‘फुट प्रिन्ट’ पछ्याउँदै शौचालय

Share News
पुस २७, वीरेन्द्रनगर । सुर्खेतको भेरीगंगा नगरपालिका ४ हर्रे स्थित सूर्यज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक हेमन्तप्रकाश ओलीलाई शुरु–शुरुमा बालबालिकालाई शौचालय पठाउनै मुस्किल पर्‍यो । घरमा शौचालय प्रयोग गर्ने बानी भएका बालबालिकासमेत स्कूलमा लजाउने समस्या देखियो । खानेपानी सुविधासहित पक्की शौचालय बनिसक्यो । तैपनि थुप्रै बालबालिका खुल्ला स्थानमा दिसापिसाब गर्न थाले । अनेक डर–त्रास देखाउँदा पनि प्रअ ओली र, अन्य शिक्षकहरूको केही लागेन । भेरीगंगाको तत्कालिन छिन्चु गाविस पूर्ण सरसफाईयुक्त घोषणा भैसक्दा समेत विद्यालय पूर्ण सरसफाईयुक्त बन्न सकेन । त्यहाँ कार्यरत सुन्दर नेपाल संस्थाद्वारा सञ्चालित सबैका लागि दिगो सरसफाई तथा स्वच्छता कार्यक्रमले एउटा उपाय रच्यो, कलात्मक शैलीको ‘फुटप्रिन्ट’ निर्माण । जसले साना नानीहरूलाई शौचालय जान आकर्षित गरोस् । यसका लागि कार्यक्रमले आवश्यक आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गरायो । जीर्ण शौचालय मर्मत भयो । ‘बालबालिकालाई शौचालय प्रयोगमा बानी पार्न निकै मिहेनत गरियो’ ओलीले भने, ‘जब शौचालय परिसरमा कलात्मक ‘फुटप्रिन्ट’ बन्यो । त्यसपछि धेरै सहज भयो । आफै हाँसीखुसी जान थाले ।’ शिक्षक, अभिभावकहरुमात्र नभई विद्यार्थीहरु पनि विद्यालयको पँर्ण सरसफाईको वातावरणबाट औधी आर्कषित छन् । यसले आफँहरुलाई विगतका आफ्ना नराम्रो प्रवृत्तिलाई सुधार गर्न मद्दत पुगेको उनीहरुको भनाई छ । कक्षा ८ की छात्रा कमला ओलीले ‘फुटप्रिन्ट’सहितको शौचालय र खानेपानी धारा निर्माणले आफँहरुलाई सजिलो भएको बताइन् । ‘पहिला सबै केटीहरु शौचालय प्रयोग गर्दैन थिए । अहिले सबै बानी परिसकेका छन्’ उनले भनिन् । विद्यालयकी लैङ्गिक समता फोकल पर्सन चन्द्रा थापाले बालबालिकालाई फुटप्रिन्ट पछ्याउँदै शौचालय जान सजिलो भएको बताइन् । ‘महिनावारी हुँदा छात्राहरु विद्यालयमा गयल हुने समस्या थियो । सेनेटरी प्याडको व्यवस्था गर्‍यौं’ चन्द्राले भनिन्, यसले गर्दा छात्राहरुको पढाइमा सुधार आएको छ । सरसफाईको वातावरणले उनीहरु जाँगरिला बनेका छन् ।’ जिल्लाका चौकुने गाउँपालिकाका लगाम, बेतान पञ्चपुरी नगरपालिकाको छाप्रे, बराहताल गाउँपालिकाको तरङ्गा, भेरीगंगा नगरपालिकाको लेखपराजुल, छिन्चु, चिङ्गाड गाउँपालिकाको मटेला, पाम्का, गुर्भाकोट नगरपालिकाको धारापानी र सिम्ता गाउँपालिकाको घोरेटा, काफलकोट, बजेडीचौर र डाँडाखालीमा एसएनभी/डिएफआइडीको सहयोगमा सबैका लागि दिगो सरसफाई तथा स्वच्छता कार्यक्रम सञ्चालन भैरहेको छ । पञ्चपुरी ७ स्थित मालिका माविका शिक्षक नरबहादुर साँवदले शौचालयमा हातधुने स्टेशन, फुटप्रिन्टको व्यवस्थापनले बालबालिकाहरु पूर्ण सरसफाईतर्फ अग्रसर हुन पुगेको बताए । सरसफाईलाई अतिरिक्त बिषयका रुपमा पढाउने गरेको जनाए । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।