३३ किलो सुनकाण्ड : अनुसन्धानमा खटिएका डीएसपी नै दोषी

Share News
विराटनगर । ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा महानगरीय अपराध महाशाखा काठमाडौंका डीएसपी प्रजीत केसीसमेत मुछिएपछि विराटनगर ल्याएर मुद्दा चलाइएको छ । गृह मन्त्रालयका सहसचिव ईश्वरचन्द्र पौडेलको नेतृत्वमा गठन भएको छानबिन समितिले अनुसन्धान गर्ने क्रममा डीएसपी केसीको पनि संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको हो । आइतवार प्रहरीले केसीलाई मोरङ अदालतमा उपस्थित गराई कर्तव्य ज्यान, अपहरण र सङ्गठित अपराध मुद्दामा ३ दिनको म्याद थप गरेको छ । स्रोतका अनुसार केसीले सनमको शव बेपत्ता पारिदिने भन्दै २ करोड रुपैयाँमा हत्याका मुख्य आरोपी चूडामणि उप्रेती ‘गोरे’ सँग बार्गेनिङ गरेका थिए । डीएसपी केसीकै नेतृत्वमा महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरी टोलीले सनम शाक्यको शव मोरङबाट बरामद गरेको थियो । सोही अनुसन्धानमा चलखेल भएपछि गृहले सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । उक्त प्रकरणमा हालसम्म प्रहरी अधिकारीसहित मोरङ प्रहरीको हिरासतमा पुग्ने २८ जना मोरङ पुगेका छन्, जसमा ६ जना प्रहरी अधिकारी छन् । यस्तै, प्रहरीले अनुसन्धानका लागि एसएसपी श्याम खत्रीका चालक विष्णु खड्कालाई पक्राउ गरेको छ । एसएसपी खत्री भने अझै फरार छन् । सुन तस्करीको गिरोहलाई उनका चालकले समेत सहयोग गरेको प्रमाण भेटिएपछि पक्राउ गरिएको हो । एसएसपी खत्री भने छानबिन समितिको सम्पर्कमै आएका छैनन् । नेपाल प्रहरीको हेडक्वार्टरमा कार्यरत उनी २ सातादेखि कार्यालयसमेत गएका छैनन् । उनलाई फरार प्रतिवादी बनाएर मुद्दा चलाउने तयारी भइरहेको बताइएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।