माघ १३, कराकस (भेनेजुएला)। भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई यूरोपेली देशहरुले चेतावनी दिएका छन् । आठ दिनभित्र निर्वाचन घोषणा नगरे विपक्षी नेता जुआन गुएइदोलाई राष्ट्रपतिको मान्यता दिने उनीहरुले बताएका हुन् ।अमेरिका लगायत अन्य केही देशहरुले राष्ट्रपतिको रुपमा गुएइदोलाई समर्थन गरिसकेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का एक अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले भने अमेरिका लगायतका देशले जननिर्वाचित मदुरोको सरकार विरुद्ध चालेको कदमको बिरोध गर्दै विज्ञप्ति निकालेका थिए ।
मदुरो कानूनी रुपमा राष्ट्रपति रहेको र आफ्नो राष्ट्रलाई निर्वाचनका लागि कसैले पनि दबाब दिन नसक्ने भेनेजुएलाका विदेशमन्त्री जोर्ज अर्रेजाले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा बताएका छन्।‘कसैले पनि हामीलाई समय सीमा दिन वा निर्वाचन गर्नु पर्छ कि पर्दैन भनेर भन्न पाउँदैन,’ अर्रेजाले भनेका छन् ।
मदुरो यो महीनाको शुरुमा दोस्रो कार्यकालका लागि राष्ट्रपति चयन भएका थिए ।
गत बुधवार भेनेजुएलाका विपक्षी दलका नेता गुएइदोले आफूलाई ‘अन्तरिम राष्ट्रपति’ घोषणा गरेका थिए। यो कदमलगत्तै अमेरिका, क्यानडा, दक्षिण अमेरिकी राष्ट्रहरु ब्राजिल,कोलम्बीया र पेरुले गुएइदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएका थिए।रसिया, चीन, मेक्सिको र टर्की भने भेनेजुएलाका राष्ट्रपति मदुरोको साथमा रहेको बताइएको छ।
वर्षौंदेखि आर्थिक संकटले गुज्रिरहेको भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोविरुद्ध केही सातादेखि जनप्रदर्शनभइरहेको छ। यही महीनाको पहिलो साता मात्रै मदुरोले राष्ट्रपतिका रुपमा दोस्रो कार्यकालको सपथ लिएका थिए। तर विपक्षीहरुले बहिष्कार गरेको निर्वाचनलाई अन्तरराष्ट्रिय समर्थन भने मिलेको छैन्। एजेन्सी
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।