बिहीवारबाट चितवनमा सूचना प्रविधि मेला शुरु, रोबोटबाट उद्घाटन

Share News

माघ २४, चितवन (अस) । बिहीवारदेखि भरतपुरमा ‘तेस्रो डिजीकम क्यान इन्फोटेक २०७४’ सूचना प्रविधि मेला शुरु हुने भएको छ ।

मङ्गलवार पत्रकार सम्मेलन गरी आयोजक कम्युटर एशोसियन नेपाल महासङ्घ (क्यान), चितवन शाखाले मेलाको बारेमा जानकारी दिएको हो । मेलालाई सूचना प्रविधिमैत्री बनाउन मेलाको उद्घाटन रोबोटाबाट गरिने क्यान चितवन शाखाका अध्यक्ष भानु शर्माले बताए ।

भरतपुरस्थित चितवन एक्स्पो सेन्टरमा हुन लागेको मेलामा सूचना प्रविधिका ८० ओटा स्टल रहने आयोजकले बताएको छ ।

सूचना र प्रविधिको क्षेत्रमा चितवनमा भइरहेका गतिविधिहरुको प्रचारप्रसार गर्नुका साथै नयाँ प्रविधिको बारेमा जानकारी गराउने उद्देश्यले मेलाको आयोजना गरिएको सङ्घका सचिव सन्तोषजनक भुषालले बताए । करीब ६ बर्षपछि शुरु गरिएको मेला अघिल्ला संस्करणभन्दा फरक रहने भुषालले बताए । मेलामा सूचना प्रविधिका सामान विक्रीभन्दा पछिल्लो समय प्रविधिमा आएका नवीनतम सिर्जनालाई प्रर्दशन गरिने उनको भनाई छ ।

मेलामा चितवन, काठमाडौंलगायत विभिन्न जिल्लाका सूचना प्रविधिसँग सम्बन्धित कलेजका विद्यार्थी, शैक्षिक परामर्श दाता, एवम् विद्यार्थीहरुले बनाएका रोबोटका प्रविधि प्रर्दशन गरिनेछ ।

साथैै सूचना प्रविधि सम्बन्धी जनचेतना अभिवृद्धि गर्नका लागि सेमिनार, स्मार्ट सीटी सम्बन्धी गोष्ठी, र गेमिङ्गका स्टलहरु रहने क्यानले जानकारी दिएको छ । ५ दिनसम्म चल्ने उक्त मेलामा अन्तर विद्यालय एवम् कलेजस्तरीय क्वीज कम्पिटिसन समेत रहने छन् । मेलाबाट चितवन, नवलपुर र हेटौंडा आसपासका शिक्षक, विद्यार्थी, उद्यमी, व्यवसायीलगायत सर्वसाधारणलाई प्रत्यक्ष फाइदा पुग्ने विश्वास आयोजकको छ ।

मेलामा आउने अवलोकनकर्ताको लागि रू. ५० र विद्यार्थीको लागि रू. २५ को टिकटको व्यवस्था गरिएको छ । मेलामा ७१ लाख खर्च हुने अनुमान गरिएको छ भने २ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।