असोज २६, काठमाडौं । नेपाल खाद्य संस्थानले शुक्रवारदेखि च्याङ्ग्रा र खसीबोका विक्री गर्न थालेको छ । संस्थानका महापबन्धक योगेन्द्र गौचनकाअनुसार थापाथलीस्थित गोदामबाट च्याङ्ग्रा प्रतिकेजी रू. ७०० र खसीबोका रू. ५०० मूल्यमा विक्री हुन थालेको हो ।
दशैंका लागि मुस्ताङबाट एक हजार च्याङ्ग्रा र मकवानपुरबाट एक हजार खसीबोका ल्याउन लागिएकामा अहिले करीब ९०० च्याङ्ग्रा र ३०० खसीबोका विक्री गर्न थालिएको र अरु आउने क्रममा छन् । च्याङ्ग्रा र खसीबोका ल्याइएका सम्बन्धित स्थानका जिल्ला खाद्य समितिले स्थानीय बजारको मागका आधारमा मूल्य निर्धारण गरी कृषकबाट खरीद गर्ने गर्दछ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा उक्त समितिको बैठक बस्ने गर्छ ।
दशैंको बेला उपत्यकामा मासुको अत्याधिक माग बढ्ने हुँदा त्यसको आपूर्तिमा सन्तुलन कायम गर्न संस्थानले विभिन्न जिल्लाबाट खसीबोका र च्याङ्ग्रा खरीद गरी ल्याएर उपभोक्तलाई विक्री गर्दै आएको छ । यस कार्यले बजारमा बिचौलियाको न्यूनीकरण हुने र मूल्य माथिको एकाधिकार अन्त्य गर्न सहयोग पुग्ने महाप्रबन्धक गौचनले बताए । यही असोज ३० गतेसम्म ती चौपाया विक्री गरिने जानकारी दिएको छ । रासस
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।