिएशन, नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको अर्थ संवाद समिति र नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगञ्जले बुधवार वीरगञ्जमा आयोजना गरेको ‘आर्थिक विकासमा जनशक्ति व्यवस्थापनको सवाल’ विषयक अन्तरक्रियाका सहभागीहरूले समृद्धिको लक्ष्यमा पुग्न जनशक्ति पलायन मुख्य चुनौतीका रूपमा रहेको बताए । रोजगारी र अध्ययनका नाममा दैनिक सयौं युवा विदेशमा पुगिरहेकाले तिनलाई स्वदेशमै आयको अवसर दिनुपर्ने कार्यक्रममा वक्ताले बताए । नियम कानूनले बाँधेर युवा पलायन रोक्न नसकिने भएकाले युवालाई स्वदेशमै बसेर विदेशमा जत्तिको आम्दानी गर्न सकिन्छ भन्ने कुरामा आश्वस्त पार्न आवश्यक रहेको वक्ताहरूको भनाइ थियो । तर, नेपालभन्दा बढी विकसित र बढी आमदानी गर्न सकिने देशबाट समेत ठूलो संख्यामा युवा पलायन भइरहेको छ । त्यसैले युवा पलायन हुनुको कारण जे स्थापित गरिएको छ त्यो एकांगी हो भन्ने देखिन्छ । अर्को, युवा पलायनबाट लाभ लिन सकिने पक्षमा समेत बहस गर्नु आवश्यक देखिन्छ ।
विश्वभरि नै अवसरको खोजीमा मानिशहरू एक ठाउँबाट अर्को ठाउँमा जाने प्रवृत्ति पाइन्छ । आधुनिक युगमा मात्र होइन, आदिम युगमा समेत यस्तो प्रवृत्ति रहेको देखिन्छ । त्यसैले युवा पलायनलाई आन्तरिक कारणसँग मात्र जोडेर हेर्नु अपर्याप्त हुन्छ । खुला बजार अर्थतन्त्र र विश्व बजारमा पूँजी, प्रविधि तथा जनशक्तिको सीमाविहीन आवतजावतका कारण जनशक्तिको आवतजावत पनि स्वाभाविक भएको छ । यसले गर्दा रोजगारीको पर्याप्त अवसर भएका र श्रम ज्याला उच्च भएका विकसित देशका युवाहरूसमेत आफ्नो व्यक्तिगत छनोटअनुसार काम गर्न वा विदेशमा बसोवास गर्न जाने गरेको पाइन्छ । संयुक्त राष्ट्रसंघको आर्थिक, सामाजिक तथा सांस्कृतिक मामिला विभागको तथ्यांकअनुसार युवा बसाइँसराइको संख्या ४५ प्रतिशतले बढेको छ ।
सन् १९९० र सन् २०१९ बीचमा ५ दशमलव ३ बाट ७ दशमलव ७ अर्ब पुगेको छ जसमा १५ देखि २९ वर्ष उमेर समूहका मानिसको संख्या २५ प्रतिशतले बढेर १ दशमलव ४ बाट १ दशमलव ८ अर्ब पुगेको छ । यसै अवधिमा अन्तरराष्ट्रिय बसाइँसराइको दर पनि लगभग ७८ प्रतिशतले वृद्धि भएको छ । कुल बसाइँसराइको संख्यामा १५ देखि ४४ वर्षसम्मका युवाको अंश ५५ प्रतिशत छ । नेपालमा सन् २०२३ मा ८ लाख ८ हजारभन्दा बढी युवा रोजगारीका लागि विदेशमा गएको देखिन्छ । त्यस्तै पर्यटनका लागि २ लाख ४ हजारभन्दा बढी, परिवार भेटघाटका लागि १ लाख ६७ हजारभन्दा बढी विदेश गएको देखिन्छ । सबै शीर्षकमा गरेर १६ लाख नेपाली विदेश गएको देखिन्छ भने उतै स्थायी बसोवासका लागि जानेको संख्या ७० हजारभन्दा केही बढी रहेको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार रहेको छ । यसअनुसार बसाइँसराइ गरेर जाने नेपालीको संख्या निकै कम छ । तर, अध्ययनका लागि अमेरिका, क्यानडा र अस्ट्रेलिया जाने नेपालीहरू नेपाल फर्कने सम्भावना कम भएकाले त्यो संख्या जोड्दा पनि ठूलो संख्या बसाइँसराइ त्यति ठूलो समस्या देखिन्न । अध्ययनका लागि १ लाखभन्दा बढी युवा विदेशिएका छन् । रोजगारीका लागि विदेशिने युवाहरू प्राय: सबै नै फर्कने अनुमान गर्न सकिन्छ । रोजगारीका लागि जाने युवाको संख्या ८ लाखभन्दा बढी छ । पछिल्लो समय यसरी विदेश जानेको संख्या बढिरहेकाले चिन्ता र चासो प्रकट गर्न थालिएको छ । तर, ती किन गए र तिनलाई कसरी रोक्न सकिन्छ भन्नेमा ठोस अध्ययन भने भएको छैन ।
युवा पलायनका कारण मुलुकभित्र कामदारको अभाव हुन थालेको छ । यो कामदारको अभाव स्वदेशी जनशक्तिबाट नै पूरा गर्नु आवश्यक भए पनि नेपाली कामदारभन्दा सस्तोमा विदेशी कामदार पाइन्छ भने त्यसतर्फ पनि सोच्ने बेला आइसकेको छ । नेपाली श्रम महँगोमा विदेश निर्यात गर्ने र सस्तो श्रम आयात गर्ने गर्न पनि नसकिने होइन । तर, मुलुकमा जन्मिएका नागरिकलाई युवा बनाउन थुप्रै लगानी भएको छ । यस्तो वर्ग विदेशिँदा मुलुकको आर्थिक क्रियाकलाप प्रभावित हुने भएकाले चिन्ता स्वाभाविक देखिन्छ । त्यसमाथि नेपालले जनसांख्यिक लाभको अवसर गुमाउने अवस्था देखिँदै छ । जनसंख्या वृद्धिदर घटिरहेको छ ।
युवाहरूको विदेश पलायन हुनुको कारण रोजगारीको अभाव मात्र होइन । युवाहरूले विदेशको जीवनशैली देख्नु तर नेपालको कमाइले त्यो सम्भव नहुँदा नै पलायन बढेको देखिन्छ । नेपालमा जति नै कमाए पनि बचत नहुने र दैनिक आवश्यकता पूरा गर्नमै कठिनाइ भएपछि वैदेशिक रोजगारीमा जाने क्रम बढेको हो । अर्को, राजनीतिक नेतृत्वले युवा पलायनमा चिन्ता प्रकट गरे पनि खासमा युवा पलायन हुनुको कारण तिनकै गलत आचरण हो । राजनीतिले युवामा आशा जगाउनुपर्छ, भविष्य राम्रो हुन्छ भन्ने सन्देश दिन सक्नुपर्छ । तर, सत्ताको लुछाचुँडी र त्यसका लागि यिनले गरेका क्रियाकलापले युवावर्ग निराश र निरीह बनेको छ । त्यही निराशा नै विदेश पलायनको कारण बनेको छ । यद्यपि पढेलेखेका युवा विदेश जाँदा तिनले त्यहाँ विभिन्न शीप सिक्छन् । तिनलाई फर्केर आउने वातावरण बनाइदिने हो भने विदेशिएका प्रतिभा नै देश विकासका आधार हुन्छन् । आज चीन, भारतलगायत धेरै देश विदेशबाट फर्किएका प्रतिभाकै कारण विकासका गतिमा जान सहज भएको देखिन्छ ।
त्यसैले युवा पलायन बाध्यतामात्र पनि होइन र नकारात्मक पनि होइन । यसबाट मुलुकले राम्रै फाइदा पनि लिइरहेको छ । अर्थतन्त्रलाई गति दिने र जोगाउने कामसमेत युवाको वैदेशिक पलायनले गरेको देखिन्छ ।
त्यसैले युवालाई वैदेशिक रोजगारीमा पठाउने कामलाई व्यवस्थित गर्न आवश्यक छ । तालीम दिएर उच्च आय आर्जन गर्ने ठाउँमा मात्र पठाउन सक्ने हो भने यसले मुलुकमा सकारात्मक असर पार्न सक्छ । मुलुकमा विधि र प्रणालीको स्थापना गर्न सक्ने मात्र हो भने पनि विदेश पुगेका धेरै नेपाली नेपाल फर्कन तयार छन् । त्यसो हुँदा युवा पलायनका बारेमा भावनात्मक बन्नुभन्दा पनि वस्तुनिष्ठ अध्ययन गरी त्यसअनुसार दिगो नीति र कार्यक्रम ल्याइनु आवश्यक छ ।