वैशाख २७, विराटनगर (अस) । सुनसरीको बर्जु गाउँपालिका–१ का बाढी पीडितले राहत नपाएकोभन्दै वडा कार्यालयमा धर्ना दिएका छन् । वडाध्यक्ष र वडासदस्यहरुले हुनेखानेलाई राहत उपलब्ध गराएको तर वास्तविक बाढी पीडितलाई पाखा लगाएको उनीहरुको आरोप छ ।
बिहीवार बिहान कार्यालय खुल्ने समयमा समूहगत रुपमा पुगेका बाढी पीडितहरुले वडा कार्यालयमा धर्ना दिएका हुन् । प्रशस्त जग्गाजमिन र पक्की घर भएकाहरुले राहत पाएको तर वास्तविक बाढी पीडितलाई राहत नदिइएको उनिहरुको आरोप छ ।
सो बिषयमा प्रतिक्रिया दिँदै बर्जु गाउँपालिका–१ का वडाध्यक्ष श्यामकुमार गुरुङले स्थानीय विपत् व्यवस्थापन समितिको सिफारिस अनुसारका बाढी पीडितलाई राहत उपलब्ध गराइएको बताए । उनले बर्जु–१ मा जम्मा ५ सय ९९ परिवार बाढी पीडित रहेकोमा २ सय ६६ परिवार पूर्ण र बाँकी आंशिक पीडित रहेको जानकारी दिए । तीमध्ये ४२ जनालाई २५ हजार रुपैयाँको दरले र ८ जनालाई प्रतिदिन ७० रुपैयाँको दरले सरकारद्वारा उपलब्ध गराइएको एकमुष्ठ १० हजार ५ सय रुपैयाँ उपलब्ध गराइएको बताए ।
वडाध्यक्ष गुरुङले बर्जु गाउँपालिकाका सबै वडा गरेर ३ हजार २ सय परिवार बाढी पीडितमध्ये जिल्ला भरिका लागि ३ हजार २ सय परिवारका लागि मात्र राहत आएकाले समस्या भएको बताए । उनले राहत वितरणको क्रममा कुनै प्रकारको मनोमानी र धांधली नभएको दाबी समेत गरे । राहत नपाएको भन्दै आक्रोशित भएर तालाबन्दी गर्ने उद्देश्यले वडा कार्यालयतर्फ पीडितहरु अघि बढेपछि स्थिति नियन्त्रणमा लिन प्रहरी समेत बोलाईएको थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।