ब्ल्याकबेरीको पुनरागमन

Share News

केही वर्षयता स्मार्टफोन चलाउनेहरूमध्ये कतिपयले ब्ल्याकबेरीलाई बिर्सिएकै हुन् कि समेत भन्न थालिएको थियो । कुनैबेला विश्वका शक्तिशाली सरकार र ठूला कम्पनीका उच्च पदाधिकारीले निकै महत्व दिएर चलाउने ब्ल्याकबेरीका मोबाइलको घट्दो विक्रीको आधारमा यसको लोकप्रियतामा उच्च कमी आएको भन्नेहरू धेरै भए । ब्ल्याकबेरी निर्माता रिमको खस्किँदो अवस्थालाई लिएर यतिसम्म भन्न शुरू भइसकेको थियो– कि त कम्पनी ‘चाँडै टाट पल्टिन्छ’ अथवा यसलाई जोगाउन ‘कुनै दयालु खरीदकर्ता आउनेछ’ । हुन पनि सन् २००७ मा एप्पलको आईफोन र त्यसपछि ०८ मा गूगलको एण्ड्रोइड अपरेटिङ सिष्टमको आगमनप्रति रिमले ध्यान दिन नसक्नुले कम्पनीलाई समस्यामा पारेकै हो भन्नु अतिशयोक्ति हुँदैन । आफ्नो निकै सुरक्षित ई–मेल तथा मेसेञ्जर सेवाले गर्दा ‘कर्पोरेट स्मार्टफोन’ निर्माताका रूपमा ख्याति कमाएको रिमको ह्वात्तै बढेको घाटाका आधारमा यस्ता विश्लेषणहरू गरिएका थिए ।

तर, अब भने रिम फेरि जुर्मुराएको छ । आफ्नो नामकै रि–ब्राण्डिङका साथै नयाँ अपरेटिङ सिष्टम र दुईओटा आकर्षक स्मार्टफोन ल्याएर तीन महत्वपूर्ण कदम चाल्दै रिमले आफू आक्रामकरूपमा स्मार्टफोन बजारमा प्रस्तुत हुने छनक दिएको छ । बन्द हुन लागेको कम्पनीको संज्ञा पाइरहेको रिमले ‘ब्ल्याकबेरी’को नामबाटै विश्वव्यापी व्यापार थालेको छ । त्यसैगरी ब्ल्याकबेरी १० ओएस ‘जेड १०’ र ‘क्यू १०’ गरी दुई उच्च प्रविधियुक्त स्मार्टफोन पनि कम्पनीले सार्वजनिक गरेको छ । ती स्मार्टफोनको विश्वव्यापी विक्री केही हप्तामै शुरू गर्ने बताइएको छ । यसै मेसोमा प्रयोगकर्ताको ध्यान अचानक तान्न सफल ती दुई स्मार्टफोनमा रहेका केही विशेषताबारे कम्पनीले दिएको जानकारी यहाँ प्रस्तुत छ :

(१) ‘जेड १०’ एक पूर्ण टचस्क्रीनयुक्त मोबाइल हो भने ‘क्यू १०’ मा चाहिँ ब्ल्याकबेरीका पुराना संस्करणहरूको झल्को दिने गरी फिजिकल कि–प्याड राखिएको छ ।

(२) ‘जेड १०’ मा ४ दशमलव २ इञ्चको (१२८० × ७८६ रिजोल्युशनयुक्त) स्क्र्याच रेसिष्टेण्ट (नकोरिने) डिस्प्ले राखिएको छ । यसको खुद्रा बजार मूल्य ५ सय ९९ अमेरिकी डलर तोकिएको छ । झट्ट हेर्दा ‘जेड १०’ एप्पलको आइफोन फाइभ जस्तै देखिन्छ ।

(३) यी दुवै स्मार्टफोनमा १ दशमलव ५ गिगाहर्जको क्वालकम एमएसएम८९६० डुअल–कोर प्रोसेसर राखिएका छन् । विज्ञहरूका अनुसार तीव्रगतिमा चल्ने यो प्रोसेसरले हाल उपलब्ध मोबाइल कम्प्युटिङका सबैजसो कामहरू गर्न सक्छ ।

(४) यी मोडलमा २ जीबी र्‍यामको ‘सिष्टम मेमोरी’ का साथै १६ जीबीको ‘इण्टरनल स्टोरेज’ क्षमता छ । त्यसैगरी थप स्टोरेजको आवश्यकता परेमा ३२ जीबीसम्मको मेमोरी कार्ड ‘सर्पोट’ गर्ने एक ‘स्लट’ पनि छ ।

(५) ‘जेड १०’ र ‘क्यू १०’ दुवैमा एलईडी फ्ल्याससहितको ८ मेगापिक्सलको क्यामेरा छ, जसले १०८० पिक्सेलको हाई–डेफिनेशन (एचडी) भिडियो खिच्न सक्छ । अगाडि भने भिडियो कलिङका लागि २ मेगापिक्सेलका क्यामेरा राखिएका छन्, जसले ७२० पिक्सेलको भिडियो खिच्न सक्छ । यी मोबाइलको क्यामरा एपबाट एकै ‘स्न्याप’मा धेरै तस्वीर खिच्न सकिनेमात्र नभई कुन उत्कृष्ट छ भनेर सुझाव पनि पाउन सकिनेछ ।

(६) यी दुवै स्मार्टफोनका भिडियो, अडियो र तस्वीर टेलिभिजन र प्रोजेक्टरमार्फत हेर्न एक माइक्रो एचडीएमआई पोर्ट राखिएको छ ।

(७) यी स्मार्टफोनमा प्रयुक्त ब्ल्याकबेरी १० ओएसमा सन्देश लेखनको नयाँ स्वाद पाउन सकिन्छ । बहुभाषिक सन्देश बनाउन सकिने यो ओएसमा प्रयोगकर्ताले एक औंलाको प्रयोगबाट शब्दहरू एकै पटकमा लेख्न (कम्पनीले यसलाई फ्लिक सुविधा भनेको छ) सक्छन् । टाइप गर्नुअगावै प्रयोगकर्ताले कुन शब्द खोजेको हो भनेर अनुमान गर्दै सुझाव दिने यसको प्रणालीले साँच्चिकै आश्चर्यमा पार्नेछ ।

(८) मोबाइलबाट सुरक्षित ई–मेल पठाउन त ब्ल्याकबेरी ‘पायोनियर’ नै मानिँदै आएको छ । अब यसलाई पनि थप परिष्कृत गर्दै यी स्मार्टफोन र ओएसले प्रयोगकर्ताको सम्पर्क सूची (कण्ट्याक्ट लिष्ट) मा रहेकाहरूलाई पठाइएका पछिल्ला ई–मेल, सामाजिक सञ्जालमा उनीहरूका बारे प्रयोगकर्ताले गरेका टिप्पणी आदिको नोटिफिकेशन पनि दिन्छ ।

(९) सामाजिक सञ्जालको प्रयोगलाई सजिलो बनाउन ब्ल्याकबेरीले ध्यान दिएको देखिन्छ । नयाँ ओएसमा राखीएको ‘ब्ल्याकबेरी’ हबमा फेसबूक र ट्वीटरजस्ता सामाजिक सञ्जालका ‘एप्स’ समावेश गराउनुले यसैतर्फ सङ्केत गर्दछ । सुरक्षामा निकै ध्यान दिएर बनाइएको हबमार्फत नै सामाजिक सञ्जालका सन्देश र नोटिफिकेशनहरू आउँछन् । अर्को कुनै एप्लिकेशनमा काम गर्दै गर्दा त्यस्ता सन्देशहरू हेर्न मन लागेमा एक औंलाले ‘स्वाइप’ गरे पुग्छ । त्यसैगरी प्रयोगकर्ताहरूले एकै स्वाइपबाटै ई–मेलभित्र लेखिएका सन्देशहरू पढ्न र पहिले चलाइरहेको एप्लिकेशनमा फेरि फर्किन सक्छन् ।

(१०) एप्पल र गूगलको सफलतामा ओएस र स्मार्टफोनसँगै तिनले उपलब्ध गराएका लाखौं एप्लिकेशनको हात भएकोमा कसैको पनि दुईमत नहोला । केही वर्षसम्म प्रयोगकर्ताको माग पूरा गर्न सक्ने एप्लिकेशन बनाउन नसकेर अलमलमा परेको ब्ल्याकबेरीले अब भने राम्रो बाटो समातेको प्रतीत हुन्छ । कम्पनीले दिएको जानकारीअनुसार नयाँ ओएसका लागि भनेरै ‘ब्ल्याकबेरी वल्र्ड’ मा अहिलेसम्म ७० हजारभन्दा बढी एप्लिकेशन राखिसकिएका छन् । निकट भविष्यमै यो सङ्ख्यालाई अझ बढाएर केही लाख पुर्‍याउने लक्ष्य लिइएको कम्पनीको भनाइ छ ।

(११) यसको साथै बीबी–१० ओएसमा ‘ब्ल्याकबेरी ब्यालेन्स’ फिचर पनि राखिएको छ । यसबाट प्रयोगकर्ताले आफ्नो स्मार्टफोनमा कार्यालय र व्यक्तिगत दुवै प्रकारका काम छुट्टैछुट्टै तरीकाले गर्ने सुविधा पनि दिएको छ ।

(एजेन्सीहरूको सहयोगमा)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।