फेसबूकबाट सस्तोमै विज्ञापन

Share News

तपाईं यदि फेसबूक प्रयोग गर्नुहुन्छ र यसबाटै आफ्नो व्यवसायलाई विस्तार गर्न चाहनुहुन्छ भने ‘फेसबूक एड’ राम्रो माध्यम बन्न सक्छ । सामाजिक सञ्जालको प्रचलनसँगै बढ्दै गएको विज्ञापनको आकर्षणलाई फेसबूक एडले निकै सहज बनाइदिएको छ । त्यतिमात्र हैन, ठूलो रकम खर्चेर गर्नुपर्ने विज्ञापनको बाध्यतालाई पनि यसले निकै सस्तो बनाएको छ । तर, यसका लागि तपाईंले फेसबूकमा आफ्नो पेज भने बनाएको हुनुपर्छ । फेसबूक एकाउण्ट लगइन गरेपछि तपाईंले होमको ठीक दायाँतर्फ देखिने ‘एरो’ क्लिक गर्नुपर्छ । त्यसपछि विभिन्न अप्सनहरूमध्ये ‘एडभर्टाइज अन फेसबूक’ तपाईंको अगाडि आउँछ ।

यो अप्सन नै व्यवसाय विस्तारको तपाईंको पहिलो खुड्किलो हो । यस अप्सनमा क्लिक गरेसँगै फेसबूक एडबारेमा विभिन्न जानकारी वालमा लेखिएको हुन्छ । सोही जानकारीका आधारमा तपाईंले फेसबूक एड गर्ने प्रक्रियाका बारेमा सूचना पाउन सक्नुहुन्छ । तर, मुख्य समस्या भने त्यहाँनिर आउँछ, जतिबेला तपाईंले विज्ञापन गरेबापत पैसाको पेमेण्ट माग गरिएको हुन्छ ।

फेसबूक विज्ञापन बापत गर्नुपर्ने पेमेण्टका लागि भने फेसबूकको कार्यालयमा तपाईं दर्ता भएको हुनुपर्छ । तर, सबैका लागि यो सम्भव भने हुँदैन । किनभने यसका लागि विदेशी मुद्रामा भुक्तानी गर्नुपर्छ । फेसबूक एडको पेमेण्टका लागि अहिले विभिन्न संस्थाले सेवा दिइरहेका छन् । ती संस्थाले विज्ञापन गरेबापतको रकम फेसबूकलाई तिरिदिने सुविधा दिएका हुन्छन् । यसका लागि इण्टरनेशनल क्रेडिट कार्ड प्रयोग गरिने सोसल एभ्स प्रालिका सहायक सोसल मिडिया प्रबन्धक समिर भुसालले जानकारी दिए । सोसल एभ्स फेसबूक एडको पेमेण्ट गर्ने संस्था हो । यसबाहेक कम्पनीले फेसबूक विज्ञापनको डिजाइन पनि गर्दछ ।

फेसबूकमा गरिएको विज्ञापनबापतको रकम सधैं एकनासको भने हुँदैन । ‘फेसबूक एडको रकम महीनामै धेरैपटक तलमाथि हुन सक्छ,’ भुसालले भने । फेसबूकले निर्धारण गरेको यिनै मापदण्ड पूरा गरेपछि तपाईंको फेसबूक विज्ञापन सम्बन्धित मानिसहरूमाझ पुग्छ । तर, विज्ञापन पुग्ने मानिसहरूको छनोट भने निकै प्राविधिक छ । यसमा आफूले चाहेको मानिसमा मात्र विज्ञापन पुग्छ भन्न सकिँदैन । यसको छनोट गर्ने काम फेसबूक कम्पनीले नै गर्ने भुसाल बताउँछन् । तपाईंको फेसबूक वालमा समय–समयमा विभिन्न संस्था तथा गतिविधिबारे आउने सूचना नै फेसबूक विज्ञापन हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।