प्रदेशस्तरीय औद्योगिक क्षेत्र सम्भाव्यता अध्ययन शुरू

Share News
वीरेन्द्रनगर । सुर्खेतमा कर्णाली प्रदेशस्तरीय औद्योगिक क्षेत्रका लागि सम्भाव्यता अध्ययन शुरू भएको छ । सरकारले हरेक प्रदेशमा प्रादेशिक औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणाअनुसार केन्द्र सरकारले कर्णाली प्रदेशका लागि सुर्खेतमा औद्योगिक क्षेत्र स्थापनाबारे सम्भाव्यता अध्ययन शुरू गरेको हो । सम्भाव्यता अध्ययनको जिम्मा ग्रीन राजदेवी कन्सल्टेन्सी काठमाडौंले पाएको छ । प्रदेशस्तरीय औद्योगिक क्षेत्रको सम्भाव्यता अध्ययनका लागि प्राविधिकसहितको टोली सुर्खेत पुगेको छ । उक्त टोलीले औद्योगिक क्षेत्रका लागि प्रस्ताव गरिएको लेकबेँसी नगरपालिकाको साटाखानीमा स्थलगत अवलोकनसमेत गरेको छ । औद्योगिक क्षेत्रका लागि यसअघि नै स्थानीय रानीचौतारी, खाँडदेवीलगायत सामुदायिक वनले आवश्यक पर्ने १ हजार बिगाहा जग्गा उपलब्ध गराउने निर्णय गरिसकेका छन् । औद्योगिक क्षेत्रका लागि पश्चिममा झुप्रा खोला, उत्तरमा भेडाबारी सडक, दक्षिणमा भेरी नदी र पूर्वमा चिङगाड खोलाबीच रहेको जग्गा प्रस्ताव गरिएको छ । सामुदायिक वनको सोही जग्गामा औद्योगिक क्षेत्र स्थापनाका लागि सम्भाव्यता अध्ययनको काम थालिएको हो । जग्गा छनोट भएको करीब डेढ वर्षपछि औद्योगिक क्षेत्र स्थापनाको प्रक्रिया अगाडि बढेको छ । सम्भाव्यता अध्ययनको कामसँगै अब औद्योगिक क्षेत्र स्थापनाको काम पनि शुरू हुने बताइएको छ । प्राविधिक टोलीले सम्भाव्यता अध्ययन गरी प्रतिवेदन तयार पार्नेछ र त्यसैका आधारमा सरकारले यसबारे थप निर्णय लिनेछ । सम्भाव्यता अध्ययनको प्रतिवेदनपछि मात्र डीपीआरको प्रक्रिया अघि बढ्नेछ । सरकारले औद्योगिक क्षेत्र स्थापनाको घोषणा गरेपछि सुर्खेत उद्योग वाणिज्य सङ्घले पहल थालेको थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।