यान्त्रिक पुल सोमवारदेखि सञ्चालनमा

Share News

फागुन २०, पर्वत ।

निजीक्षेत्रको पहलमा निर्माण गरिएको व्यावसायिक यान्त्रिक पुल ‘कुश्मा–बलेवा यान्त्रिक पुल’ सोमवारदेखि नियमित रूपमा सञ्चालनमा आउने भएको छ । ‘निर्माण कम्पनीले हस्तान्तरण नगरेसम्मका लागि परीक्षणका रूपमा व्यावसायिक सञ्चालनमा ल्याउन लागेका छौं,’ कम्पनीका अध्यक्ष होमनारायण श्रेष्ठले भने, ‘परीक्षणका क्रममा यात्रुको चाप, सञ्चालन खर्च र प्राविधिक समस्याको पहिचान गरी पछि नयाँ भाडादरसहित सञ्चालन गर्ने योजना बनाएका छौं ।’ 

कम्पनीले एकतर्फी भाडाका रूपमा सय रुपैयाँ निर्धारण गरेको छ । दक्षिण एशियाली मुलुक (सार्क)का पर्यटकका लागि रू. ३ सय र अन्य विदेशी मुलुकका पर्यटकका लागि ७ अमेरिकी डलर भाडादर कायम गरिएको कम्पनीका सचिव केदारनाथ शर्माले जानकारी दिए । शनिवार पर्वत र बागलुङका सुरक्षा निकाय, जिल्ला विकास समिति तथा राजनीतिक दलका प्रतिनिधि एवम् पत्रकार र शेयर सदस्यसँगको छलफलपछि भाडादर निर्धारण गरिएको सचिव शर्माले बताए । कम्पनीले प्रत्येक यात्रुका लागि रू. ५ लाखबराबरको बीमा गरेको छ । ‘यात्रुहरूको सुरक्षामा ध्यान दिएर बीमा गरेका छौं,’ शर्माले भने, ‘भयरहित यात्राका लागि सबै व्यवस्था मिलाएका छौं ।’ 

करीब रू. ५ करोडको लागतमा सम्पत्र यान्त्रिक पुलको निर्माण कार्य गत जेठदेखि शुरू भएको थियो । पुल निर्माणसँगै छिमेकी जिल्ला बागलुङको बलेवा क्षेत्रका १६ गाविसका बासिन्दासँग व्यावसायिक सम्बन्ध गाँसिनुका साथै वर्षौंदेखि सञ्चालनमा नआएको बलेवा विमानस्थलसमेत सञ्चालनमा आउने भएको छ । पुल सञ्चालनका लागि दुवै गाविसका ४ सय ३६ जनाबाट उक्त शेयर रकम सङ्कलन भएको हो । दुईओटा यान्त्रिक कार जडान भएको उक्त पुलमा एउटा कारमा आठजना अट्ने क्षमता रहेको छ । दुवैतर्फ गरेर एकपटकमा १६ जना आवतजावत गर्न सकिन्छ भने दुई घण्टा हिँडेर पर्वत सदरमुकाम कुश्माबजार आउन बाध्य उक्त क्षेत्रका बासिन्दा अबदेखि ५ देखि ७ मिनेटमै कुश्माबजार आउन सक्ने भएका छन् ।

रासस

 

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।