नक्कली पश्मिना छ्याप्छ्याप्ती हुँदाको असर : घट्यो च्याङ्ग्रा पश्मिनाको निर्यात

Share News
काठमाडौं । नक्कली पश्मिना बजारमा छ्याप्छ्याप्ती भएपछि च्याङ्ग्रा पश्मिनाको निर्यात घटेको उद्योगीहरूले बताएका छन् । नेपाली बजारमा नक्कली पश्मिना सजिलै उपलब्ध हुनाले पश्मिनाको निर्यात खस्किएको उनीहरूको भनाइ छ । नेपाल पश्मिना उद्योग संघले राजधानीमा नवनियुक्त राजदूतहरूसँग शुक्रवार गरेको छलफल कार्यक्रममा उद्योगीहरूले यस्तो बताएका हुन् । कार्यक्रममा संयुक्त अरब इमिरेट्स, क्यानाडा, स्वीट्जरल्यान्ड, फ्रान्स, मलेशिया, थाइल्यान्ड र कुवेतका राजदूतहरूको सहभागिता थियो । ‘च्याङ्ग्रा पश्मिना’ नेपालको आधिकारिक ब्रान्ड हो । यो विश्वका ४७ देशमा दर्ता भइसकेको छ । कार्यक्रममा अल्पाइन पश्मिना उद्योगका अध्यक्ष दिनेशकुमार श्रेष्ठले सक्कली पश्मिना १७ दशमलव ५ माइक्रोनबाट मात्र बन्ने भए पनि पश्मिना बनाउन आवश्यक मापदण्ड पूरा नगरी बनाइएका पश्मिनाले च्याङ्ग्रा पश्मिनाको बजारलाई प्रतिकूल असर पारेको बताए । नेपाल पश्मिना संघका अध्यक्ष दुर्गाविक्रम थापाले सक्कली पश्मिना १५० देखि २०० ग्रामसम्मको हुने बताए । उनका अनुसार विश्वका ८० देशमा निर्यात हुने गरेको च्याङ्ग्रा पश्मिनाको बजार सन् २००१ देखि घट्दो अवस्थामा छ । सन् १९९७ मा बेलायतकी महारानी तथा हलिउड अभिनेत्रीले लगाएपछि विश्वव्यापी चर्चा पाएको नेपाली पश्मिना सन् २००० मा मात्र १० अर्ब रुपैयाँ बराबरको निर्यात भएको थापाले जानकारी दिए । त्यसबेला नेपाली पश्मिना विशेषगरी अमेरिका तथा यूरोपका देशहरूमा निर्यात हुने गरेको थियो । सन् २००१ मा अमेरिकास्थित ट्वीन टावरमा आक्रमण भएपछि १ अर्ब रुपैयाँ बराबरको पश्मिना निर्यात गर्नसमेत हम्मेहम्मे परेको उनले जानकारी दिए । अध्यक्ष थापाले सन् २०१८ मा करीब ५ अर्ब रुपैयाँ बराबरको पश्मिना निर्यात भएको पनि बताए । तीमध्ये रू. ३ अर्ब बराबरको निर्यात भएको र बाँकी रू. २ अर्ब बराबरको नेपाल घुम्न आउने पर्यटकले लगेको उनको भनाइ छ । कार्यक्रममा मलेशियाका लागि नवनियुक्त राजदूत उदय पाण्डेले मध्य एशिया तथा इस्लामिक देशका नागरिकले लगाउने खालका पश्मिनाका तयारी पोशाक डिजाइन गर्न आवश्यक रहेको बताए । निर्यात बढाउनकै लागि मध्यएशियाका देशलाई प्राथमिकतामा राख्नुपर्ने उनको तर्क थियो । संयुक्त अरब इमिरेट्सका लागि नवनियुक्त राजदूत कृष्णप्रसाद ढकालले ‘च्याङ्ग्रा पश्मिना’ ब्रान्डको प्रचार हुन नसकेको र अधिकांश नेपालीलाई यसबारे जानकारी नभएको बताए । उनले भने, ‘जानकारीको अभावका कारण कुन सक्कली र कुन नक्कली भन्ने धेरैलाई छैन ।’ स्वीट्जरल्यान्डका लागि नवनियुक्त राजदूत मणि भट्टराईले विदेशमा पढ्न गएका नेपाली विद्यार्थीलाई पश्मिना प्रवर्द्धनमा प्रयोग गर्नुपर्ने बताए । विदेशमा रहेका नेपाली नागरिकले आफ्ना विदेशी साथीलाई पश्मिना उपहार दिए निर्यात बढाउन सकिने उनको तर्क छ । पश्मिना व्यवसायीहरूले नक्कली पश्मिनाको व्यापार रोक्न सके च्याङ्ग्रा पश्मिनाको निर्यात ह्वात्तै बढ्ने दाबी गरे । उनीहरूले विदेशमा आयोजना हुने विभिन्न मेलामा सहभागी हुने नेपाली व्यवसायीले उत्कृष्ट स्टल लिँदै पश्मिनाको प्रवर्द्धनमा जोड दिनुपर्ने बताए । पश्मिना उद्योगी तथा व्यवसायीहरूका अनुसार नेपाली बजारमा च्याङ्ग्रा पश्मिनाको व्यापार गर्ने पसल करीब ६ ओटा मात्र रहेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।