फागुन २९, रुपन्देही । रूपन्देहीमा बैङ्कहरुले शाखा विस्तार कार्यलाई आक्रामक रूपमा अगाडि बढाएका छन् । विकासका पूर्वाधार निर्माणसँगै आर्थिक गतिविधि तीव्र हुँदै जाँदा रुपन्देहीमा बैङ्कहरुको शाखा विस्तार तीव्र भएको हो । त्यसो त मुलुक सङ्घीय संरचनामा गएसँगै स्थानीय तहले गाउँमै चहलपहल बढाएपछि त्यसको असर बैङ्कहरुमा पनि परेको कतिपय जानकार बताउँछन् ।
यस क्षेत्रमा शाखा विस्तारका लागि बैङ्कहरुबीच होडबाजी जस्तै चलेको छ । जनतालाई घर आँगनमा सेवा प्रदान गर्ने भन्दै वाणिज्य बैङ्कदेखि लघुवित्त बैङ्कहरू शाखा विस्तारमा जुटेका हुन् । रूपन्देहीमा १६ स्थानीय तह छन् ।
नेपाल राष्ट्र बैङ्क, भैरहवाका अनुसार आर्थिक वर्ष २०७३/०७४ सम्म जिल्लामा २६७ ओटा बैङ्कका शाखा सञ्जाल रहेकोमा हाल यो सङ्ख्यामा भारी वृद्धि भएको छ । राष्ट्र बैङ्क, भैरहवाका निर्देशक अशोककुमार पौडेलका अनुसार प्रदेशको राजधानी तोकिएसँगै रुपन्देहीमा लगानीका सम्भावना देखेर बैङ्कहरूले आफूलाई यहाँ केन्द्रित गर्न थालेको छन् ।
पौडेल भन्छन्, ‘पछिल्लो आठ महीनामा ४० देखि ५० ओटासम्म नयाँ शाखा थपिएका छन् ।’ बैङ्कहरुको तीव्र शाखा सञ्जाल विस्तारले रूपन्देही लगानीको ‘हब’ बन्दै गएको पौडेल बताउँछन् । उनकाअनुसार रुपन्देहीमा तीव्र शहरीकरण, निर्माणाधीन राष्ट्रिय गौरवका आयोजना, प्रदेशको राजधानी, पर्यटन, उद्योग र कृषि लगायतका सम्भावना देखेर बैङ्कहरु रूपन्देही केन्द्रित भएको देखिन्छ ।
जिल्लाका बैङ्कहरुमा हालसम्म १ खर्ब १३ अर्ब लगानी र ८९ अर्ब निपेक्ष सङ्कलन भएको राष्ट्र बैङ्कले बताएको छ । रुपन्देहीमै प्रधान कार्यालय रहेका बैङ्कहरुले ग्रामीण क्षेत्रसम्म आफ्ना शाखाहरु खोलेर बैङ्किङ सेवा प्रदान गरिरहेका छन् । राष्ट्रिय स्तरका वाणिज्य बैङ्कका शाखाहरू मुख्य सडक आसपासमा बढी केन्द्रीत देखिन्छन् । बैङ्कको शाखा सञ्जाल बढ्दै जाँदा जिल्लाका बासिन्दालाई बैङ्किङ कारोबारका लागि शहरमा पुग्नुपर्ने बाध्यताको लगभग अन्त्य भएको छ ।
‘दुई/चार वर्ष अगाडि बैङ्किङ सेवा लिन एक दिन हिडेर जानुपर्ने अवस्था थियो’ नेपाल डेभलपमेन्ट बैङ्कर्स एशोसिएशनका उपाध्यक्ष समेत रहेका शाईन रेसुङ्गा डेभलपमेन्ट बैङ्कका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले भने, ‘जनताले अब शिक्षा, स्वास्थ्यसँगै बैङ्किङ सेवा पनि जनताको घरदैलोमा पुगेका छन् ।’
नेपाल राष्ट्र बैङ्कका अनुसार राजधानी काठमाडौंपछि सबैभन्दा धेरै बैङ्कका शाखा सञ्जाल रूपन्देहीमा छन् ।
जिल्लामा निर्माण हुन थालेका विकासका पूर्वाधारहरुले बैङ्कर्सहरु उत्साहित बनेका छन् । भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल, बुटवल–बेलहिया ६ लेन सडक, बुटवलमा निर्माण भैरहेको अन्तरराष्ट्रिय सभागृह, पर्यटनको प्रमुख गन्तव्य लुम्बिनी, बुद्ध सर्किट, प्रस्तावित मोतिपुर औद्योगिक करिडोर, भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज) देखेर बैङ्कर्सहरू आकर्षित छन् ।
पूर्णिमा विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरूङले नयाँ क्षेत्रहरूमा केन्द्रित हुन आवश्यक देखेर आफूहरूले सेवा ग्रामीण क्षेत्रमा केन्द्रित गर्न थालेको बताए ।
मणिग्राम चोकमा १५ ओटा बैङ्कका शाखा तिलोत्तमा–५ मणिग्राममा बैङ्कहरू थुप्रिएका छन् । अचेल मणिग्राम चोकलाई ‘बैङ्क चोक’ भन्न थालिएको छ । चोकका अधिकांश घरमा बैङ्कका शाखा खुलेका छन् । तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरे तिलोत्तमा नगरमा रहेका बैङ्कहरूसँग सहकार्य गरेर नगरको विकास गर्न आफूहरू तयार रहेको बताउँछन् । ‘तिलोत्तमा नगरपालिकामा एकपछि अर्को बैङ्कका शाखाहरु थपिँदै गएका छन् । ती सबै बैङ्कहरूसँग सहकार्य गरेर नगरको विकासमा हामी सहकार्य गर्न तयार छौं ।’ उनले भने ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।