अलैंचीले उठायो घरवास

Share News
सन्तोष पुर्कुटी ताप्लेजुङ । मूल्य बढेर प्रतिमन १ लाख २० हजारमा किनबेच हुन थालेपछि ताप्लेजुङको सिरिजंघा गाउँपालिका–७ खेवाङका रनबहादुर सार्कीले करीब ७ लाख लगानीमा अलैंचीखेती विस्तार गरे । साहूबाट महँगो ब्याज दरमा ऋण लिएरै उनले यसको खेती विस्तार गरेका थिए । अलैंची फल्छ अनि बेचेर ऋण तिरौंला भनेर दिनरात खटेका उनलाई आखिर त्यही अलैंचीखेतीले बसाइ हिँडायो । खेवाङकै राजकुमार भट्टराईलाई खेत मासेर अलैंची खेती गरेयता दिनरात पिरलो छ । ‘वर्षभर पुग्ने अन्नपात उब्जाउ हुने खेतमा राम्रो आम्दानीको आशमा अलैंची त लगाएँ,’ उनले भने, ‘तर उत्पादन र भाउ राम्रो नहुँदा तनाव भएको छ ।’ फुङलिङ नगरपालिकामा बस्दै आएका भिङ्मारे लिम्बूले भाउ बढेका बेला बिरुवा बेचेरै आम्दानी गर्ने सोचले अलैंची नर्सरी शुरू गरे । तर यसबाट लगानी समेत नउठेको उनको गुनासो छ । जिल्लाभरकै अलैंची किसानको व्यथा उस्तै छ । केही वर्षअघि प्रतिमन १ लाख २० हजारसम्म मूल्य आउँदा हौसिएर अलैंची खेती थालेका किसानको काँध अहिले ऋणले थिचेको छ । मूल्य एक्कासि बढेर सोही अनुपातमा घट्दै गएपछि आफूहरू मारमा परेको कृषकहरू बताउँछन् । व्यापारी पनि चिन्तित अलैंचीको मूल्यमा भएको उतार चढावले व्यापारी पनि चिन्तित छन् । छोटो छोटो अवधिमा मूल्यमा हुने घटबढले खरीद–विक्रीमा समस्या हुने गरेको अलैंची व्यापारी बुद्ध दहालले बताए । ‘यसले प्रायः नाफाभन्दा घाटा धेरै हुन्छ,’ व्यापारी बुछ दहालले भने । अलैंचीकै व्यवसायले टाट पल्टिएर व्यवसायबाटै पलायन हुनेदेखि ठूला शहरमा घर बनाउने सम्मका व्यापारी छन् । ‘अलैंचीको मूल्य भारतीय व्यापारीको भरमा तय हुन्छ, मूल्यमा एकरूपता हुँदैन,’ अलैंची व्यवसायी महासंघ, ताप्लेजुङका अध्यक्ष बालमणि बरालले भने, ‘यसले पनि नेपालका अलैंची व्यवसायीलाई कारोबारमा समस्या हुने गरेको छ । सरकारसँग गुनासो नेपालको अर्थतन्त्र सुधारका लागि अलैंचीको ठूलो भूमिका भए पनि राज्यले समेत यसको बजारीकरणमा चासो नदिएको व्यवसायीको गुनासो छ । ‘यसको बजारीकरणमा भने राज्यले आँखा चिम्लिएको छ,’ अध्यक्ष बरालले भने, ‘भारत बाहेकका मुलुकसम्म नेपाली व्यापारीको पहुँच छैन ।’ सरकारले अन्तरराष्ट्रिय स्तरसम्म अलैंचीको बजारीकरणमा सहयोग गर्नुपर्नेमा व्यवसायीको जोड । नेपालमा उत्पादिन ९० प्रतिशत अलैंची भारत निर्यात हुने गरेको छ । अलैंची जोन सञ्चालक समितिमा अधिकारी यसैबीच ताप्लेजुङमा अलैंची जोन व्यवस्थापन तथा कार्यान्वयनका लागि दिनेश अधिकारीको संयोजकत्वमा ९ सदस्यीय समिति गठन भएको छ । समितिको सह–संयोजकमा बालकुमारी कार्की (भट्टराई), सचिवमा चन्द्रकुमार तामाङ र सह–सचिवमा सन्तोष भट्टराई चयन भएका छन् । यस्तै सदस्यमा चन्द्रा भट्टराई, मधुकला चोङ्वाङ, घननाथ गौतम, सविनकुमार चोङ्वाङ र चेतराज घिमिरे रहेको अलैंची जोन कार्यक्रमका वरिष्ठ कृषि अधिकृत धीरेन्द्र मिश्रले जानकारी दिए । जिल्लास्थित विभिन्न ८३ ओटा सूचीकृत सहकारी समूह र फर्मका प्रतिनिधिको भेलाले आगामी दुईवर्षे कार्यकालका लागि उक्त समिति गठन गरेको हो । नव निर्वाचित समितिका संयोजक अधिकारीले जोनको कार्यआदेशमा रहेर अलैंचीको व्यावसायिक उत्पादन र बजारीकरण साथै मूल्य सुधार ल्याउने कार्यमा सबै पक्षसँग मिलेर काम गर्ने बताए । मुलुकका अन्य क्षेत्रको तुलनामा ताप्लेजुङमा सबैभन्दा बढी अलैंची उत्पादन हुने गरेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।