हिमाली भेगका १३ प्रजातिका जडीबुटी निकासी शुरु

Share News
पुस २५, बाजुरा । हिमाली भेगमा रहेका १३ प्रजातिका जडीबुटी सङ्कलन गरी निकासी शुरु भएको छ । हिमाली क्षेत्रमा पाइने सुगन्धवाल, पाषणभेद, च्याउ, चिराइतोलगायतका प्रजातिका जडीबुटी सङ्कलनका लागि ठेकेदारलाई अनुमति दिएको जिल्ला वन कार्यालय, बाजुराले जानकारी दिएको छ । चालु आर्थिक वर्ष २०७४/७५ मा हरेक मौसममा फरकफरक प्रजातिका जडीबुटी सङ्कलन गर्न अनुमति लिइ निकासी समेत भइसकेको निमित्त जिल्ला वन अधिकृत मनकुमार छन्त्यालले बताए । हिमाली गाउँपालिकाको बिच्छ्या र रुगिन तथा गौमुल गाउँपालिकाकोे दहकोटलगायत क्षेत्रबाट जडीबुटी सङ्कलन गर्ने गरिएको छ । मङ्सिरसम्म १३ प्रजातिका जडीबुटी सङ्कलन भइसकेको छ । एउटा जातको जडीबुटी छदेखि आठजना ठेकेदारले सङ्कलनको अनुमति लिने गरेका छन् । सेतक चिनी १ हजार १९ क्विन्टल, साधारण च्याउ ३० क्विन्टल र टिमुर २१ क्विन्टल सङ्कलन गरी नेपालगञ्ज पठाइएको छ । यसैगरी, चिराइतो १२ क्विन्टल ५० किलो, काँकडसिंगी ८ सय किलो, सुगन्धवाल ५ सय किलो, पदमचाल ५ सय किलो, कटुकी ४ सय किलो, सुनाखरी सुनगाभा १ सय किलो तथा सफेज २ हजार ७ सय किलो सङ्कलन गरिएको छ । जिल्ला वन कार्यालयले काला दाना ४ सय किलो, लोक्ता ५० क्विन्टल र अल्लो १ हजार किलो निकासी गरेको छ । सामुदायिक वन र राष्ट्रिय वनबाट उक्त प्रजातिका जडीबुटी सङ्कलन गर्न पाउने प्रावधान छ । राष्ट्रिय वनबाट सङ्कलन गरिएका जडीबुटीको प्रतिकिलो १० प्रतिशत र सामुदायिक वनलाई प्रतिकिलो ७५ पैसाका दरले राजश्व तिर्नुपर्ने प्रावधान रहेको निमित्त वन अधिकृत छन्त्यालले बताए । रासस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।