सरकारको मुख्य प्राथमिकता सडक पुर्वाधार हो : मुख्यमन्त्री शाही

Share News

जेठ ९, दैलेख (अस) । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारको मुख्य प्राथमिकता सडक पूर्वाधारको विकास रहेको बताएका छन् । सडक बिना विकासका अरु चाहना पुरा गर्न नसकिने भन्दै मुख्यमन्त्री शाहीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा सडक पूर्वाधारलाई जोड दिने बताए ।

मुख्यमन्त्री शाहीले दैलेखको माथिल्लो डुंगेश्वरमा भारतीय सीमा नाका जमुनाहा हुँदै उत्तरी चीन छुने मुगुको नाङ्चेनाङ्गला जोड्ने प्रादेशिक सडकको शिलान्यास गरेका छन् । सो अवसरमा उनले यस सडकलाई प्रदेशकै गौरवको आयोजनाका रुपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरे ।

यो सडक जमुनाहादेखि कोहलपुर, सुर्खेत, माथिल्लो डुंगेश्वर, दुल्लू, कुसापानी, नाग्म, गमगढी हुँदै उत्तरी नाका नाङ्चेनाङ्गलासम्म जोडिने छ । केन्द्र सरकारको क्रमागत योजना भएपनि प्रदेश सरकारले निर्माणमा सक्दो सहयोग गर्ने आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताए ।

केन्द्र सरकारको ३ करोड ३५ लाख १६ हजार ९ सय २० रुपैयाँ लागतमा उक्त सडक निर्माण हुँदैछ । सडक डिभिजन कार्यालय सुर्खेतले कार्यान्वयन गरिरहेको सडक केएसके कन्ट्रक्सन कम्पनीले निर्माण गर्ने जिम्मा पाएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।