लमजुङ । गाउँघरका मानिस शहर पसेसँगै खालीजस्तै भएको मर्स्याङ्दी गाउँपालिकाको एक विद्यालयमा विद्यार्थी आउन थालेका छन् । मर्स्याङ्दी गाउँपालिका–७ छिनखोलाका स्थानीयको सक्रियतामा गाउँमा अलैंचीखेती विस्तारपछि गाउँमै रहेको सृजना प्राथमिक विद्यालयमा विद्यार्थीको संख्या बढ्न थालेको हो ।
कक्षा १ देखि ३ सम्म पढाइ हुने उक्त विद्यालयमा विस्तारै विद्यार्थी संख्यामा वृद्धि भएको छ । गतवर्ष चार मात्र विद्यार्थी रहेको विद्यालयमा यो वर्ष १४ विद्यार्थी विद्यालय नियमित आउने गरेको विद्यालयका प्रधानाध्यापक नौजग गुरुङले बताए । गाउँका प्रत्येक घरमा पानीको धारा जडान गरिएको छ । मोटरबाटो घर छेउमै छ । ‘अलैंचीबाट राम्रो आम्दानी भएको छ,’ उनले भने, ‘शहरकै सुविधा गाउँमा भएपछि शहरबाट गाउँमा फर्केर बालबालिका पढाउन थालिएको छ ।’
अलैंचीबाट मनग्गे आम्दानी हुन थालेपछि स्थानीयवासीले आफ्ना बालबच्चालाई शहर पढाउन थालेका थिए । गाउँ छेवैको विद्यालय अन्यत्र जाँदा पछिलो समय गाउँमा समस्या हुने भन्दै शहरमा झरेकाले आफ्ना बालबालिकालाई गाउँमै पढाउन थालेका हुन् । प्रधानाध्यापक गुरुङका अनुसार विद्यालयले स्थानीयसँग पटक पटक अनुरोध गरेपछि बजारमा बस्ने गरेका अभिभावकले पुनः गाउँकै विद्यालयमा आफ्ना बालबालिकालाई पढाउन थालेका हुन् । गतवर्ष विद्यालयमा कक्षा १ मा तीन, २ मा एक जना थिए भने कक्षा ३ मा विद्यार्थी नै थिएनन् । रासस
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।