नेपालमा प्रशोधन गरीएका जडीबुटी युरोप र अमेरिका निर्यात

Share News
फागुन २४, राँझा । कच्चा पदार्थको रुपमा किनबेच हुने जडीबुटीलाई यहाँका व्यवसायीले नेपालगञ्जमै प्रशोधन गरी युरोप र अमेरिका निर्यात गर्न थालेका छन् । कच्चा जडीबुटी निर्यात गर्दा ठूलो झण्झट भएपछि व्यवसायीले नेपालगञ्जमा प्रशोधन कारखाना सञ्चालन गरेर प्रशोधित जडीबुटी प्याकिङ गरी युरोप र अमेरिकालगायत मुलुकमा विक्री गर्न थालेका हुन् । कर्णाली प्रदेशलगायत हिमाली र पहाडी जिल्लामा उत्पादन हुने जडीबुटी संकलन गरेर नेपालगञ्जमा भण्डारण गरी निर्यात गर्दै आएका व्यवसायीले कच्चा पदार्थ मात्र निर्यात गर्दा लाभ नहुने भएपछि प्रशोधन गरेर विक्री गर्न थालेका हुन् । नेपाल जडीबुटी व्यवसायी संघका कार्यालय प्रमुख पुष्कर खरेलका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा अमला पाउडर एक हजार २० किलो, अश्वगन्धा पाउडर चार हजार ६०० किलो र सितल चिनी पाउडर एक हजार २० किलो इटली, जर्मन र फ्रान्समा निर्यात भएको थियो । चालू आर्थिक वर्ष २०७५/७६ को साउनदेखि पुससम्म अश्वगन्धा तीन हजार ५०० किलोग्रम प्रशोधित जडिबुटी अमेरिका निर्यात भएको छ । नेपालगञ्ज जडीबुटी कारोबार हुने प्रमुख क्षेत्र हो । यहाँबाट विषेशगरी भारतमा जडीबुटी निर्यात हुन्छ । अहिले युरोप र अमेरिकामा बजार खोज्ने काम भइरहेको छ संघका अध्यक्ष मोहम्मद याकुव अन्सारीले बताए । प्रशोधन गरी भारतबाहेक तेस्रो मुलुकमा विक्री भइरहेको जडीबुटी प्रारम्भिक चरणको भएकाले न्यून रहेको उनको भनाइ थियो । ‘नेपालगञ्जमा प्रशोधन भएको जडीबुटीले युरोप र अमेरिकी बजारमा स्थान पाउनु राम्रो कुरा हो ।’ अन्य मुलुकमा समेत जडीबुटी प्रमुख निर्यातकर्ता रवीन्द्रनाथ शुक्लाले भने ‘यसको परिमाण बढाउन र यो बजारलाई स्थायी बनाउन स्वयं व्यवसायी र सरकारका तर्फबाट धेरै गर्न बाँकी छ ।’ प्रशोधन गरी निर्यात गरिने जडीबुटीमा लगाइने प्रशासनिक झण्झट अन्त्य गर्ने हो भने यसको आकार बढ्ने उनको भनाइ थियो । निर्यातकर्ता शुक्लाका अनुसार प्रशोधित जडीबुटीको गुणस्तरलाई प्राथमिकता दिए युरोप र अमेरिकी बजारमा यहाँको जडीबुटीको पहिचान हुनेछ । कच्चा पदार्थ विक्री गरेर मात्र नेपालको जडीबुटीले बजारमा राम्रो मूल्य पाउन नसकेपछि प्रशोधन नै गर्ने गरी स्थानीय व्यवसायीले ठूलो लगानीमा उद्योग खोलेका हुन् । सत्यम इन्टरनेशनल, बाहुवली हर्वल, हिमालय हर्वलजस्ता उद्योगले यहाँ भण्डारण हुने जडीबुटी प्रशोधन गरेर विक्री गर्दै आएका छन् । जडीबुटी व्यवसायी संघका पूर्वउपाध्यक्ष शकीलअहमद जसगढले कच्चा पदार्थभन्दा प्रशोधित जडीबुटी निकासीमा सहज र मुनाफासमेत हुने गरेको बताउछन् । सरकारका तर्फबाट पनि प्रशोधित जडीबुटी निर्यातका लागि लाई प्राथमिकता दिए पनि व्यवहारमा कार्यान्वयन हुननसकेको उनको गुनासो थियो । ‘हालसम्म जेजति गरिरहेका छौँ, सबै निजी क्षेत्रका व्यवसायीबाट भएको छ’, जसगढले भने, ‘सरकारले जडीबुटी व्यवसायीलाई सधैँ आश्वासन दिनेमात्र काम भएको छ, सरकारी सहयोग हुनसके नेपाली जडीबुटीले युरोप र अमेरिकामा स्थायी बजार बनाउन सक्दछ ।’ रासस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।