हुवावेईले ल्यायो ‘फोल्डिङ ५जी स्मार्टफोन’, मूल्य २ हजार ६०० डलर

Share News

फागुन १३, बार्सिलोना (स्पेन) । चिनियाँ स्मार्टफोन निर्माता हुवावेईले आइतवार ‘फोल्डिङ ५जी स्मार्टफोन’ सार्वजनिक गरेको छ । स्पेनको बार्सिलोनामा मोबाइल वर्ल्ड कंग्रेस (एमडब्ल्यूसी) को पूर्वसन्ध्यामा कम्पनीले यो स्मार्टफोन सार्वजनिक गरेको हो । कम्पनीले यसको मूल्य २ हजार ६०० डलर तोकेको छ । हुवावेईका कन्जुमर बिजनेश ग्रुपका प्रमुख रिचार्ड यूले हुवावेई मेट एक्समा रहेका दुवै स्क्रिन खोल्दा ८ इन्चको डिस्प्ले रहने बताएका छन् ।

विश्वका ठूला स्मार्टफोन निर्माता कम्पनी एप्पल तथा सामसुङलाई चुनौती दिन हुवावेईले नयाँ स्मार्टफोन ल्याएको हो । यससँगै हुवावेई पनि ‘फोल्डिङ स्क्रीन’ भएको स्मार्टफोन ल्याउने कम्पनीको सूचीमा जोडिएको छ । यो स्मार्टफोनमा नयाँ पुस्ताको इन्टरनेट ५जी पनि प्रयोग गर्न सकिन्छ । निकै तीव्र गतिको यो इन्टरनेट सेवा आगामी वर्षसम्ममा आउने अपेक्षा छ ।

केही दिनअघि नै सामसुङले ‘फोल्डेबल स्क्रिन’ भएको सामसुङ फोल्ड सार्वजनिक गरेको थियो । यसका लागि २ हजार डलर मूल्य तोकिएको छ । विश्वका अन्य स्मार्टफोन निर्माता पनि अहिले यस्तै स्मार्टफोन निर्माणका लागि काम गरिरहेका छन् । विश्लेषकहरूले भने यसको व्यापार शुरुआतमा निकै कम हुने अनुमान गरेका छन् । एजेन्सी

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।