कर्णालीका मन्त्रीको भ्रमण भत्ता : ६ महीनामा साढे सात लाख खर्च

Share News
वीरेन्द्रनगर । कर्णाली प्रदेशका मन्त्रीहरूले चालू आर्थिक वर्ष २०७५÷७६ को पुस मसान्तसम्म भ्रमण भत्तामा मात्रै ७ लाख ५७ हजार रुपैयाँ खर्च गरेका छन् । प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको तथ्यांकअनुसार चालू आवको ६ महीनामा सबैभन्दा बढी भ्रमण भत्ता लिनेमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही अगाडि छन् । उनले साउनयता २ लाख २७ हजार रुपैयाँ भ्रमण भत्ता तथा भइपरी आउने र विविध खर्चबापत रू. ७५ हजार लिएका छन् । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन–२०७५ अनुसार मुख्यमन्त्री शाहीले सरकारी कामको क्रममा नेपालभित्र वा प्रदेश सरकारको तर्फबाट विभिन्न समारोह, उत्सव, सम्मेलन आदिमा भाग लिएबापत दैनिक रू. ३ हजार भत्ता पाउँछन् । यस्तै, विदेश भ्रमण गर्दा दैनिक भत्ताबापत २ सय डलर भत्ता पाउने व्यवस्था छ । मन्त्रीहरूका लागि नेपालभित्र भ्रमण भत्ताबापत दैनिक रू. २ हजार ५ सय र विदेश भ्रमण जाँदा १७५ डलर भत्ता पाउने व्यवस्था छ । मुख्यमन्त्री कार्यालयको विवरणअनुसार धेरै भ्रमण भत्ता बुझ्ने मन्त्रीहरूमा मुख्यमन्त्रीपछि आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला छन् । उनले ६ महीनामा १ लाख ६२ हजार रुपैयाँ भ्रमण भत्ता बुझेका छन् । आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले १ लाख १५ हजार, भूमि व्यवस्था र कृषि तथा सहकारीमन्त्री विमला केसीले १ लाख ७ हजार रुपैयाँ भ्रमण भत्ताबापत लिएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बुढाले सबैभन्दा कम ४४ हजार रुपैयाँ भ्रमण भत्ता लिएको प्रदेशको मन्त्रिपरिषद्को कार्यालयका लेखाअधिकृत मानबहादुर सुनारले जानकारी दिए । भौतिक पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्रीले ५० हजार र सामाजिक विकासमन्त्री दलबहादुर रावलले ५० हजार रुपैयाँ भ्रमण भत्ता बुझेका छन् । सो अवधिमा तलब, भ्रमण भत्ता र अतिथि सत्कारमा रू. ३३ लाख ६९ हजार रुपैयाँ खर्च भएको छ । सुनारका अनुसार मन्त्रीहरूले सञ्चार सुविधाबापतको रकम भने लिएका छैनन् । ऐनअनुसार सञ्चार सुविधाबापत मुख्यमन्त्रीका लागि सात हजार, मन्त्रीका लागि पाँच हजार र राज्यमन्त्री तथा सहायक मन्त्रीका लागि तीन÷तीन हजार रुपैयाँ तोकिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।