काठमाडौं (अस) । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासका लागि अन्य देशसँग सहकार्य गर्न इच्छुक रहेको बताउँदै क्षेत्रीय ‘कनेक्टिभिटी’मा जोड दिनुभएको छ । स्वीट्जरल्यान्डको डाभोसमा ‘दक्षिण एशियाको रणनीतिक परिदृश्य’ सत्रमा मंगलवार प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो । दक्षिण एशिया युवा जनशक्ति र शिक्षित मानिस रहेको ऐतिहासिक पृष्ठभूमि औंल्याउँदै प्रधानमन्त्रीले यो क्षेत्रमा रहेको युवाशक्तिलाई विकासमा परिचालन गर्नुपर्नेमा जोड दिनुभयो । दक्षिण एशिया र पूर्वी एशियाबीचको सहकार्यले नै यो क्षेत्रको विकास हुने उनले बताउनुभयो ।
नेपाल नयाँ युगमा प्रवेश गरेको र आर्थिक तथा राजनीतिक रूपमा विकास गर्दै गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपाल केही वर्षमा नै सबैभन्दा बढी आर्थिक वृद्धि गर्ने मुलुकका रूपमा अगाडि आउने धारणा राख्नुभयो । दिगो विकास आजको आवश्यकता भएको बताउँदै प्रधानमन्त्रीले नेपालमा रहेको प्राकृतिक स्रोतको सही प्रयोग गर्दै यो क्षेत्रकै विकासमा नेपाल महŒवपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले नेपालको विकासमा प्राविधिक दक्षताको कमी रहेकोले यो क्षेत्रमा अन्य देशसँग सहकार्य गर्न नेपाल इच्छुक रहेको समेत जानकारी दिनुभयो । नेपालले नयाँ संविधान जारी गरेसँगै राजनीतिक स्थिरताको युगमा प्रवेश गरेको बताउँदै प्रधानमन्त्रीले नेपालमा लगानीको वातावरण बन्दै गएकाले लगानी गर्न पनि आह्वान गर्नुभयो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।