७ महीनापछि बल्ल प्रदेश सरकारलाई कार्यकारी हैसियतः मुख्यमन्त्री राई

Share News

रोशनी भट्टराई

असोज ८, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सरकार गठन भएको सात महीनापछि बल्ल प्रदेश सरकारले कार्यकारी हैसियत पाएको बताएका छन् । उनले प्रदेश सरकारको मातहतका प्रशासनिक कार्यालय स्थापना नभएका कारण यसअघि प्रदेश सरकार कार्यकारी हैसियतबाट काम गर्न बञ्चित हुँदै आएको बताए । मुख्यमन्त्री राईले प्रदेश सरकारको पहिलो प्रशासनिक कार्यालयका रुपमा अस्थायी राजधानी विराटनगरमा स्थापना गरिएको कृषि विकास निर्देशनालयको सोमवार उद्घाटन गदै यस्तो बताएका हुन् ।

प्रदेश सरकारकोे मुख्यमन्त्रीको हैसियतमा गुद्रीमा बसेर काम थालेको बताउँदै उनले पहिलो प्रशासनिक कार्यालयका रुपमा यो कार्यालयको स्थापनसँगै प्रदेश सरकार मातहतका दुई कार्यालय स्वास्थ्य निर्देशनालय र शिक्षा निर्देशनायल पनि आगामी ११ असोजमा धनकुटामा स्थापना गरिने जानकारी दिए । प्रदेश सरकारको नीति तथा कार्यक्रम र त्यससँग छुट्याइएका बजेट अब यी कार्यालयबाट कार्यान्वयनमा आउने मुख्यमन्त्री राईको भनाइ छ । मुख्यमन्त्री राईले प्रदेश नं १ अन्न भण्डारको प्रदेश भएकाले पहिलो प्राथमिकतामा कृषिलाई राखेर पहिलो प्रशासनिक कार्यालयको रुपमा कृषि विकास निर्देशनालयको स्थापना गरेको जानकारी गराए ।

निर्देशनालयमा बेनुप्रसाद प्रसाई कार्यालय प्रमुखका रुपमा रहेका छन् । कार्यालयका लागि कुल ३८ जना कर्मचारीको दरबन्दी रहेपनि धेरै कर्मचारी भने हाजिर हुन बाँकी नै रहेको बताइएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।