चैत १६, काठमाडौं । के तपाई नेपाल टेलिकमको मोबाइलमा कुरा गर्दागर्दै ब्यालेन्स सकिएर फोन काटिने समस्याले हैरान हुनुभएको छ ? अब त्यस्तोदिन गयो, आफ्ना ग्राहकको सुविधाका लागि सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले रिचार्ज गरेको आधारमा ऋण दिन ‘नमस्ते क्रेडिट’ सेवा शुरू गरेको छ । शुक्रवार एक समारोहका बीच सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले ‘नमस्ते क्रेडिट’ सेवाको शुभारम्भ गरे ।
सेवा प्रयोग गर्दागर्दै ब्यालेन्स सकिएर सेवा अवरूद्ध नहोस् भनी उक्त सेवा शुरू गरेको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले बताइन् । वैद्य भन्छिन्, ‘ग्राहकलाई खर्च गरेको आधारमा ५ रूपैयाँदेखि ४० रूपैयाँसम्म ब्यालेन्स पैँचो दिने व्यवस्था गरेका छौँ ।’ प्रिपेड सिम प्रयोगकर्ताका लागि मात्र सञ्चालन गरिएको यो सेवा प्रयोग गर्नका लागि ग्राहक ३ महीनादेखि टेलिकममा आवद्ध भएको हुनुपर्नेछ ।
टेलिकमको अनुसार नमस्ते क्रेडिट सेवा प्रयोग गर्न चाहने ग्राहकले आफूले कति रकम बराबरको सेवा लिन सकिन्छ भन्ने जानकारी पाउन आफ्नो मोबाइलमा 'status' टाइप गरी १४७७ मा एसएमएएस पठाउनुपर्ने छ । सेवा स्वतः एक्टिभ हुने भएकाले ग्राहकलाई सो सेवा आवश्यकता नपरेमा 'stop' टाइप गरी १४७७ मा एसएमएएस पठाउनुपर्ने छ । पछि कनैपनि समय आवश्यक परेमा 'start' टाइप गरी १४७७ मा एसएमएएस पठाई पुनः सेवा सुचारू गर्न सकिने टेलिकमले जानकारी दिएको छ ।
ग्राहकले ब्यालेन्स सकिएपछि प्रयोग गरेको ‘टक टाइम’ बराबरको पैसा पछि रिचार्ज गरेपछि प्राप्त ‘ब्यालेन्स’बाट काटिने टेलिकमले जानकारी दिएको छ । यो सेवा फोनमा कुरा गर्दामात्र नभई डाटा चलाउँदा वा एसएमएस पठाउँदासमेत प्रयोग हुनेछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।