वीरेन्द्रनगर । सुर्खेतको बराहताल गाउँपालिका–५ स्थित सालघारी टोलका १० घरले पर्यटनको विकास गरी स्वावलम्बी बन्न होम स्टे सञ्चालनमा ल्याएका छन् ।
हाल आआफ्नो घरमा शुरुआत गरेको होम स्टेलाई नमूनाका रूपमा विस्तार गर्दै छन् । ‘हामीले तालीम लिएपछि आाफ्नो घरबाट शुरू गर्यौं,’ आमा समूहकी अध्यक्ष सारू मगरले भनिन्, ‘सबैको साथ र सहयोगमा यसलाई अझै राम्रो गराउने योजना छ ।’
होम स्टेमा विशेषगरी मगर जातिको परिकार बनाइन्छ । पाहुनालाई सालको टपरीमा स्थानीय खाना ढिडो, सिस्नो, मकै कोदोको रोटी, मासको रोटी, सेलरोटी, गुन्द्रुकको अचार, मकैको रोटी, सुङ्गुर र लोकल कुखुराको मासुको परिकार पाइन्छ । होम स्टेमा आएका पाहुनाबाट पनि राम्रो प्रतिक्रिया आएको भन्दै होम स्टे सञ्चालन गर्न अझ हौसला थपिएको उनले बताइन् ।
स्थानीयले होम स्टे सञ्चालनमा ल्याएपछि आर्थिक आर्यआर्जनमात्र नभई त्यहाँको पहिचान पनि भएको छ । सालघारी सुनद्वारी होम स्टेमा अहिले १० परिवारले सञ्चालन गरेका होम स्टेमा अहिले आन्तरिक पर्यटकहरूको सङ्ख्या बढ्दो छ ।
होम स्टे सञ्चालका लागि व्यवस्थापन समितिले विभिन्न उपसमिति बनाएको छ । सांस्कृतिक, पाहुना सत्कार, खाना व्यवस्थापनलगायत उपसमिति रहेका छन् । स्थानीय मौलिकता झल्किने सांस्कृतिक कार्यक्रममार्फत होम स्टेमा आएका पाहुनालाई मनोरञ्जनसमेत दिने गरिएको छ । जनजाति समुदायको मारुनी नाच, टप्पा नाच झ्याउरे नाच देखाउने गर्छ । अब होम स्टेलाई दर्ताको प्रक्रियामा ल्याएको जानकारी दिँदै होम स्टे व्यवस्थापन समितिका अध्यक्ष नरेश जोल्मीले नमूनाको रूपमा सञ्चालन गर्ने जानकारी दिए ।
स्थानीय टोपबहादुर आलेले होम स्टे आयआजर्नका लागि राम्रो बन्दै गएको बताए । ‘अब बाहिर कमाइ गर्न जाने सोच छैन,’ उनले भने, ‘होम स्टे सञ्चालन भएपछि घरमै बसेर आम्दानी गरिरहेको छु, नमूना काम गर्न पाउँदा खुशी छु ।’
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।